रोएँ म आज धेरै
आँसु कतै रोकिएन
कुनै ठूलो कुरो होइन
अरुको लागि
मात्र तिम्रो तस्बिर न कोर्दै थिएँ
त्यो बेला
तप्प एक थोपा मसी चुहियो
तिम्रो त्यो मिठो मुस्कान सहितको
कोर्दै गरेको तस्बिरमा
मेरो मेहनतभन्दा पनि
कल्पनाको संसारमा
एक्कासी कालो मैलो
मुसल्धारे पानी सहित भेलबाढीले
मेरो सुन्दर सपनाको महल
एकाएक बगरमा परिणत हुँदा
मुर्छित हुनबाट धन्न जोगिएँ
त्यो बेला
र फेरि उही अपुरो तिम्रो तस्बिर
मायाले सुम्सुम्याउँदै के थिएँ
तिनै मायालु हातले
बन्दै गरेको आकर्षक तस्बिरलाई
बद्सूरत बनाइदियो
र त्यो मुलायम हातहरु
रंगिन बन्दै
सानदार तरिकाले
कोर्दै गरेको तस्बिर भित्रको मुस्कानलाई
नदेखिने गरी
बेहोसीमै
आँसु र मासिको मिश्रणले
चित्रकार झैँ
तिम्रो मुहार छोपिरहेको थियो
हराएँ कतै टाढा
एक्लिएर साथै हुँदा पनि
त्यही मुहार देख्न नपाएर
अनि फेरि धेरै रोएँ
आँसु थोपा अझै त्यही पर्ने गरी
रङका बट्टाहरु घोप्टिने गरी
सपनाहरु छताछुल्ल हुने गरी
बेहोसीले होला
बिर्सिएछु
हटाउन तिम्रो मुस्कान दिलबाट
र त कोर्दै गरेको तस्बिर
अधुरो रह्यो
तर त्यही मुस्कान
यी नयनमा नाच्दै
हृदयमा बास बसिरहेको छ
सौन्दर्यले भरिपूर्ण भएर
कोर्दा कोर्दै नसकिएको
रेखाचित्र भित्र ।