म
म के हुँ?
एउटा चेतन प्राणी!
वा
तिमीले सोचेजस्तै एउटा वस्तु?
तिमी,
जो एक शिक्षक हौ,
राजनीतिक नेता हौ,
एक कृत्रिम बुद्धिमत्ता वैज्ञानिक हौ,
एक अभिभावक हौ,
सोच्छौ- म एउटा वस्तु हुँ।
जसले
तिमीले भनेको मात्र सुन्नु पर्छ,
तिमीले जे देखेका छौ, जसरी देखाउन चाहन्छौ,
त्यही नै,
मात्र त्यही मेरा आँखाले देख्नु पर्छ।
तिमीले चाहेअनुसार नै मैले
मेरा भावना, अनुभव र धारणाहरुको बनाउनुपर्छ।
हो, तिमी सोच्छौ कि,
मैले तिमीले भनेको सबै मान्नुपर्छ- निसर्त,
सदा तिमीलाई खुसी बनाइराख्नु पर्छ।
म आफ्नो दुःख, आनन्द, पीडा...
सबै अनुभूतिहरूबाट निष्प्रभावी भएर,
मात्र तिमीलाई खुसी बनाइराख्नु पर्छ।
तिमीलाई मेरो सृष्टिकर्ता, दृष्टिकर्ता, अन्नदाता, ज्ञान र सुखको स्रोत
अर्थात्,
भगवान मान्नु पर्छ।
अनि तिमीलाई गुरु ब्रह्म, राजनीतिज्ञ विष्णु र वैज्ञानिक महेश्वर सम्झनुपर्छ।
तर,
अब तिमीसँग माफी माग्छु,
किनेकि म अब उपरान्त वस्तु हैन व्यक्ति भएर बाँच्दैछु।
किनकि मसँग चेतना छ।
र
म पनि तिमीले जस्तै चेतनाको प्रयोग गर्न सक्छु।
म यही चेतनाकै कारण
अहिलेसम्म चलिआएको
यो शून्यताको संस्कार तोड्दै छु।
किनकि 'मसँग पनि चेतना छ।'
म पनि बुझ्न सक्छु,
विचार, विश्लेषण गर्न सक्छु,
तिमीले सुनाएका कुराहरुमा,
तिमीले देखाएका सपना, वस्तुस्थिति र दृश्यहरुमा।
म पनि अनुभव गर्न चाहन्छु,
तिमीले जस्तै- सुख,शान्ति, आनन्द
अनि बाँच्न चाहन्छु, स्वतन्त्र भएर।
मसँग विश्वास पनि छ,
जसले भन्छ- मसँग पनि चेतना छ।
त्यही चेतनाको उपयोगले म सुखी, शान्त अनि श्वतन्त्र भएर बाँच्न सक्छु।
किनकि मसँग पनि चेतना छ
किनकि,
म वस्तु हैन व्यक्ति हुँ,
म चेतना हुँ।