सुन्न बिनु,
रहेनन् कोही मनको कुरा
भन्ने र सुन्ने
नानीहरू मोबाइलमा व्यस्त
श्रीमान कर्म र ल्यापटपमा
मलाई चैं फोटो नआउने त्यो सानो
मोबाइल दिएका छन्
कोसँग कुरा गर्नु मनको?
दुई चार दिन बस्दै आइज न बिनु!
सुन्न, सानामा एक दिन
तैँले र मैले
केटाको लुगा लगाएर
आमालाई तर्साएको याद छ?
दाउरा लिन जाँदा जङ्गलमा
बिमिरो टिपेर खाएको याद छ?
खोलामा पौडी खेल्दा
तामाङ बा ले लौरो लिएर
खेदेको याद छ?
साह्रै सताउँछ पुराना यादहरूले
दुई चार दिन बस्दै आइज न बिनु!
दाजु - भाइ भएनन् भनेर
हामी रोएको याद छ?
कसरी बित्यो दिनहरू यति चाँडै
वर पिपलको छाँयामा बसेर
कति कुरा गर्थ्यौ
यौवन् र प्रेमको
जीवन र जीवन साथीको!
दुई चार दिन बस्दै आइज न बिनु!
सुन्न बिनु! छोरीले अस्ति खुसुकै भनि
बाबु सुटुक्कै कोही केटीसँग
व्हाट्सएपमा च्याट गर्नु हुन्छ रे!
छक्क पर्नु, हो या होइन?
सल्किन बेर छैन बुढा मान्छे!
लाग्यो बाबु छोरीको निकै
म केही बोलिनँ, बोलिसक्नु छैन,
कसलाई भन्नु मनको कुरा
दुई चार दिन बस्दै आइज न बिनु!
सुन्न, म ल्यापटप, मोबाइल
राम्ररी चलाउननै जान्दिनँ
फेरि लक गरेको हुन्छ
हाम्रै जमाना ठिक थियो
चिठी पठायो, रेडियो सुन्यो
एकादशी र औंसीमा
मन्दिरमा किर्तन गर्यो
हाँस्यो, खेल्यो, खुब रमायो,
दुई चार दिन बस्दै आइज न बिनु!
बाबु आमाको यादले साह्रै सताउँछ
फोटो हेर्नबाहेक केही रहेन अब
गाउँ घर, गोठ गोठाले, दुध कुराउनी
सबै सपना हुन गए
केटाकेटीहरू जन्मथलो जाउँ भन्दा
टावर नआउने ठाउँ
को जान्छ त्यहाँ भन्छन्
सताउँछ यादले साह्रै
दुई चार दिन बस्दै आइज न बिनु!
पुरूषोत्तम उपाध्याय
गुवाहाटी, आसाम, भारत