उनले मलाई
कस्तो ढुंगाजस्तो मन छ भन्छिन्
ऐजेरु जस्तै मन छ भन्छिन्
कस्तो कपटी मन छ भन्छिन्
कस्तो हेपाहा भा’को भन्छिन्,
कस्तो सनकी स्वभाव छ भन्छिन्
कस्तो भुलकक्ड भा’को भन्छिन्
कति डुकुलण्ठु भएको भन्छिन्
तर,म मान्दै मान्दिनँ।
मैले
कति नरम मन छ भन्छु
फूल जस्तै कोमल छ भन्छु
नौनीजस्तै कमलो मन छ भन्छु,
खुला ऐना जस्तो दिल छ भन्छु,
कति मिलनसार छु भन्छु,
कति दानवीर छु भन्छु
कति मेहनती छु भन्छु,
तर उनी मान्दै मान्दिनन्!
फेरि,
आगोको रापमा राख भन्छु,
म कति छिट्टो पग्लन्छु भन्छु,
पाकेको फल झैँ,
बोटैबाट फत्रक्क झरीदिन्छु भन्छु,
फूलजस्तै सुवासिलो छु भन्छु,
मेरो आँखामा हेर त,
म कति दयालु छु भन्छु,
मलाई छामेर हेर त,
म कति नरम छु भन्छु,
तर उनी मान्दै मान्दिनन्!
मैले फेरि,
हम्मरले मेरो मनलाई हिर्काऊ त
म कति छिट्टो टुक्रा-टुक्रा भइदिन्छु,
तिखो शब्दवाणले हिर्काऊ त
कति छिटो सहिदिन्छु,
मलाई अलिकति पीडा देऊ त
म कति छिटो रोइदिन्छु,
मबाट टाढा भइदेऊ त
म कति एकांकी भइदिन्छु,
तिमी र म, म र तिमी
एकाकार छौ हैन र?
तर उनी मान्दै मान्दिनन्!