जुनबेला आमाको न्यानो बन्दीगृहको पाठेघरबाट
पदार्पण गरेँ पृथ्वीको जिउँदो घाटमा
त्यही बेला छुटे पहिलो पाइला आमाको पेटभित्रै
फेरि कहिल्यै नटेक्ने गरी।
दोस्रोपल्ट हात समाएर
उनकै काखमा थिरीथिरी गर्दा-गर्दै
छुटिगए सिकुवा र आँगनीमा
बाल्यकालीन पाइलाहरू उसरी नै नफर्किने गरी।
म ठूलो हुँदै गएपछि
गन्न बिर्सिएका अनगिन्ती पाइलाहरू
यसरी छुटे कि-
प्रेमी-प्रेमिकाको बिछोड भएझैँ
सम्झी ल्याउँदा-
कुनै पाइला पाइखाना बस्दाबस्दै छुटे
अनिकालको खडेरीमा
कुनै पाइला गोठालो जाँदा
बेनामी, नामी ज्ञात, अज्ञात चौरहरूमा
छुटिगए तीखा काँडाहरूले घोच्दाघोच्दै।
स्कुलका धुलौटे दिनहरूमा
विद्यार्थी बनेका पाइलाहरू
भाले जुधाई र लुकीडुम खेल्दाखेल्दै छुटे भने
गृहकार्य नगरेका दिनहरूमा
कक्षाको अगाडि ग्राउण्डमा उभिएर
कान समाती उठबस गर्दागर्दै
छुटिगए शिक्षकहरूका पिटाइसँगै।
कुनै पाइला लेकबेँसीमा उकाली ओराली गर्दा
चौतारीको थकानसँगै छुटी गए
कुनै पाइला वर-पीपलको रुखमा चढेर छुटे
हाँगामा सोइसोइला खेल्दाखेल्दै।
साउदी, कतार र मलेसियाका श्रमशोषण
डिजिटल भट्टीहरूमा-
छुटिगए कुनै पाइला बिना परिश्रम नै।
बर्खे नुन, तेल जोहो गर्न तल धरान जाँदा
साँगुरी भन्ज्याङ र धारापानीको
किनारामै छुटे लेउती बगरमा
ढाकर तोक्मासँगै भरिया जिन्दगीका पाइलाहरू।
पाइलाकै सन्दर्भमा भन्ने हो भने-
सोल्टिनी र तरुनीहरूसँग पुसे, माघेनी र मदनमेलामा
हात समाएर धान नाच्दा नाच्दै छुटिगए भने
कुनै पाइला च्याब्रुङको तालसँगै छुटे
कुनै पाइला छुटी गए मारुनी र रोदीको फन्कोमै
अझ प्रेमिका र मेरो एकान्त समयमा
छुटे बैँसालु प्रेमील पाइलाहरू
विडम्बना!
आजकाल छुट्न छाडेका छन् पाइलाहरू
बरु पहिले छुटेका पाइलाहरूको स्मरणमा
आफ्नै सिकुवा र आँगनहरूमा अल्झिएर
ठोक्किन थालेका छन् पाइलाहरू।