पूर्वमा कञ्चनजंघाको शिर
पश्चिममा चैनपुर र खाँदबारी
उत्तरमा तिन्जुरे, मिल्के, जलजले
गुराँसको राजधानी
आहा!
गुफा पोखरीमा छाया पार्दै
उभिएको छ लिम्बुवान भूमिमा
ऐतिहासिक कथा बोकेर म्येन्छ्यायेम डाँडा।
शिरमा तुसारो र हिउँले कठ्याङ्ग्रिँदा
राज्यसँग न्यानोका नाउँमा
माग्दैन ऊ एउटा फेटासम्म
बर्खामा बादलको घुम्टो ओढेर
पहराका कापबाट बगाउँछ झरना
कहिले पारि कुम्भकर्णसँग आँखा जुधाउँदै
डाक्छ हाक्पारे र पालाम गाउन
गाउँमा तीनपाने खाएर हुर्केकासँग
लगनगाँठो कस्न धावा बोल्छ म्येन्छ्यायेम
आफ्नै काखबाट वसन्तको
विश्व फुलाउँछ पहिचानको
कस्तुरीलाई सुगन्ध छर्न सिकाउँदै
पारिपट्टि चैनपुर र खाँदबारीलाई
बोलाउँछ हिउँ खेल्न
काँधमा राष्ट्रियता फुलाएर
निमन्त्रण गर्छ देशलाई
सुन्दरताको प्राकृतिक दृश्य हेर्न
आँगनमा चौँरी, भेडा र खच्चडलाई परेड खेलाएर
यात्रा गराउँछ वसन्तपुरदेखि ताप्लेजुङसम्म।
थालेका हुन् यहीँबाट
किँरात मेन्छ्याहरूले वर रोज्न
देखाउन पाए ढुङ्गाको छेलो हानेर
युवकहरूले साहस र बहादुरी
शिरमा यार्सा उमारेर
नाभीमा सानो गुफा बजार
सेर्गम र चम्बाको स्वाद चखाएर
मख्ख पार्छ अतिथिलाई
धापमा चौरी खर्क पसारेर
आफू हुनु र नहुनुको
प्राचीनता गुमाउँदै उस्तै उत्रै
बसिरहेछ गजधुम्म म्येन्छ्यायेम
त्रिकोणात्मक सम्बन्ध कायम राखी
एकाबिहानै जन्मिन लागेको सूर्योदयदेखि
सूर्यास्तसम्म पनि।
दिएन कहिल्यै थकान लाग्न आगन्तुकहरुलाई
राम्रोसँग हिउँद लाग्न नपाई
हिउँ तुसाराको परबाहै नगरी
बोलाउँछ आकर्षण
छातीमा रातै गुराँस र सुनाखरी फुलाएर
बोलाउँछ वसन्त बहार
बादलको मजेत्रोले साउन ढाकेर
शिशिर याममा ठण्डा गुथेर पनि
बोलाएन कहिल्यै उराठ उसले।
सट्टामा-
यात्रुहरुलाई आफ्नै काखमा ओराल्दै
दिन्छ बरू थकाई मार्ने चौतारी
मकालुले चिसो पङ्खा फुकिदिएर
हुन दिन्न कहिल्यै ऐय्या
अझै पनि सम्भावनाका अनेक सपना बोकी
मौलिक पहिचानको इतिहासमा
आफू हुनु र नहुनुको दोसाँधमा बाँचिरहेछ
हाँसिरहेछ म्येन्छयायेम डाँडा।
कतिसम्म भने-
सिरेटोमा अत्तर छाडेर
डाँफे नचाउँछ ऊ
धूपी र ठिङ्ग्रे सल्लाझैँ
पारुहाङको कैलाश बनेर
चुलिइरहेछ म्येन्छ्यायेम।
चुल्ठोमा राष्ट्रियताको शिरबन्दी सजाएर
कोइलीको भाका सुनाउँछ ऊ
हरित पहाडको पाली लाएर
चोयु र स्यार्पु चियाउँछ ऊ
काखैमा खुम्बु र नाङ्पा पसारेर
डुलाउँछ चौँरी खर्क
आफैँ तेङ्बोचे ठड्याएर
बोलाउँछ सत्यमार्गीहरूलाई तपस्यामा
ठामेमा पोथ्य्रान धूपीको धूप सल्काई
दुम्जी लाएर मन्साउँछ
लेक लागेकाहरूलाई
पखेरीमा खस्रु उमारेर
बचाउँछ धापका भैँसी गोठ
कोर्दै भोजपत्रमा प्राकृतिक छटाको आवरण
र उतार्छ देश तालिसपत्रमा
छुर्पी र हिमाली सुपको स्वाद चखाउन
सङ्केत गर्छन् हिमकुखुरा।
घाम डुब्नु अगावै बास बस भन्दै
रोक्छन् बटुवालाई लालचुच्चेले।
अझै पनि इतिहासका अनेक सपना बोकी
मौलिक पहिचान फर्काइको झिनो आशामा
हाँसिरहेछ/बाँचिरहेछ म्येन्छ्यायेम डाँडा।