बीस वर्ष अघिको बिन्दुको डायरीबाट...
आकाशसँग मेरो दुई वर्ष प्रेम चल्यो। त्यो अन्तरालमा हामीहरुबिच शारीरिक समागम पनि भयो। शारीरिक समागमकै परिणामस्वरुप म गर्भवती भएँ। आफ्नो अवस्थाको बारेमा आकाशलाई भन्दा आकाशले भन्यो- 'यो पेटको शिशु मेरो बच्चा हो। म स्वीकार गर्छु यसलाई।'
आकाशले यसो भन्दा मैले ठूलो सान्त्वना पाएको थिएँ। सुरुमा, मलाई आकाशले आफ्नो पेटको शिशुलाई स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरामा ठूलो आशंका थियो।
आकाशले मलाई सम्झाउने खातिर यसो पनि भन्यो- 'यो पेटको शिशु जन्मियो भने यसको नाम किरण राख्छु किनभने मलाई किरण नाम निकै मन पर्छ।'
आफ्नो प्रेमी आकाशबाट यस्तो कुरा सुन्दा मैले आफ्नो पेटमा स्नेहालु हात सल्बलाएँ। आफ्नो सृजनामा मलाई गर्भ भयो र दुनियाँले पाप भने पनि आकाशको एक चिम्टी सिन्दुरले त्यो पाप छोपिने कुरामा म विश्वस्त थिएँ।
समय बित्दै गयो। यता शिशु पेटभित्र दिनदिनै हुर्कँदै थियो। उता दुनियाँले शिशुको पिताको चिनारी खोजिँदै थियो। नवजात शिशुमाथि प्रश्नचिन्ह मडारिँदै गएको थियो। त्यो शिशुको बारेमा थाहा पाएपछि आकाशको परिवारले आफ्नो सन्तानको रुपमा स्वीकृति दिन तयार भएन। जातीय असमानताको कारण त्यो पेटको शिशुलाई आकाशको परिवारबाट स्वीकार नगर्ने अडान आएपछि एक मात्र अन्तिम निर्णयको मालिक आकाश हुन गएको थियो।
निर्णायक घडीमा आएर आकाशले भन्यो- 'सरी बिन्दु, मलाई माफ गर। म आफ्नो परिवारको खिलाफ जान सक्दिनँ। त्यो पेटको शिशु तिम्रो मात्र हो, मेरो होइन।'
जीवनको अन्तिम सहारा आकाशबाट पनि यस्तो निर्णय सुन्दा म स्तब्ध बनेँ। सहनै नसकेपछि मैले आक्रोश ओकलेँ- 'उसो भए यो बच्चा कसको हो? के म बेश्या हुँ जो प्रत्येक रात पुरुषको शरीर फेर्दै हिँड्छ? म त केवल तिम्रो मात्र प्रेमिका।'
'के प्रमाण छ तिमीसँग? यो सहरमा हजारौँ लोग्नेमान्छेहरु छन्। सबैलाई यसको पिता हो भन्यो भने यस्का पिता हुन्छन्?' आकाशले मलाई धम्कीको भाषामा बोल्यो।
मेरो मुखबाट एउटा वाक्य फुत्त निस्क्यो- 'त्यो रात के?
'मैले तिमीसँग दुई वर्ष प्रेम गरेँ। त्यो अवधिमा सात सय २९ रात त अन्तै बिताएकी छौ।'
आकाशको बोली सुन्नै नसकेपछि म भुइँमा थचक्क बसेँ। दुःख लाग्यो, सात सय २९ रातले आकाशले एक महत्वपूर्ण रातलाई महत्वहीन पार्न खोज्दै छ। आकाशको लागि मैले सबै सपनाहरु त्यागेकी थिएँ। आकाशले यसो भन्दा मैले रिसको झोँकमा भनेँ- 'यदि यो बच्चा तपाईंलाई तपाईंको जस्तो लाग्दैन र कुनै शंका छ भने यो कोपिलामा लात हानिदेऊ। यदि माली नै छैन भने त्यो फूलले फक्रेर के पाउँछ?'
आकाशले मजस्तो एक कमजोर नारीको चुनौतिलाई सहर्ष स्वीकार गर्यो र मेरो पेटमा बेसकन लात हान्यो। आकाशको आघात पाएर म अचेत बनेँ। होस खुल्दा हस्पितलमा मेरो पेट हलुंगो बनिसकेको थियो। त्यहाँ फूलको सपना देख्ने कोपिला, कोपिलामै ओइलाइसकेको थियो।
समय बित्दै गयो। मेरो जीवनमा एउटा परपुरुष घाउ बनेर दुखिनै रहयो। त्यही बदनामीको कारण मेरो सिउँदो रंगिन चाहेर पनि कैले रंगिएन। म आजीवन कुमारी नै बनेँ। आकाशले त्यो घटनाको केही समयपछि घरपरिवारले रोजेकै एक युवतीसँग बिहे गर्यो। बिहे गरेपछि सपरिवार पोखरा सरे। त्यसपछि पोखरा र काठमाडौँको भौगोलिक दूरीले हाम्रो भेट कहिले भएन। मलाई अब आकाशको बारेमा केही जानकारी छैन।
बीस वर्षपछि बिन्दुको डायरीबाट...
गएको शनिबार म पशुपतिको मन्दिरमा पूजापाठको लागि जाँदै गर्दा आकाशसित मेरो जम्काभेट भयो। आकाश आफ्नी श्रीमती र छोरासँग आएको रहेछ। उसले मेरो बाटो छेकेर बेइज्जत गर्ने भाषामा बोल्यो- 'पोते, सोते र सिन्दूर पनि देखिँदैन। अझै बिहे भएको छैन र तिम्रो? कि बूढीकन्या नै बस्छौ अब?' एकक्षण हाँसेपछि पुनः आफ्नो छोरातिर इसारा गर्दै बोल्यो- यो हो मेरो छोरा। हेर न छोरा त म जत्रो नै अग्लिसके!'
आफ्नो छोराको अग्लाईमा गर्व गर्दै बोल्यो। एकक्षण त चुप लागेँ तर ममाथि अन्याय नै भएको हो भनी बोध भएपछि आफूभित्रको कमजोर नारीलाई कतै फ्याकेर बोलेँ- 'यदि किरण यो धर्तीमा भएको भए, त्यो झन् कति अग्लिसक्थ्यो होला, कल्पना गर्नुस्।'
एउटी नारीको सानु स्वरको प्रश्न मेरो कर्णपर्दामा विस्तारै ठोकिन आयो- 'को हो किरण?' मैले पुरुषको प्रत्युत्तर सुन्न चाहिनँ। म पूजा गर्न आएको, मन्दिरतिर विस्तारै पाइला बढाएँ।