चट्याङ सँगसँगैको वर्षातले गाडी बाहिरको वतावरणमा कोलाहल मच्चाइरहेको थियो। बसभित्र खचाखच भिड थियो। मानिसका शरीर बाफिएर आएको गन्ध अनि ठेलाम्ठेलले उसलाई अत्यन्त असहज महसुस भइरहेको थियो।
छोटा कपडा, भिजेको शरीर, आफूप्रति मानिसहरुको अनौठो दृष्टिले अप्ठ्यारो पारिरहेकै थियो। अझ आफू एकटकले अगाडि फर्केर उभिँदा पनि आफू पछिको भिडले आफ्नै कुरा गरिरहेका छन् भन्ने भ्रमले उसले आफ्नो ओर्लिने स्टप आउन्जेल समेत धैर्य राख्नै सकिन।
अघिल्लो स्टेशनमै ओर्लेर कसैले आफूलाई नदेखून्, नचिनून् भनेर हतार गर्दा बस भाडाको फिर्ता समेत नलिई ऊ दगुरी। हावाको वेग र मौसमको पागलपन फेरि पनि ऊमाथि निर्दयीपूर्वक खनियो। त्यो समय उसलाई लाग्यो कि मौसमको अनुकूलता जस्तो भए पनि सहन सक्थी। बस्, आत्मबल कमजोर भएको हुँदा मानिसहरु अघि उभिने साहस भने ऊ जुटाउन सक्दिन थिई।
हावाको वेगबाट बच्ने कोसिस गर्दै दुवै हातले स्कर्ट सम्हाल्दै थिई। दगुर्दै गर्दा बेलाबेला हिल कोल्टिएर खुट्टा दुख्थ्यो र पनि आफ्नो गतिलाई उसले तीव्रता दिन छोडिन। सोची कि उसलाई कसैले नरोकून्, ऊ आफू भाग्न पाओस्, कसैलाई जित्न होइन बरू आफैलाई अरुबाट लुकाउन।
हुन त यसरी मौसम अनुकूल आज मात्र भएको होइन। तर आज आफू यस्तो हालतमा परेकोमा आफ्नो दुर्भाग्य मानि उसले। एक्लै मौसमसँग जुध्दा केही समय अगाडिका स्मृतिहरु आउन थाले। ऊ, रमा, बिन्दा, समान्ता, रेनुका सबै थिए त्यहाँ तर सबै आ-आफ्नै माहोलमा। नाच्नेहरू नाच्नमै मस्त थिए, हाँस्ने हाँस्नेकै तालमा र ड्रिङ्क्स गरेर अनावश्यक हल्ला गर्ने अर्कातिर।
यी सबैमा कतै एडजस्ट हुन नसकेर अन्योलमा परेको उसले आफैलाई मात्रै पाई। सबैका लागि ठूल्ठूला स्पिकरमा बजेका आवाज रोमाञ्चक थिए। तिनै उसलाई अनावश्यक र अत्याउँदा भइदिए। दुई चोटिसम्म नकार्दा तेस्रो पटक जबरजस्ती हात पक्रि नाच्नलाई तान्ने रमितको नियत त झनै कहाँ सह्य थियो र उसलाई।
कुनै बोल्ड केटीले नाई भन्या भए सायद रमित जस्ता केटा पनि चुप हुने थिए होला। सायद नम्रता जस्तो अन्तर्मुखी व्यत्ति प्रायः उसको इच्छा विपरीत अरुको मनासयअनुसार पटक-पटक परिचालित हुन बाध्य भइरहेको हुन्छ। नम्रताले पनि त्यस बखत अरूको मनासय अनुरूप चल्नु पर्दा आफू एक प्रयोगशाला बनेको महसुस गरी।
सुनसान गल्ली र अविरल वर्षाले आत्तिएको उसको मनस्थिति आफ्नो रुम अघि पुगेपछि भने केही साम्य हुन खोज्यो। रुमभित्र पसेर हत्तपत्त ढोका बन्द गरी, मानौँ ऊ कुनै जघन्य अपराध गरेर लुक्न आएकी अपराधी हो। उसको शरीर र कपडाबाट बगेको पानीले भुइँ जलाम्य भयो। बल्ल उसलाई शरीर जाडोले लगलग कामेको महसुस भयो।
समान्ताले हात समातेर रोक्न खोज्दा आफ्नै हातको ब्रास्लेटले मासु चेपिएर दुखेको, अग्लो हिलमा दर्गुदाको पीडा सब एक-एक गर्दै महसुस हुन थाल्यो उसलाई। ऊ त्यही थचक्क बसी जबसम्म अर्को ठूलो मेघले उसको अवचेतित मनस्थितिलाई पुनः झकझकाएन। उसको शरीर र मनस्थितिले बोझ बोकिरहेको पीडाको बोझ त्यही मेघ सँगसँगै उजागर गर्दै ऊ रुन कराउन थाली।
मन हलुका भएसी जलाम्य स्थानबाट उठी। अनि बल्ल लथालिङ्ग भएको रुममा उसको ध्यान गयो। जानु अघिको उत्तेजना र चहकमहकमा केटीहरु साथै थिए। र अहिले त्यहीँ लथालिङ्ग रूम, आफ्नो शिथिल शरीर र मनस्थितिमा आफू एक्लो भएको उसले महसुस गरी।
साथीहरुको कुरा झट्ट दिमागमा आउँदा सम्झेर फोन हेरी। रमा र बिन्ताको दश मिस्डकल फोनमा देखियो। त्यस समय कलब्याक गरेर उनीहरुको आक्रोश वा चिन्ता सुन्ने न हिम्मत नै भयो न त आवश्यक नै लाग्यो उसलाई। रुममा यत्रतत्र छरिएका सामानहरू व्यवस्थित गर्दागर्दै त्यही छोपिएको पुरानो ड्रेस भेटियो जुन सधैं उसका लागि प्रिय थियो।
भिडभाडमा र अव्यवस्थामा आफ्नो प्रिय कुरा नि लथालिङ्ग छाडेछु भन्दै अंगालोमा चेपिरही। रात क्रमशः ढल्दै थियो। निर्धो आत्मबलबाट मनले धेरथोर पार पाइसकेको भए पनि मौसमको अनुकूलता र एक्लोपनमा दबिएको डर उसको साथमै थियो। बत्ती निभाउने हिम्मत नि भएन उसलाई न त घरपट्टिको डरले बालेर सुत्न नै। गम्छाले ढोकाको कुना काप्चा थुनेसी बत्ती बालेर सुत्ने हिम्मत चाहिँ भयो। र आफ्नै डर र एक्लोपनसँग जुध्दै कतिखेर आँखामा निन्द्राको पट्टी लाग्यो पत्तै पाइन।
मध्यान्न १२ बजे जस्तै बाहिर घाम टिलिक्क थियो र बाटाघाटामा साबिकका झैँ मानिसहरुको चहलपहल बढिसकेको आभास उसलाई ओछ्यानमै भयो। समय हेर्दा ८:३० भएको थियो। नम्रताका स्मृतिमा हिजोका घटनाहरु संघेलिन खोज्दै थिए तर आफूलाई व्यस्त राख्ने कोसिस गर्दै ध्यान अन्तै मोड्न खोजी।
एक्लै भए पनि दुई/तीन थरी पकवान पकाइ, जस्तै पाके पनि आफ्नो पाककलालाई सम्मान गर्दै खुसी हुँदै खाई। हावाहुरीले जताततै पात पतिङ्गर पारेको थियो र वर्षाले हिलो। आँगनको हिलो पानीले सफा गरी र भिजेका पतिङ्गर सुकेसी जलाउन जम्मा पारी। उसको काम गराई देखेर पल्लो घरको आन्टी नि नजिकै आई सराहना गर्न थालिन्। सायद हिजोको अपूर्ण रहेको उसको मनोभावनालाई पूर्णता दिनुथ्यो, त्यसैको लागि जमर्को थिए उसको ती सब।
सानै तारिफले पनि उसलाई प्रफुलित बनायो। मध्य दिउँसो काम सकेसी कौसी उक्लिई। हिजो आफै मौसमको कठिन परिवर्तनको चपेटामा परेकी ऊ। लाग्या थियो ठूलै प्रलय होला, उथलपुथल गराउला, तर आजको दिनको स्वरुप देख्दा हिजो साँच्चै आँधिबेरी र वर्षात भएको हो भनेर विश्वास गर्नै मुस्किल भयो उसलाई।
साँच्चै पर परसम्म पनि हिजोको हावा हुरीको कुनै प्रभाव देखिदैनथ्यो। कहिल्यै याद नगरिएका डाँडाका जस्तापाताका घर पनि घामको किरणमा जाज्वल्यवान थिए। वातावरण सफा र चारैतिर हरियाली देखिन्थ्यो। सेता बादल र सफा निलो आकाश नि आकर्षक देखिएको थियो। ठूला-ठूला क्रेन चरादेखि साना-साना किरा समेत आकाशमा याद गरी उसले।
सोचि 'साँच्चै हिजोको मेघ, वर्षा त मौसम परिवर्तनको संकेत रहेछ, कुनै प्रलयको संकेत होइन रहेछ।' हिजो आर्तनाद गर्दै मेघ गर्जेको दिन लाग्या थियो परिवर्तनको निकटतामा कष्टले छट्पटाइरहेको थियो तर परिवर्तन आत्मासात गरेसी हिजोको अर्तनाद र पीडा भुलेर आज हाँसि त गयो।
सधैं मौसमले वातावरणमा एकछिनलाई भाँडभैलो गराए पनि अर्को दिन परिवर्तित स्वरुप, ताजापन र जीवन्तता फिर्ता गराएको देखिन्छ। परिवर्तन त ऊ पनि चाहन्थी। यस्तै परिवतर्न जुन हिजोको दिनले आजको दिनलाई दिएको थियो र आजको दिनले पनि प्रफुल्ल मुद्रामा त्यसलाई स्वीकार्न सकेको थियो।
परिवर्तन ऊ आफ्नो लागि चाहान्थी वा समाज र त्यहाँका मानिसहरु अनुरुप भई बाच्न परिवर्तन अपरिहार्य भइसक्या थियो, पत्तो थिएन उसैलाई पनि। मौसमले वातावरणलाई दिएको मिठो परिवर्तन हेर्दछे, परिवर्तनशील समाज र त्यहाँका मानिसहरु विचार गर्दछे, अनि परिवर्तन स्वीकार्न नसक्ने आफ्नो सङ्कीर्णतालाई पनि मनन गर्दै ऊ आफैसँग प्रश्न गर्दछे, 'के परिवर्तन यति सजिलो छ त?'