तिमीलाई लागेको होला,
म पुरुष मायाले होइन भोकले चल्छु,
जहाँ पनि स्खलित भइदिन सक्छु,
बाध्यताकै नाममा,
नचाहेरै कसैको अँगालोमा पसिदिन सक्छु।
तर, म कसरी सम्झाउँ तिमीलाई
खै कसरी बुझाउँ तिमीलाई
तिमीले देखेको म, म हुँदै होइन
त्यो म, मसँग छैन म त वर्षौंदेखि
‘म’ बिनाको रित्तो बाँचिरहेछु।
सामाजिक सञ्जालमा देखिने
मेरा केही सुन्दर र शालीन तस्बिरहरूमा
ओठको निर्दोष हाँसो र
त्यसमा प्रतिबिम्बित ‘मौनतामा’
बर्थ डे र एनिभर्सरीका उत्सवमा
छैन, म कतै छैन,
वास्तवमै म कहीँकतै र केहीमा पनि छैन।
त्यहाँ मेरो समाज मुस्कुराइरहेको छ,
आफन्तहरू रमाइरहेका छन्,
म त केवल आदर्शको खोल ओडेर
खुसी भएको अभिनयमा
म बिना नै वर्षौंदेखि
बाँचेको नाटक गर्दैछु।
न त उड्न नै सक्छु, सबै जन्जिर तोडेर
या त बस्न नै सक्छु, चैनले
यो तनमनलाई साँच्ची नै जोडेर
तै पनि म सहन विवश छु
किनकि म भित्रभित्रै रित्तिएर पनि
बाहिर भरिपूर्ण देखिनुपर्ने बिम्ब हुँ।
म पुरुष तर मेरो पहिचान छैन,
किनकि म जस्तै हेर्दा मानव देखिने
दानवहरुले छिनेर लगे,
संरक्षक बनेर संरक्षण गर्न सकेनन्
तर पहिचान गुमाउन विवश गराए,
त्यसैले, म आफ्नो पहिचान गुमाएको
आधुनिक युगको पराधीन पुरुष हुँ।
(नोटः अभिनेत्री केकी अधिकारीको कविता 'ए पुरुष' को प्रतिउत्तर)