हेमाले झोलुंगामा सुताएकी छोरीको फिस्स हाँसो देखेर आफू पनि मुस्कुराई। हेमाले छोरीमा आफू र निश्चलको बिम्ब खोज्ने कोसिस गर्न लागिन्। निश्चललाई छोरीको चाहना थियो भने हेमाले छोरीको चाहना राखेकी थिइन। किनभने हेमा निश्चलको व्यक्तित्वबाट प्रभावित भएकी थिइन्।
हेमा परासी जस्तो सानो बजारमा जन्मे हुर्केकी थिइन्। एक्लो सन्तान भएकोले आमा-बाबुको प्यारी थिइन्। निश्चलको फुपू उनीहरुको घर नजिक बस्थिन्। फुपूले नै उनीहरुबिच सम्बन्ध गाँसिदिएका थिइन्।
निश्चल काठमाडौँको एक अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दथे। उसको आमा-बुबा केही वर्ष अगाडि हवाई दुर्घटनामा मृत्यु भएको थियो। त्यसपछि फुपूले नै निश्चलको पालन पोषण गरेकी थिइन्। हेमाको बुबा-आमाले निश्चललाई मन पराए अनि छिट्टै बिहे पनि भयो।
बिहे भएको हप्ता दिनपछि नै दुवैजना काठमाडौँ आए। निश्चल काठमाडौँको एक अपार्टमेन्टको पाचौँ तलामा बस्दथ्यो। दुवैजना भएर त्यो कोठालाई चाहेअनुसार सजावट पनि गरे। निश्चल स्वभाले स्पष्ट मानिस थिए, उनमा कुनै बनावटीपन थिएन।
समय बित्दै गयो, हेमाले निश्चललाई आफू आमा बन्न लागेको खुसीको कुरा सुनाइन्। दुवैजना खुसी देखिए। हिजोआज निश्चलले हेमाको खुबै ख्याल राख्न थालेको थियो। कम्पनीमा उसको प्रमोशनको खबरले झनै खुसी ल्याएको थियो। तर जिम्मेवारी बढेसँगै ऊ काममा व्यस्त हुन थाल्यो।
हेमा दिनभर घरको कामधन्दा गर्दा थकित हुन्थिन्। उनीहरुले काम गर्ने महिला राख्ने विचार गरे। काठमाडौँजस्तो व्यस्त सहर, सबैजना आफ्नो कामकाजमा व्यस्त हुन्थे, कसैलाई कसैको मतलब थिएन। त्यसैले हेमाले अपार्टमेन्टको सुरक्षा गार्डलाई भनेर काम गर्ने महिला खोजीदिन अनुरोध गरी।
गार्डले एकदिन एक ३०-३५ उमेरको महिलालाई लिएर आयो। सामान्य सोधपुछ गरेपछि हेमाले त्यस महिलालाई काममा राखिन्। काम गर्ने महिला बबिताले यही अपार्टमेन्टको अरु ३/४ ठाउँमा पनि काम गर्ने कुरा जानकारी गराइन्।
बबिता त्यहाँ बिहानै काम आउँथिन् र काम सकेर दश बजे तिर जान्थिन्। जब ऊ काममा आउँथिन् निश्चलको अफिसमा जाने समय भएको हुन्थ्यो। त्यसैले हेमा निश्चलको लागि बिहानको खाजा र दिउँसोको टिफिन बनाउनमा व्यस्त हुन्थिन्। समय बित्दै जाँदा बबिता पनि त्यस परिवारको सदस्यजस्तै भइन्। हेमाले बजारबाट भान्साको लागि किनमेल गर्नुपर्ने सानोतिनो काम बबितालाई अह्राउन थालिन्।
गर्भावस्थाको कारणले हेमालाई अरु घरको काम गर्न पनि अप्ठ्यारो महसुस गर्न थालिन्। एकदिन बबिताले हेमालाई एउटा प्रस्ताव राखिन् 'मेडम, मेरो एउटा सानी बहिनी छ, ऊ बोल्न सक्दिन, बिहे पनि भएको छैन। त्यसैले हामीसँगै बस्छे। यदि तपाईं चाहनु हुन्छ भने डेलीभरी नहुँदासम्म घरको अरु काम गर्न उसलाई राख्नु हुन्छ कि? बिहान मसँगै आउँछे र बेलुकी मसँगै जान्छे।'
निश्चल र हेमालाई बबिताको सुझाव उपयुक्त लाग्यो र सहमती जनाए। भोलिपल्ट बबिताले २०-२५ वर्षको कुसुम नाम भएको एक युवतिलाई लिएर आइन्। कुसुम हेर्दामा सुन्दर थिइन्। उसले बोल्न नसक्ने अवस्था देखेर हेमालाई दया लागेर आयो। विस्तारै घरको सबै काम गर्न सक्ने भई।
लोग्ने-स्वास्नी कुसुमको कामबाट प्रभावित भएका थिए। कहिलेकाहीँ निश्चल कामको सिलसिलामा बाहिर जानु पर्दा हेमाले कुसुमलाई त्यही बस्न भन्थिन्। हेमाले कुसुमको नराम्रो पक्ष केही पनि देखिनन्। हुन त निश्चलले कहिलेकाहीँ कुसुमलाई जुत्तामा पलिस गर्न र बाथरुममा कपडा राख्न पठाएको चित्त बुझिराखेको थिएन। कहिलेकाहीँ सोच्थी, व्यर्थमा यो केटीलाई शंका गरिरहेछु।
हेमा गर्भवती भएको पनि चार महिना भैसकेको थियो। एकदिन निश्चलले अफिसको केही काम नसकेर केही फाइलहरु घरमा लिएर आएको थियो र बैठक कोठामा बसेर काम गर्न थालेको थियो। बिहानैदेखि हेमाको स्वास्थ्य ठिक थिएन। त्यसैले कुसुमलाई राति त्यही बस्न भनेकी थिइन्। बेलुकीको खाना खाएर हेमा आफ्नो कोठामा सुत्न गइन्, निश्चल बैठक कोठामै फाइलमा व्यस्त भयो।
मध्यरातमा हल्ला सुनेर हेमाको निन्द्रा खल्बलियो। निश्चल बिछ्यौनामा थिएन। बैठक कोठाबाट निश्चल ठूलो-ठूलो स्वरमा कराएको हेमाले प्रष्ट सुनिरहेको थियो। ऊ हतार-हतार बैठक कोठामा आइपुगिन्। त्यहाँको अवस्था देखेर हेमा स्तब्ध भइन्। कुसुम एकातिर बसेर रोइरहेकी थिइन् भने लगाएको कपडा फाटेको र अस्तव्यस्त अवस्थामा थियो।
हेमालाई देखेर निश्चलले आफ्नो स्पष्टीकरण दिने कोसिस गर्न थाल्यो 'हेमा, मैले केही पनि गरेको छैन। यो अचानक आएर मलाई अङ्गालो हाल्न थाली। जब मैले यसलाई धकेली दिएँ यसले आफ्नो कपडा च्यात्न थाली।'
कुसुम हेमालाई अङ्गालो हालेर लगातार रोइरहेकी थिई। उसको अवस्था देखेर हेमाको अनुहार रिसले रातो भएको थियो। सायद ऊ भित्रको महिलाको भावना जागेको भएर होला भन्न थालिन् 'मैले तपाईंबाट यस्तो अपेक्षा गरेको थिइनँ, यस्तो निच कार्य गर्ने! '
'हेमा! मेरो विश्वास गर, म सत्य बोलिरहेको छु... मैले केही गरेको छैन' निश्चलले आफूले केही नगरेको सफाई दिन हर प्रयत्न गरिरहेको थियो।
'प्रमाण तपाईंको अगाडि छ, अझ तपाईं... छिः' भन्दै हेमाले कुसुमलाई आफ्नो कोठामा लिएर गइन्।
आफ्नै कारणले यो घटना घटेकोमा हेमाले मनमनै आफूलाई गाली गरिरहेकी थिइन्। किनभने उसैको अनुरोधमा कुसुम त्यहाँ बसेकी थिइन्। त्यस रात कुसुम हेमासँग नै सुतिन्। भोलिपल्ट बबिता आउनासाथ कुसुमले रुँदै रातिको सबै घटना इसारा इसारामा व्यक्त गरिन्।
उसले पटक-पटक निश्चलतर्फ इसारा गर्दै रोइरहेकी थिई। बबिताले होहल्ला मच्चाई, उसले पुलिसलाई फोन गरी। हेमा र निश्चल दुवैले बबितालाई सक्दो रोक्ने प्रयास गरे।
'के हो मेडम! तपाईंले पनि आफ्नो लोग्नेलाई बचाउन चाहनु हुन्छ? कुसुमको स्थानमा तपाईंको आफ्नै बहिनी भएको भए के गर्नु हुन्थ्यो?' बबिताले आक्रोशित हुँदै भनी।
केही क्षणमै पोसाकमा एउटा प्रहरी आइपुग्यो। निश्चलले त्यस प्रहरी र बबितालाई आफ्नो सफाई दिने प्रयास गरिरह्यो। तर दुवैले निश्चलको कुरा सुन्नै चाहेन। प्रहरीले निश्चललाई प्रहरी कार्यालयमा हिँड्न भन्यो। निश्चल एकदमै आत्तिएको थियो। उसले हात जोडेर अनुरोध गरीरहेको थियो। अन्तमा त्यस प्रहरीले निश्चल र बबिताबिच पचास हजार रुपैयाँमा कुरा मिलायो।
अचानक छोरी रोएको सुनेर हेमाको एकाग्रता भंग भयो। ऊ विगतबाट वर्तमानमा आइपुगी। ऊ उठेर सोफामा बस्नै लाग्दा निश्चल हेमाको बुबा-आमासँग कोठामा प्रवेश गरे। उनीहरुले झोलुङ्गोबाट नातिनीलाई काखमा लिएर माया गर्न थाले। आमा बुबालाई देखेर हेमाको न्यस्रो अनुहारमा खुसी देखीएको थियो।
'तिमीले अहिलेसम्म जुस पिएकै रहेनछौ' निश्चलले जुसको ग्लास हेमाको हातमा दियो। हेमाले विस्तारै जुस पिउन थालिन्। निश्चलको निधारमा अगाडि केही कपाल झुन्डिँदा राम्रो देखिरहेको थियो। गएको २-३ दिनदेखि निश्चल एकदमै व्यस्त थियो। अस्पतालमा नर्सले पनि भनिरहेको थियो, २४ घण्टा भयो आँखा चिम्म समेत गरेको छैन भनेर। छोरी आमाको काखमा लुटपुटिएर सुतिरहेकी थिइन्। आमाले छोरीलाई फेरि झोलुङ्गोमा सुताइदिइन्।
त्यो घटनापछि हेमा निश्चलसँग त्यो घरमा बस्न चाहँदैन थिइन्, तर जन्मिने बच्चा र बुबाआमाको ख्याल गरेर बसिरहेकी थिइन्। आज पनि हेमाले एक्लै सोच्छिन्, यदि त्यो दिन म भावनामा बगेर निश्चललाई छाडेर माइत गएको भए महाभूल हुने रहेछ। धन्न डक्टरको सल्लाह बमोजिम सधैँ घर नजिकैको पार्कमा घुम्न गएको बेला स्कुल पढ्दाको साथी शर्मिला भेट भएको थियो।
एकदिन शर्मिलाले गफको क्रममा बोल्न नसक्ने केटीलाई घरमा काम गर्न राखेको कुरा गरिन्। हेमाको मन आत्तिएर आयो, कतै त्यही कुसुम त होइन! कुसुमले सबै कुरा भनिदिई भने के होला! विस्तारै हेमाले पार्कमा शर्मिलासँग जम्काभेट नहुने किसिमले तर्किन थाली।
एकदिन दुवैजनाको भेट तरकारी पसलमा भएको थियो। शर्मिलाले पहिलाको जस्तो कुरा गर्न उत्सुकता देखाइनन्। दुवैले औपचारिकता पूरा गर्न मात्र कुरा गरे। केही दिनपछि दुवैको जम्काभेट पार्कमा भयो। शर्मिला केही उदास र सञ्चो नभएको जस्तो देखिन्थिन्। हेमाले प्रश्न नगरी बस्नै सकिन।
हेमाको कौतुहुलतालाई टार्ने प्रयास गरी तर सकिन, घरमा भएको सबै कार सुनाइन्। हेमाको घरमा जे-जस्तो घटना भएको थियो, दुरुस्तै त्यसै प्रकारको घटना शर्मिलाको घरमा पनि भएको थियो।
हेमाले पनि आफ्नो घरमा भएको सबै कुरा सुनाई। उनीहरु दुवैजनाले बबिता र कुसुमको बारेमा गोप्य रुपमा बुझ्ने निधो गरे। एकदिन दुवैजना भएर खोजी गर्दै बबिता बस्ने सुकुम्बासी टोलमा पुगे। टोलको गल्लीमा एक ठाउँमा धारामा पानी भर्ने विषयलाई लिएर महिलाहरु झगडा गरेको देखे।
पानीको गाग्रो समात्दै एउटा महिलाले भन्दै थिइन् 'तिमीहरु दिदी-बहिनीले आफूलाई के सम्झिन्छौ?'
'खबरदार! को आउँछ अगाडि त्यसको टाउको फोडिदिन्छु' अर्को महिलाले भनिन्।
हेमा र शर्मिला भिडको छेउमा उभिएर यो तमासा हेर्दै थिए। त्यहाँ कुसुमले मज्जासँग बोलेको देखेर दुवैजना छक्क परे।
'सबैभन्दा पहिला हामी पानी भर्छौं' बबिता पनि कराइरहेकी थिइन्।
शर्मिलाले हेमालाई तानेर अलि पर लगेर भन्न थालिन् 'यो कुसुम बोल्न नसक्ने लाटी होइन रहेछ!'
'हो त, यी दुवै दिदी-बहिनीले योजनाबद्ध तरिकाले षड्यन्त्र गरेर हामीलाई ठगेका रहेछन्' हेमाले आक्रोशित हुँदै भनिन्।
उनीहरुले प्रहरीलाई खबर गर्ने विचार गरे। त्योभन्दा पहिला उनीहरुले आफ्ना लोग्नेहरुसँग यस विषयमा छलफल गर्ने निधो गरे। प्रहरीमा जानुअघि प्रमाण जम्मा गर्न जरुरी थियो।
बबिता र कुसुमको कृयाकलापअनुसार उनीहरुले अन्यलाई पनि आफ्नो षड्यन्त्रमा फसाएको हुनसक्ने देखेर काम गर्ने ठाउँहरुमा जानकारी गराए। उक्त परिवारले घरमा सिसिटिभी जडान गरे। उक्त घरमा पनि दुवै दिदी-बहिनी भएर त्यही नाटक मञ्चन गरे तर यसपटक उनीहरु प्रहरीको जालोमा नराम्री फसे।
आमाले हेमाको लागि खाजा बनाएर ल्याइन्। आमाले हेमाको टाउकोमा हात राख्दै विस्तारै सुम्सुमाइन्, हेमा मुस्कुराइन् मात्र।