शून्यबाट सुरु जीवन
शून्यमा नै अन्त्य हुन्छ भने
अरु अंकको काम के?
पलपल हिसाबकिताबको के अर्थ?
रातोदिन लेखाजोखा किन?
जबकि,
शून्यदेखि शून्यसम्मका गणित
शून्य नै हुन्छ
अनि
जीवन कसरी अकंगणित हुन्छ?
एउटा जीवनले अर्को जीवन
एउटा जीवले अर्को जीव
कहिले प्रतिनिधित्व गर्दैन
जब
रामलाई हरि मान्नुको अर्थ छैन
न कुनै फर्मुला लाग्छ
न कहिले समीकरण मिल्छ
जे गर्दा पनि कहिले उत्तर आउँदैन
अनि
जीवन कसरी बिजगणित हुन्छ?
जीवन त शून्यजस्तै आकारको
ज्यामितिय वृत पो रहेछ,
कसैको सानो
कसैको मझौला
कसैको ठूलो।
वृत्तको घेरामा ठोकिनु संघर्ष
मध्यविन्दु र छेउछाउ सुरक्षित
परिधि बढाउनु सफलता
परिधि खुम्च्याउनु असफलता
स्पर्शरेखा भाग्य होला
प्रतिछेदन, तृज्या, चाप, छेदक
त्यस्तै-त्यस्तै
अनि,
त्यही वृत्तमा
घुम्नु घुमाउनु
रम्नु रमाउनु
कहिले मच्चिएर, कहिले मच्चाएर
कहिले सुस्तिएर, कहिले सुस्ताएर
कहिले ठडिएर, कहिले कुप्रिएर
कहिले थच्चिएर, कहिले थचारेर
यहि जीवन यात्रा रहेछ।
आखिर
जीवन 'ज्यामितिय वृत' रहेछ।