कविता
'सानो कपडाको च्यादर मात्रै ओढेर
त्यो सडक पेटीमा हात पसारी भीख मागी बस्ने
र अरूले दयाले हुर्याएका
अनाज र जिनसले आफ्नो जीवन चलाउने
सुन्नुस् न, ए ! मास्टर बाबु,
उनै के,
त्यो फुसको कटेरो, झुपडीमा एक्लै बस्ने
खुसीलाल चौधरी त मरेछन् नि
आजै, भर्खरै मात्र !
तपाईंलाई थाहा छ कि छैन
उसको दुःखका जीवनगाथा
सुन्नुस् न, मास्टर बाबु !
औलो उन्मूलन हुनुभन्दा धेरै नै अघि
यस औल भूमिमा
खोरिया ढाल्–फाँड् गरी
यो सुन्दर समाज बसाल्ने
आफू मात्रले जीवन जिएर हुन्न भनी
माथि पहाडतिरबाट
पहाडेहरूलाई मधेस डाकी
आफ्नै केही जग्गा दिई
हाम्रो यो सुन्दर सहरका जन्मदाता
पूर्व भूमिपति
एक्ला कोलम्बस उनी !
दानी स्वभाव तर अनपढ जिन्दगी
अनि विधिको रीतिले गर्दा
चौधराइनको अकालमै स्वर्गेबास् भए पछी
न बालबच्चा, न त लोभ लालच
उनका विघौं-विघा जग्गा
कति स्कुललाई त, बाडे कैयौं गरिबलाई
धेरै जमिन चाहिँ खाइदिए सामन्तीहरूले
हेर्नुस् त मास्टर बाबु
त्यस्ता दधिचिको उत्तरार्ध
अनि यस्तो कारूणिक मरण।
ऊ बेलाका पराक्रमी सेठ खुसीलाल
जस्तो नाम, ठ्याक्कै विपरीत जीवन
उनी रुग्ण थिए– कहिल्यै प्रतिवाद गरेनन्
उनी जीर्ण थिए– कहिल्यै माथि उठ्न सकेनन्
उनी कङ्गाल थिए– कहिल्यै दुई छाक खाएनन्
उनी अवाक् थिए – कहिल्यै विरोधमा बोलेनन्
बरू, हरेक दिन सडक पेटीमा बस्थे
आशा पोख्थे
र, साँझ परेपछि
सकी–नसकी आफ्नो झुपडी फर्कन्थे
आफ्नै कर्मलाई धिक्कार्दै !
कहिले काहीँ ‘ताडी’ र ‘लोकल रक्सी’ खाई
'यी हमार मौजा छिये...'
बडा काजी र धनप्रसाद जिम्वल खलकको
सारा जमिन देखाउँदै कराउँथे
यो सबै जमिन मेरै हो
केही कागजको टुक्रोमा ल्याप्चे थिचाइ
मलाई धोका दियो र जिमिन लग्यो,
कहिलेकाहीँ बर्बराउँथे उनी
हो, त नि मास्टर बाबु
ऊ सोझो थियो– उसलाई धेरैले हेपे
ऊ निरक्षर थियो– उसलाई कैयौंले ठगे
ऊ निराधार थियो– धेरैले लुटे
देख्ने– सुन्नेहरू भन्थे
जीवनमा ऊ धेरै रोएको छ
धेरै पिल्सिएको छ
त्यसैले ऊ हरेक रात खटियामा पल्टिएर
ऊ आकाश हेर्थ्यो र चिच्याउथ्यो
'हे भगवान !
कि त जल्दी मार् हम् नि के
नही तो के निया–निसाफ् कर्...!'
थाहा छ मास्टर बाबु,
पहिला हाम्रा काजी-जिम्मल खलकहरू कङ्गाल थिए रे
पछि उनीहरूले जग्गा हडपेपछि
दुई छाक खान समस्या भई
आफ्नौ खेतमा मजदूरी गर्यो रे
जब ऊ बलियो थियो
धेरैले उनलाई ‘काका’ भनेर धान कटाए
कैयौंले उनलाई ‘दाजु’ भनेर बारी खनाए
उसले भारी बोक्यो
हलो जोत्यो
कोदालो खन्यो
र, धेरै-धेरै पसिना बगायो अरूका लागि
तर जब ऊ थला पर्यो
सबै तर्किए
सबै झर्किए
र, एक्लै नितान्त
सकि-नसकी रोगसँग एक्लै लडिरह्यो ऊ !
तर आज...
उफ् ! कसरी भनौं...
पूर्ण साक्षर भनाउँदो देशमा निराधारको घाँटी रेटिएको कथा
अनि शिक्षित कहलिँदो समाजमा
अशिक्षितको हत्याको व्यथा
कति कहाली लाग्दो परिस्थिति
कस्तो विभत्समयी ताण्डव
आज फेरि दुखेको छ यो मन खुसीलालको कथामा !
म सोचमग्न छु मास्टर बाबु
भित्री मन दुखिरहेको छ
तर बोल्न सक्दिनँ
किनकि
मलाई पनि ह्विप छ यो खुरापाती समाजको
वाक् स्वतन्त्रतामा।
एक पटक फेरि सोचमग्न हुँदै मेरो देशको अवस्था प्रति
सुनाउँदैछु तपाईंलाई विद्यमान यो यथास्थिति..
खुसीलालको यो मरण
मेरो भाषामा त यो जघन्य अप्रत्यक्ष हत्या हो
हेर्नुस् त मास्टर बाबु
खुसीलाल चौधरीलाई त मारी छाडे
यो पापी समाजले'
भन्दै थिए, छिमेकी बुधन चौधरी !