आफ्नै देशको बरखी बारेर
मौनधारण गरिरहेजस्ता हिमालहरु
राहदानी भिरेर
उडानको पर्खाइमा रहेजस्ता नदीहरु
आत्महत्या गर्न
हामफालीरहे जस्ता झरनाहरु
अनि गुराँस कुम्लो पारेर
बसाइ सर्न लागेजस्ता पहाडहरु देखेर
म सोधिरहेछु आमालाई
आमा म नेपाली हुँ कि होइन?
सोधिरहेछु,
कहाँ छ आमा सुस्ता र लिपुलेकको लालपुर्जा?
किन हडपिरहेछन् हाम्रो भूमि?
कहाँ राखेकी छ्यौ आमा बुद्धको जन्मदर्ता?
अनि कहाँ छ सगरमाथाको चिनाटिपन?
के साँच्चै मेरो देशको पुर्जा हराएकै हो आमा?
कि ऐलानी हो आमा मेरो देश?
सोधिरहेछु,
आफै काल पर्खिरहेको मधेसले
कसरी मेट्ला कर्णालीको अनिकाल?
अनि कसरी मेट्ला
भरिया र ढाक्रेहरुको प्यास
आफै लिलाम भएको अरुणले?
बिन्ती आमा
महिनावारी सुकेको छैन भने
टिष्टा र काँगडासँग संसर्ग गरेर
जन्माइदेऊ न दुई/चार अमरसिंहरु
मैले पशुपती भाकेको छु
जन्माइदेऊ न एउटा बुद्ध
मैले हलेसी भाकेको छु
अनि जन्माइदेऊ भृकुटी र अरनिकोहरु।
छिट्टै पोत्नुछ आमा
सेताम्मे हिमालहरुको क्यानभासमा
रक्ताम्मे गुराँसहरूले स्वाभिमानको रंग
देशको रंग, विजयको रंग।
आमा,
अब चुपचाप, शान्त बग्ने छैन कोशी
टोलाएर उभिरहने छैन कन्चनजङ्घा
बरु रातै हुनेछ सगरमाथा
रातै बग्नेछ दूधकोशी
लडाकु हुनेछन् बुद्ध
तर आत्मसमर्पण गर्नेछैन देश
बरु सहिद हुनेछ ब्रह्माण्डको।
मलाई यत्ति भनिदेऊ आमा
कहाँ छ बलभद्रहरुले राख्न दिएको
यो देशको पुर्जा?
वीर पुर्खाहरुले दर्ता गराएको
गोर्खाली इतिहास?
छिट्टै नवीकरण गर्नुछ आमा
भन्देऊ
कहाँ छ मेरो देशको पुर्जा?