बा-आमैहरू नलेखिएका किताबहरु रहेछन्।
एउटा समय,
'बा/आमै बेकार हुन्। बोझ हुन्। फगत काल पर्खिएका, कुरुप शरीर हुन्,' यस्तै सोच्थेँ। मेरो सोच बालख थियो। बालख सोचहरु अबोध हुन्छन्। जसरी बुढा शरीरहरु अबोध हुन्छन्।
एउटा समय,
कतै यात्रा गर्दा सँगै रहेको सिटमा राम्री केटी परिदिए हुन्थ्यो भन्ने सोच्थेँ। त्यो बेलाको सोच उत्तौलो थियो। उत्ताउला सोचहरु अनियन्त्रित हुन्छन्। यी केटौली कुरा हुन्।
समय बदलियो। अचेल बा/आमैहरु किताब जस्ता लाग्छन्। ज्ञानका स्रोत जस्ता लाग्छन्। तिनीहरुसँग घन्टौँ बिताउन पाए हुन्थ्यो लाग्छ।
उस्तै, सँगैको सिटमा युवती खोज्दैन आत्माले। छोरी भैदिए लाग्छ। उसका कुराहरु सुन्दै, आफ्ना सुनाउँदै घन्टौँ यात्रा गर्दा कस्तो हुँदो हो! सोच्दा पनि मन चङ्गा हुन्छ।
केटौले पन ओरालो लागेछ या युवा उमेर उकालो, खैर जीवन हरेक उमेरमा सुन्दर हुन्छ। बच्चा उमेर रहरको पुञ्ज हो। यो उमेरले भोलि जान्दैन। आजलाई बाँच्छ। भर्खरलाई बाँच्छ। खुसीले बाँच्छ।
युवा उमेरसँग जाँगर हुन्छ। जाँगरले बाटो पहिल्याए, गन्तब्य भेटाउँछ। युवा उमेर दौड्छ, खुब दौड्छ। केही पाउन दगुर्छ, केही दगुर्दा दगुर्दै गुमाउँछ। रहर, जिम्मेवारी र भविष्य बोकेर हिँड्ने युवा उमेर जीवनकै महत्वपूर्ण उमेर हो।
यो उमेरलाई आरसी, आडम्बरी, अहमता, रिस जस्ता कुराहरुले बारम्बार लखेटिरहन्छन्।
उस्तै, वृद्ध उमेर विश्रामको उमेर हो। यो उमेरलाई हतारो छैन। यसले भोलि मन पराउन्न। आज बाँचेर हिजोलाई सम्झिरहन्छ। यसलाई पाउनुपर्ने केही छैन, गुमाउनु पर्ने एक थान शरीरमा सिँचित ज्ञान बाँड्न चाहन्छ।
धेरै कुरा भोगेका, जानेका, कुन सही कुन गलत थाहा भएका, मनमा पापले बास छोडेका, धर्मले रोजेका हरेक वृद्ध शरीरहरु नलेखिएको पुस्तक बराबर हुन्। यी ज्ञानका समुन्द्र हुन्। यी समुन्द्रहरुमा पौडिनुको मजै बेग्लै।
आउनुस्, अब एकैछिन कल्पनामै सही, बा/आमैहरु भेटौँ।
***
एकपटक चिम्म गरेर गाउँ पुग्नुस् त आफ्नो। टोल पुग्नुस्। टोलमा रहेका बा/आमैको दैलो पुग्नुस्। मेरो मतलब मनलाई पुर्याउनुस्।
पुर्याउनु भयो?
के-के नाच्न थाले आँखामा? दृश्यमा के आए? बा/आमाहरु के गर्दै रहेछन्? के भने तपाईंलाई?
बोले/बोलेनन्? सोधे/सोधेनन्?
के सोध्नुभयो तपाईंले? कतिबेर अडिनु भयो? के एकाध घन्टा कुरा गर्ने ल्याकत रहेछ तपाईंमा? कि हालचाल सोधेर भाग्नुभयो?
ल बस्नुभयो रे एकछिन। अडिनु भयो रे! कुरा गर्नुभयो रे! के भन्छन् बाँ/आमै?
पक्कै, तपाइको उपस्थितिले निकै खुसी भए होला। तपाईंको उभिएको देखेर बस्न भने होला। कतिले चकटी ल्याउन अह्राए होला। कतिले आफू बसेकै चकटी दिए होला। बस्न भने होला।
पक्कै उनीहरुले, कहिले आइस् सोधे। कति बस्छस् सोधे। के खान्छस् त हाम्राँ भनेर पक्कै भने।
तपाईं विवाहित हो भने, श्रीमती केटाकेटीलाई सोध्नै छुटाएनन्। उनीहरुले, के गर्छस् सोधे। दुब्लाएको भए चिन्ता सोधे। मोटाएको भए सन्तोक सोधे। भन्नुस् न तपाईंले के सोध्नुभयो?
कि हतार गर्नुभयो। बुढाबुढी झ्याउ त लागेनन् नि? तपाईंले जान्छु भनेर सोध्नुभयो होला, हुन्छ भने हुन् कतिले। कतिले एकछिन त बस भने हुन्।
तपाईं हिँड्दा, उनीहरुको अनुहार पढ्नु भयो त? कि मनमा राँको थियो, वास्तै गर्नुभएन! तपाईं त्यहाँ जाँदा बा/आमाहरुको भाव कस्तो पाउनुभयो? देखेर तपाईंलाई उनीहरु उजेलिएनन् र!
पक्कै, तपाईंले जति समय बिताउनुभयो, त्यसले उहाँहरुलाई बाँच्ने हौसला बढाइदिएको हुनुपर्छ। तपाईंका उमेरका छोरा/नातिहरु घरमा रहेनछन् भने तपाईंको उपस्थितिले अत्यास मेटाइदिएको हुनुपर्छ।
खैर, तपाईंले मनैबाट बा/आमाहरुसँग समय व्यतित गरेको भए धेरैथोक पाउनुभयो। सुख भोग्नु भयो। त्यहाँबाट निस्कदाँ उज्यालो भएर निस्कनुभयो।
त्यो बेर तपाईंले जान्न चाहेको जान्नुभयो। जीवन बुझ्नु भयो। उमेर बुझ्नु भयो। र अर्थोक धेरै जुन कतै पढ्न पाउनु भएको थिएन वा तपाईंले पढाउनु भएको थिएन ग्रहण गर्नुभयो। जीवन बुझ्नुभयो। बुझे, बाँच्न सजिलो हुन्छ।
तपाईंलाई मैले सोच्नुस् मात्रै भनेको हुँ। चिम्म गरेर बा/आमै भेटेको कल्पना गर्नुस् भनेको हुँ। यदि हजुरले कुनै कोणबाट सोच्नु भएको भए, तपाईंका मनमा मैले लेखेका कुराहरु पढ्दै गर्दा सयौँ प्रश्नहरु जन्मिए होला। विगत खेले होला। भोलिका योजना पो बने कि?
जे गर्नुस् तपाईंको जीवन तपाईंकै स्वाद।
बा/आमैको संगतमा बाँचेकाहरु तुलनात्मक रुपमा खुसी हुन्छन्। अनुभव ग्रहण गर्नु, हजार पुस्तक अध्यन गर्नुभन्दा धेरथोक हो। अनुभव व्यवहारिक ज्ञानको भण्डार हो।
हेर्नुस् त असोज लागेछ। असोज लाग्नु दशैँको महिना लाग्नु हो। अब बजारमा गाइँगुइँ दशैँका कुराहरु सुन्न पाइन्छ। अर्को हप्ताबाट त मालश्री धुनहरु बजाउन थाल्छन् पसल पसलमा। चौरहरुमा चङ्गा उडाउनेहरुको रौनक देख्न पाइन्छ। अब सहर बसेकाहरु गाउँ जाने कुरा गर्छन्। टिकटका कुरा, रिजर्भका कुरा। रमाइला कुरा। चाँडका कुरा।
यी सबै कुराबाट म किन अछुतो हुन्छु र, हुन्न। कहीँकतै मनमा घर जाने उत्साह जागिसकेको छ। पात्रोले हर्षित बनाएको छ। घर गएर गर्ने कामहरुको फेरस्ति बन्दैछ।
तिनै फेरस्ती मध्यको एउटा हो, बा/आमै पढ्नु।
योपालि अलि फरक योजनाहरु छन्। एक हप्ते बसाइमा, उनीहरुलाई पढ्ने मात्रै हैन पढेका कुराहरु नयाँ पुस्तामा सार्नु छ। केही सिरिजहरु बनाउनु छ।
धार्जै भएर मेलैसरी उनीहरुको जीवन, उनैको पिँढीमा बसेर सुन्नु छ। दौडँदै गरेको जीवनको थकाइ मार्ने चौतारी हो बा/आमैको काख। एकछिन लुटपुटिनु छ।
जीवन सकिन्छ, मर्नुछ। त्योभन्दा पहिला केही क्षणहरु बढो सुखले बाँच्नुछ। ती सुखहरु मध्यकै एक सुख, बच्चैदेखि हुर्काएका आफ्नाहरुसँग हाँस्नु हो, हँसाउनु हो। आखिर मर्नु त सबैलाई छ।