कविता
बालुवाको थुप्रोमा
हावाले लात हान्दा
मरुभूमिमा काम गर्दै गरेको
मजदुरको पसिनामा लागेर
झरेको पैसाको थोपाबाट
सलल तिम्रो लागि चिल्ला
कारहरू रोडमा दौडिँदा रहँदा
परिवर्तनको आशा छ मलाई!
बादल निष्ठुरी भएर
सूर्यले सहन नसकी
छोडेका ती ज्वालाहरू
भर्र्भरी मजदुरको
पसिना निस्किएको
शरीरमा पर्दा
पसिना र गर्मीको रापबाट
पेलिएर निस्किएका
धन पुञ्जबाट
तिम्रो लागि ठूला - ठूला
महल बन्दै गर्दा
परिवर्तनको आशा छ मलाई!
सेफ्टी सुज र सेफ्टी हेलमेटले
थिचिएर निस्सासिँदै
टाउको र खुट्टाहरूबाट
निस्किएका ठेउलाका
धन लिएर
तिम्रा सन्ततिहरू युरोपमा
गोरी सँग रमाउँदै पढ्दै गर्दा
परिवर्तनको आशा छ मलाई!
बासी भातको पोकामा
गर्मीको मिश्रण हुँदा
ठुस्स गनाउन थालेको
भात र तरकारीको
शक्तिबाट निस्किएको
धनरासी
फाइभस्टार र रिसोर्टमा
निर्धक्क सँग
मिष्ठान्न र मिटिङमा उडाउँदा पनि
परिवर्तनको आशा छ मलाई!