आज जागिरको परीक्षाको नतिजा प्रकाशित गरेछ। कदमले क्रमांक एकदेखि आफ्नो नाम छ कि भनि पढ्दै आयो। आज पनि उसको नाम वेटिङ लिस्ट नम्बर वानमा थियो। नतिजा अंग्रेजीमा लेखिएकोले उसले मनमनै पढ्यो 'वेटिङ लिस्ट नम्बर वान कदम राउत।'
साह्रै निराश भएर उसको दुवै हातले पुर्पुरो समायो। 'त्यस्तो मेहनत गरेको फेरि पनि भएन' भन्दै लामो सुस्केरा हालेर खुइय्य गर्यो।
यो धेरै पहिलेको कुरा हो। कम्प्युटर युग आउनुभन्दा अघिको बेला। रानीपोखरी नेरको कार्यालय अगाडि नतिजा टाँसिदिएको हुन्थ्यो। राति रेडियो नेपालको समाचारबाट नतिजा प्रकाशित गरेको समाचार सुनेपछि कदम रातभर खुल्दुलीले निदाउनै सकेको थिएन।
एक मनले त राति नै टर्चलाइट बोकेर हेर्न जाउँ जस्तो लागेको थियो। तर 'दिन आफ्नो रात अर्काको' त्यसैले राति नै जान उसले हिम्मत गरेन। भोलिपल्ट बिक्रम ट्याम्पु चढेर ऊ सखारै रिजल्ट हेर्न आएको थियो। त्यो ट्याम्पुमा ऊजस्तै सबैजसो नै आ-आफ्नो विषयको जागिरको परीक्षाको नतिजा हेर्न आएका थिए।
बाटोभरि बिक्रम ट्याम्पुले पछाडि फालेको कालो मुस्लो धुँवाले सबै प्यासेन्जेरको अनुहार, कपाल र पूरै लुगाजुत्ता कालै भएका थिए। सास फेर्दा पनि फोक्सोसम्मै कालो धुवाँ पुगिरहेको थियो। के गर्नु यसो कहीँ जान परे सजिलो साधन नै त्यही थियो। थोत्रो मिनिबसहरू पनि थिए। तर खलासी र कन्डक्टरले यस्तरी यात्रुहरु कोच्थ्यो कि निहुरिएर, चेप्टिएर, पूरै जीउ बाङ्गिएर सासै रोकिएला जस्तो हुन्थ्यो।
इन्टरभ्यूमा जहाँ जाँदा पनि उसको सुकिलो पहिरन, मिलाएर कोरेको कपाल, पालिस लगाएर टिलिक्क टल्काएको छालाको कालो जुत्ता हुन्थ्यो। गोजीमा कलम र हातमा सर्टिफिकेटको फाइल बोकेको हुन्थ्यो।
प्रायः सबै लिखित परीक्षामा ऊ बिना कुनै कठिनाई पास हुन्थ्यो। उसको नाम उपल्लो नम्बरमा नै हुन्थ्यो। लिखितपछि जब जागिरको मौखिक इन्टभ्यू हुन्थ्यो तब उ वेटिङ लिस्ट नम्बर वानमै अडकिन्थ्यो। त्यही भएर डाडुपन्यू इन्टरभ्यू लिनेहरूकै हातमा हुनेरहेछ जस्तो लाग्थ्यो उसलाई।
ऊ साह्रै मेहनती थियो। इन्टरभ्यूका सबै प्रश्नहरुको ऊ उदाहरण दिइ-दिइ चित्तबुझ्दो जवाफ दिन्थ्यो। इन्टरभ्यू दिनेहरू पनि उसको जवाफले अत्यन्त खुसी हुन्थे। उसको जवाफलाई राम्रो भन्थे। तर के गरी हो के गरी रिजल्ट यस्तो आउथ्यो कि ऊ वेटिङ लिस्ट नम्बर वानमै पर्दथ्यो।
वेटिङ लिस्ट नम्बर वान भए पनि अथवा वेटिङ लिस्ट नम्बर थाउजेन्ड भए पनि कुरो एउटै थियो, उसले जागिर पाएन भनेर। जागिर पाउनेले कहाँ छोड्छ र वेटिङ लिस्ट नम्बर वानले जागिर पाओस्। त्यही पनि कदम हिम्मत हार्दैनथ्यो, ऊ कोसिस गरी नै रहन्थ्यो।
त्योबेला नेपालमा भर्खर-भर्खर शासन व्यवस्था बदलिएको थियो। के विद्यार्थी के जागिर खोज्ने, सारा जनताले नै नयाँ व्यवस्था ल्याउन आन्दोलन गरेका थिए। सबैले देशमा अब त राम्रो होला भनेर सोचेका थिए। जागिर खोज्नेले अब योग्यता बमोजिम देशमै जागिर पाइएला भन्ने सोचेका थिए। तर सोचेको जस्तो भएन। जागिरको परीक्षाको नतिजामा दक्ष र सक्षमहरू परेको देखिएन।
जागिर नपाउनेले झन् जागिर नपाउने भए। कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै पो भयो। नेपालीहरुले देशमा रोजगारी नपाएर विदेश जाने सिलसिला सुरू भयो। पहिले आक्कलझुक्कल नेपाली वैदेशिक रोजगारीमा गएको सुनिन्थ्यो। पछि त सलहको फौजजस्तै ग्वारग्वार्ती नेपालीले विदेशमा रगत पसिना चुहाएर रोजगारी गर्नुपर्ने स्थिति आयो।
पहिले नेपालमा राजा हुँदाको समयमा दक्ष र देशको विकासमा योगदान पुर्याउन सक्ने नेपालीलाई त अरू देशबाट पनि खोजी-खोजी नेपाल फर्काएर ल्याइन्थ्यो र पढाइ र अनुभव मुताबिक जागिर दिएर काममा लगाइन्थ्यो। उनीहरुको सीपको कदर हुन्थ्यो र त्यसबाट देशको उन्नति प्रगतिमा ठूलो सहयोग पुग्दथ्यो। विकासमा बामे सरेको देशलाई माथि उकास्न भरपूर कोसिस गरिन्थ्यो।
ठाउँ ठाउँमा सडक बनाएर, विभिन्न कलकारखाना खोलेर, विभिन्न निर्माण कार्य जिरोदेखि सुरू गरेर नेपालीलाई नेपालमै रोजगारको व्यवस्था गराइएको थियो। त्यसबेला त भिसा न पासपोर्ट। कसैको मनमा पनि विदेश गएर रोजगार गर्ने भन्ने नै हुँदैन थियो। वैदेशिक रोजगारी त कुन चराको नाम हो भन्ने थियो।
इन्टरमेडिएट पास गरेपछि विद्यार्थीहरुलाई विभिन्न देशबाट प्लानहरू आउथ्यो। शिक्षा मन्त्रालयबाट विभिन्न विषयमा छात्रवृत्तिमा विदेश पढ्न पठाउँदा परीक्षाको प्राप्तांक बमोजिम फर्स्ट, सेकेन्ड हुने विद्यार्थी गर्दै मेलैले रिजल्टको नम्बरको क्रमांकअनुसार छनौटमा परेर पढ्न जान पाउँथे। छनौट निष्पक्ष हुन्थ्यो। योग्य र जेहेन्दारले मौका पाउँथे। पढाइ सक्ने बित्तिकै आफ्नै स्वदेश फर्किन्थे।
त्यतिबेला कदमले सजिलै विदेशमा पढ्न जान फूल स्कलरशीप सहित प्लान पाएको थियो। विदेशबाट पनि सधैँ झैँ फर्स्ट डिभिजनमा उच्च शिक्षा हाँसिल गरेर आयो। तर जागिर खोज्ने बेलामा देशको व्यवस्था बदलिसकेको थियो। उसलाई यो नयाँ व्यवस्थामा त झन् आफ्नो योग्यताबमोजिम जागिर हुन्छ भन्ने लागेको थियो। तर उसलाई जागिर पाउन सजिलो भएन। जागिर खोज्दा-खोज्दा कतिवटा जुत्ता फटाइसकेको थियो। तर पनि जागिर भेटेको थिएन।
एकदिन कदम नयाँ सडकको पिपलको बोटमुनि पत्रिकामा जागिरको विज्ञापन हेर्दै थियो। उसको साथी कौशलले कोट्यायो। 'कदम, तँ अझै जागिर खोज्दैछस्! धेरै भो त, अहिलेसम्म भेटिनस्? एकचोटि तैँले चिनेको मन्त्रीलाई गएर भन् न। कहिलेकाहीँ त फ्याट्ट हुन्छ।'
अब कुन मन्त्रीलाई भन्ने? भनसुन गराउन उसलाई पटक्क मन लाग्दैन। आफ्नै स्वाभिमानमा उसलाई विश्वास छ। तर पनि आफू योग्य र दक्ष भएकोले कुनै बाटो भेटिएला कि भनेर आफ्नै गाउँले मन्त्रीलाई भेट्न मन्त्री क्वाटर धायो। मन्त्री त के मन्त्रीको पिए भेट्न पनि साह्रै गाह्रो हुँदो रहेछ।
ऊजस्तै समस्या परेका त कति-कति हुँदा रहेछन्। आफूले कोसिस गर्दा गर्दा केही सीप नलागेपछि मन्त्रीकहाँ धाएपछि काम हुन्छ भन्ने सबैलाई ठूलो विश्वास र आश हुँदो रहेछ। पिएले जहिले पनि मन्त्रीज्यू व्यस्त भनेपछि एक हप्ता यसै धाउँदै गयो। त्यसपछि पिएले 'बल्ल बल्ल मैले मिलाइदिएँ भोलि सखारै आउनु मन्त्री ज्यू गाडी चढेर उद्घाटनमा जानुभन्दा अघि आफ्नो कुरो राख्न्नू' भनेर भने।
ऊ झिसमिसेमै मन्त्री क्वाटर पुग्यो। कुर्दा-कुर्दा अब आउलान् तब आउलान् भन्दाभन्दै मन्त्रीज्यू त घाम निकै माथि आइपुगेपछि आरामले निस्कनुभयो। ऊ जस्तै समस्यामा परेर कुरेका एक हुलले नै नमस्कार गरे। सबै आफ्नो कुरो राख्न आतुर थिए। बल्ल कदमको पालो आयो र जागिरको कुरो मन्त्रीज्यू सामु राख्यो।
'हुन्छ, हुन्छ म आफ्नो गाउँले युवाको काम गरिदिइहाल्छु नि। तिमी जस्तो जेहेन्दार र योग्य युवकको यो देशलाई खाँचो छ। धन्दा नमान। तिम्रो नाम र इन्टरभ्यूको बारे पिएलाई टिपोट टिपाउनू' भन्दै मन्त्री ठूलो कालो टिलिक्क टल्किएको गाडीमा झण्डा हल्लाउदै हुँइकिए। मन्त्रीको आश्वासनले ऊ निकै ढुक्क भयो। आफ्नो इन्टरभ्यूको बारे पिएलाई टिपोट टिपाएर निकै खुसी हुँदै घरतिर लाग्यो।
त्यसपालि उसले अन्तरवार्ता दिएको जागिर उसले सोचेजस्तै ठूलो विभागको थियो। ऊ हँस्याङफस्याङ गर्दै फेरि पनि रिजल्ट हेर्न गयो। तर उसको नाम वेटिङ लिस्ट नम्बर वानमै थियो। उसलाई त पहिल्यै मन्त्रीले गर्लान् जस्तो लागेको थिएन। मनको लड्डु घिउसित खानु जस्तै भयो। त्यत्रा मानिसहरु तातो न छारो मन्त्री कहाँ कुरेर बसेका रहेछन् भन्ने पो लाग्यो। ऊ फेरि पनि साह्रै निराश भयो र लामो सुस्केरा हालेर खुइय्य गर्यो।
अब प्राणभन्दा प्यारो आफ्नो देशमा काम नपाएपछि कदमको अन्तिम हतियार बाँकी भो विदेश गएर कमाउने। विदेश जान अनि भनेजस्तो काम पाउन पनि कहाँ सजिलो हुन्छ र! जुनसुकै क्षेत्रमा पनि दलाल र इन्सुरेन्स छिरेको यो युगमा वैदेशिक रोजगारीको कार्यालय नधाइ उसले सुख पाएन।
विदेश जान रकमको इन्तजाम गर्नुपर्यो। हवाईटिकट, बाटो खर्च र उहाँ पुगेर तलब नथापुन्जेल खाने बस्ने खर्च आदि इत्यादीको जोरजाम त गर्नैपर्यो। वैदेशिक रोजगारको अफिस अगाडि पनि मन्त्रीकहाँभन्दा बेसी बेरोजगारहरुको भिड लागेको लाग्यै। यस्तो लाग्थ्यो पार्टीका मानिसभन्दा रोजगारीको लागि विदेश जान खोज्नेको भिड धेरै छ।
त्यत्रा विचरा मानिसहरू आशा निराशाका दोसाँधमा परेर खिस्रिक अनुहार लगाएर मन लागि नलागि विदेशमा रोजगारको लागि लामो लाइनमा लागेका थिए। आफूले नै देशमा काम नपाए पनि देशमा काम नभेटी वैदेशिक रोजगारीको कार्यालयमा लाइन लागेका हर व्यक्तिलाई देख्दा कदमको मन नै धुरूधुरू रोयो।
त्यसमा पनि कतिले जान पाउने कतिले जान नपाउने। नजान पाउनेलाई अब के गर्ने, कसरी जिन्दगी चल्ला भन्ने चिन्ता। जान पाउनेलाई कसैले बुढा बा-आमा छोडेर जानु परेको। कसैले स्वास्नी र साना जिन्दाजिन्दी छोडेर जानु परेको। कसैले लोग्ने र छोराछोरी छोडेर जानु परेको। कोही दम्पतिले त बुढाबुढीलाई नाती-नातिनी सुम्पिएर जानु परेको।
कति बिदारक रहेछ नेपाली दाजुभाइ, दिदीबहिनीका जिन्दगीका दृश्यहरू। देशमा त हातमुख जोड्न, घरपरिवार चलाउन गाह्रो भयो विदेश गएपछि सुख पाइन्छ कि भन्ने आशमा।
धेरै महिनाको मेहनत र धाउने काम गरेपछि बल्ल कदमले कतार जाने मौका पायो। पहिले त बल्ल विदेशमा भए पनि जागिर पाइयो भन्ने खुसी लागेको थियो। तर जति जति जाने दिन नजिक आउँथ्यो त्यति-त्यति उसलाई आफ्नो बुवा, आमा, घरपरिवारबाट टाढा हुँदा के हुने हो भन्ने चिन्ता र न्यास्रो लाग्थ्यो। आफ्नो देशको भाषा, संस्कृति, रहनसहन, नेपालीपन, नेपालीहरु र प्राणभन्दा प्यारो देश नेपाल छोड्न उसको मनले मान्दै मानिरहेको थिएन। त्यही पनि पढेर आएर आफ्नो देशमा जागिर नभेटेपछि काम पाएको कतारमै गएर पनि त कमाउनै पर्यो भन्ने सोच्यो।
साइतको रातो टीका, गलामा फूलको माला हातमा टिकट र भिसाको कागजात समाएर कदम कतार उडने प्लेन चढ्न एयरपोर्टमा पुगिसकेको थियो। एयरपोर्टको वेटिङ रूममा उसले आफ्नो प्यारो बुवा, मुवा, हजुरबुवा, हजुरमुवा, दुईजना भाइ र सानी बहिनीसँग उभिएर दुई/चारवटा सेल्फी फोटो खिच्यो। उसको मन भारी हुँदै गइरहेको थियो।
उसको भविष्यको अन्योलतामा ऊ अलमलिए पनि उसले कतारमा काम पाएको थियो। घरी बुढो भइसकेका हजुरबुवा हजुरमुवालाई हेर्थ्यो। घरी आफ्नो बुवाआमाको नजिक जान्थ्यो अनि आमालाई 'कमाएपछि म चाँडै फर्किहाल्छु नि आमा' भन्थ्यो। घरी भाइबहिनीलाई माया गरेर सुमसुमाउँदै 'तिमीहरु राम्ररी बस्नु है' भन्थ्यो।
उसलाई लागेको थियो कतार गएर कमाएपछि पैसा पठाएर एउटा पक्काको घर बनाउने। घरपरिवारलाई खान लाउन र जीविका चलाउन सजिलो पारिदिने। भाइबहिनीलाई पैसा पठाएर स्कुलमा पढाउने। अनि केही वर्ष दुःख गरेपछि आफ्नै देश फर्केर कमाएको पैसाले सानोतिनो व्यवसाय गरेर बिहे गरी सुखी जीवनयापन गर्ने। अनि त हाँस्ने, छोराछोरीसँग खेल्ने र सम्पूर्ण परिवारसँग रमाउने। एउटा सानो मिठो सपना।
के-के सोच्दासोच्दै कतारको आउने फ्लाइटले ल्यान्ड गरिसकेको थियो। कतारबाट आउनेहरू एउटा टर्मिनलबाट आउँदै थिए। गल्याङगल्याङ आवाज आइरहेको थियो। कोही कुरा गर्दै थिए। कोही लिन आउने मानिससँग मिसिँदै थिए। लगेज रूममा कोही आफ्नो सामान कुर्दै थिए। कोही सामान बोक्ने र घिसार्ने गर्दै थिए। परिवार र आफ्नो देश छोडी जानलागेकाहरू उदास देखिए पनि आफ्नो देश फर्किआउने र परिवारसँग मिलन हुनेहरू खुसीले रमाएका थिए।
एक्कासी पुरै एयरपोर्टमा सन्नाटा छायो। मानिसहरु करुणामय स्वरमा रोइरहेको सुनियो। एउटा काठको बाकसमा शव ल्याएको थियो। बाकसलाई मायाले स्पर्श गरेर परिवारका सदस्यहरु छाती पिटी-पिटी रोइरहेका थिए।
'मेरो बाबु, एक वर्ष अगाडि जाँदा कमाएर चाँडै फर्किन्छु भनि गएको थिइस्। अहिले यो के देख्नु पर्यो?' बाकसलाई अँगालो हालेर मृतकको आमा डाँको छोडेर रूँदै थिइन्।
मृतकको बुवा पनि बरबरी आँसु खसालेर रोइरहेका थिए। छेउमा भाइबहिनी पनि सुक्कसुक्क गर्दै आँसु पुछ्दै थिए।
कदमले यो हृदयविदारक घटना साह्रै दुःखी भइ हेरिरह्यो। उसको हजुरबुवा/हजुरमुवा, बुवा/मुवा र भाइबहिनी पनि आँखा रसिलो पारेर त्यो दृश्य हेरिरहेका थिए।
समयले कसलाई कुर्छ र? प्लेनको बोर्डिङ सुरू भयो। मानिसहरु आफ्नो कुम्लो कुटुरो च्यापेर अघि बढ्न थाले। कदमलाई पनि जानुपर्ने भयो।
'हस् त हजुरबुवा/हजुरमुवा म जान्छु।' भन्दै शिर निहुराउँदा कदमलाई हजुरबुवा/हजुरमुवाले शिरमा हात राखी थुप्रै आशीर्वाद दिनुभयो।
'हुन्छ त भाइबहिनी म जान्छु' भन्दै कदमले भाइबहिनीलाई मायाले अंगालो हाल्यो।
त्यसपछि कदम बुवाआमा नेर पुग्यो। 'हस् त बुवा, हस् त आमा म जान्छु' भनेर शिर निहुँराइ बिदा लिँदा उसकी आमाले कदमलाई स्नेहपूर्वक छातीमा टाँस्नुभयो।
'बाबु, आफ्नो स्वास्थ्यको ख्याल गर्नू। खबर गरिरहनू। भगवानले तिमीलाई सदैव रक्षा गरून्। तिमीलाई दीर्घायुको कामना। चाँडै सकुशल फर्किनू' यति भन्दाभन्दै आमाको स्वर भारी हुँदै गयो। अनि पर जान लागेको छोरोलाई सुम्सुमाउँदै घुँक्क घुँक्क रुन थाल्नु भयो। कदमको बुवाले पनि नदेखाइ आँसु पुछिरहनु भएको थियो।
'नरूनू आमा, म कमाएर चाँडै फर्किहाल्छु नि' भन्दै ऊ घरीघरी पछि फर्कँदै आमाबुवालाई हेर्दै विस्तारै अघि बढ्यो। हजुरबुवा-हजुरमुवा, भाइबहिनीले मन भारी गरेर बाई-बाई गरिरहेका थिए। कदम पनि 'बाई-बाई' भन्दै हात हल्लाउँदै सानो ह्यान्ड क्यारी झोला च्यापेर अन्तिम पटक पुलुक्क रोइरहेकी आमा र बुवालाई हेरि एयरपोर्टको भिडमा ओझेल भयो।