गड्याङ् गुडुङ् गरेर घनघोर वर्षा होला जस्तो थियो। अक्षयले आकाशतिर हेर्यो, कालो-कालो बादल माथि माथि सर्दै थियो। चारैतिर अन्धकार ढाकिएको जस्तो।
घरी घरी जोडले बहने हावाको झोक्काले उसैलाई उडाउला जस्तो गर्दथ्यो। त्यतिबेला अहिलेको जस्तो सबैको हात-हातमा सेलफोन हुँदैन थियो। बाटो बाटोमा पैसा झारेर गर्नु पर्ने फोन झुन्डाएको हुन्थ्यो।
'हेलो स्टिभ, इज द कार वाश ओपन्ड टुडे?' अक्षयको सोधाइले प्रष्ट हुन्थ्यो कि ऊ कार धुने कम्पनीको मालिकसँग कुरो गर्दैछ।
'नो एलेक्स, इट विल रेन टुडे, सो विइ आर क्लोज्ड।' स्टिभले 'अक्षय' शब्द उच्चारण गर्न नसकेर सजिलोको लागि एलेक्स भन्ने नामले बोलाउथ्यो।
सबैलाई लागेको होला अक्षय आफ्नो कार धुलाउनलाई कार धुने कम्पनीलाई सोध्दै थियो तर हैन, ऊ नै त्यहाँ कार धुने काम गर्दथ्यो। विदेशमा पढ्न पनि सजिलो कहाँ हुन्छ र! कलेजको फी आकाश छुने हुन्छ।
जुनसुकै क्षेत्रमा पनि व्यापार भएपछि शिक्षाको क्षेत्रमा पनि अचाक्ली व्यापार छ। पढ्नु पर्ने त छँदै छ त्यसमाथि फी तिर्न हाड घोटेर काम गर्नुपर्छ। कामको सिलसिलामा कति नेपाली विद्यार्थीले त लुटेराको गोलीले ज्यान समेत गुमाउनु परेको छ।
अनि कार वाश बन्द भएपछि उसले आजको कमाइ पनि गुमाउनु पर्यो। घाम लागेन, पानी पर्यो वा चिसो भयो कि कार वाश बन्द हुन्छ। अनि कार वाशमा काम गर्नेहरूको पनि गाँसै छिनिन्छ।
लिभिङ रूमको सोफामा पल्टेर उसले के-के सोचिरह्यो। ऊ विदेश आएदेखि सधैँ सोफामै सुतेको छ। पाँच जना मिलेर दुई बेडरूम अपार्टमेन्ट शेयर गरेपछि उसको भागमा परेको लिभिङ रूममा रहेको सोफामा ऊ सुतेको पनि वर्षौँ वर्ष भइसक्यो।
नेपालको घरमा जस्तो काठको खाटमा सुतेको कहिले काहीँ याद नआउने पनि होइन। चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी भनेजस्तै के-के न होला भनेर मानिस विदेश हानिन्छन्, पछि यस्तो परिबन्दमा पर्छन् कि सोच्दै नसोचेको परिवेशमा पनि रमाए झैँ गर्नुपर्छ। तर उसले त आफूलाई सोफामै बानी पारिसकेको थियो। अनि त्यसबेला सोफामै आफूलाई सजिलो पार्न ओल्टेकोल्टे फर्किदै अब के गर्ने भनेर सोच्दा सोच्दै उसको मन अतीत तिर रूमल्लिन थाल्यो।
सुरूमा उसले एउटा पिज्जा कम्पनीबाट काम सुरू गरेको थियो। नेपालमा बुवा-आमाले पुल्पुलाएर राखेको छोरो सिन्कोसम्म भाँचेको थिएन। एकैचोटि पिज्जा पकाउन परेपछि, पञ्जा लगाउँदा लगाउँदै पनि नजानेर दुवै हातका कुहिनासम्म ठाउँ ठाउँमै पोलेर घाउ नै घाउ भएको थियो।
कमाएर पढनु पर्ने, खानु पर्ने, डेराभाडा तिर्नुपर्ने। भनौँ न गाँस, बास र कपास सबैको जोहो गर्नुपर्ने। अझ त्यसमाथि बिरामी हुँदा औषधि, कार, तेल, बिजुली, पानी, ग्याँस, इन्सुरेन्स आदि इत्यादी विविध विकसित देशको अतिआवश्यक खर्च जुटाउन कहाँ सजिलो छ र! रातदिन घोटिएर काम गर्नुपर्छ।
नेपालमा चोक चोकमा गफ लगाएर हल्लिएको सबै-सबै विदेशमा खटिएर पसिना पुछ्दा झलझली याद हुन्छ। कुहिनोमा घाउ भएर घरी घरी दु:ख्दा, उसलाई अलिकति बिरामी हुँदा पनि आमाले 'मेरो बाबु' भनेर मलमपट्टी गरिदिनु भएको याद आउथ्यो। तर विदेशमा न आमा न बुवा। आफ्नो दु:ख आफैसँग। आफै रोयो आफैले फकायो।
हातमा घाउ भएपछि उसलाई काम गर्न धेरै नै अप्ठ्यारो भयो। साहुलाई काम छिटो छिटो चाहिने। एकदिन त साहुले नयाँ केटो लिएर आयो। अनि उसलाई त्यो केटोलाई काम सिकाउनु भन्यो। उसले त्यो नयाँ केटोलाई दत्तचित्त भएर काम सिकायो।
केटो जान्ने भएको भोलिपल्ट त अक्षयलाई साहुले 'एलेक्स, तिम्रो हातमा पनि घाउ भयो, काम पनि छिटो भएन अब घरमै आराम गर' भनेर निकालि पो दियो। अब विदेशमा त्यो साहुलाई उसको के माया। उसलाई परेको दु:ख मर्का साहुलाई के मतलब। साह्रै स्वार्थी हुन्छन् विदेशका साहु र साहुनीहरु।
सगरमाथाको देश, सधैँ हिउँ पग्लेर समुद्रतिरै बगिरहने। त्यस्तै नचाहँदा नचाहँदै पनि नेपालीहरुले विदेशतिरै बगिरहनु पर्ने। बेटुङ्गे पानी जस्तै। केही होला कि, केही सुख पाइएला कि भनि। जसले जहाँ भेट्यो उही गइरहेका। आफ्नो औकात आफ्नो पुँजीअनुसार। कति त यस्तो देशमा जानु परेको छ कि बाकसमै फर्कनु परेको छ। यस्तो घटना सुन्दा कमलो मनहरुको त आँखा नै भिज्छ।
अक्षयले चाहँदा चाहँदै पनि कलेजको फीको जोहो गर्न सकेन। ऊ जस्तै उसले चिनेजानेका कतिपय साथीहरूको पनि त्यही हकिकत भएको थियो। पिउने पानीको त कुरो परै जावोस् सास फेर्ने हावा पनि पैसाले किन्नुपर्ने जमानामा कलेजको फी तिर्न नसकेपछि कलेजले अक्षयलाई पढ्ने अवसरबाट बंचित गरिसकेको थियो। कार वाशले पनि निकालिदियो भने त उसको हातमुख नै जोडिँदैन। उसलाई अब नेपाल फर्केर जाउँ जाउँ लाग्न थालिसकेको थियो।
'मान्छे अमेरिका जान मरिहत्ते गर्छन्, तँ फर्केर आएको!' भनि सबैले खिल्ली उडाए भने के भन्नु भन्ने पनि नलागेको होइन। अमेरिकै बसिरहन उसले बिना उद्देश्य, बिना खुसी के गरेर बस्नु? त्यसैले उसले अब नेपाल नै फर्किएर जाने अठोट गर्यो।
नेपाल फर्किएर जान पनि सजिलो थिएन। प्लेनको टिकट धेरै महँगो। उसले सोचेको थियो उसको कार बेचेको पैसामा अलिअलि बचेको पैसाले टिकटको जोहो गर्ने भनेर। उसको कार पनि पुरानो मोडेलको थियो। सेकेण्ड ह्याण्डमा किनेको। उसलाई थाहा छैन उसले किन्नुभन्दा अगाडि कति ह्याण्ड भइसकेको थियो।
उसको कार उसले बेच्न राख्यो। तर दुईसय डलरभन्दा बेसी कसैले हाल्न तयार भएनन्। कसै-कसैले त 'यस्तो थोत्रो कार के बेच्नु? डोनेट गर' भनेर पो सल्लाह दिन्थे। अनि त उसलाई नेपाल जाने टिकट किन्न पनि पैसाले नपुग्ने भयो। त्यसपछि उसको आफ्नो प्यारो देश फर्केर जाने सपना पनि चकनाचुर भयो।
भोलिपल्ट ऊ सधैँ झैँ कार वाश काम गर्न गयो। त्यो दिन मज्जाले घाम लागेको थियो। एउटा, दुइटा गरेर ऊ लगातार दत्तचित्त भएर कार पुछ्दै थियो। ऊ जस्तै कार पुछ्ने अरू चार जना थिए। सुरूमा कार ल्याएर रोक्ने चार वटा लाइन थियो। माथि बोर्डमा धुलाई गर्ने किसिम र गुणस्तर बमोजिम कार धुने भाउ नम्बर दिएर लेखिएको थियो।
चार जनाले कारलाई कुन नम्बरको भाउले धुने भनि अर्डर लिन्थे। अनि चार जनाले कारको धुलो हटाउन भ्याकुम गर्थे। त्यसपछि कारहरूलाई एकदम जोडको पानीको साना-साना थुप्रै फोहोरा र साबुनको फिँज भएको सुरूङ् जस्तो मेशिनको कोठा भित्र पसाउँथे। त्यहाँ केहीबेर धोएपछि बाहिर निस्कनासाथ चार जनाले हाँकेर पुछ्नको लागि पुछ्ने स्थानमा पुर्याइदिन्थे। त्यसपछि अक्षयले लाइनबाट उसको स्थानमा आएको कार पुछ्नु पर्थ्यो।
काम गरेर खान पनि कहाँ सजिलो हुन्छ र! उसका दुवै हात र पाखुरा फतक्क गल्थे। घामले पोलेर थाकेर सम्पूर्ण शरीरमा खलखली पसिना आउँथ्यो। टाउकोबाट बगेको पसिना घरी घरी हातले पुछ्थ्यो। त्यसरी पुछ्दा कार पुछ्ने टालोमा लागेको केमिकल र धुलो फोहोरको कालो मैलो पनि मुखमा लाग्थ्यो।
जे भए पनि पापी पेटको लागि उसले मेहनत गरेर एकपछि अर्को कार पुछेको पुछै गर्नु पर्थ्यो। एकदिन हैन दुई दिन हैन, हरेक दिन उसको जिउले घोटिनै पर्थ्यो। उसलाई 'मेरो बाबु तँलाई दु:ख भयो' भनेर भन्ने त्याहाँ कोही थिएन।
ऊ यत्रो ठूलो देशमा जिन्दगी बनाउन आएको तर काम गरून्जेल उसको जिन्दगी बारे सोच्ने पनि उसलाई फुर्सद हुँदैन थियो। काम सकिएपछि छिटो सस्तोमस्तो फाष्टफूड यसो किनेर कुप्लुक्क खान्थ्यो, डेरा पुगेर सोफामा ढल्कनासाथ घुप्लुक्क निदाउथ्यो। अनि त जिन्दगीको बारे त सपनामा देखे मात्र।
अब त्यो दिन पुछनु पर्ने त्यो दिनको अन्तिम कार थियो। पहिलो कार होस् कि अन्तिम कार अक्षय उत्तिकै लगनका साथ टिलिक्क सफा पारेर कार पुछ्थ्यो। तर त्यो कार उसलाई किन-किन आफ्नै मान्छेको जस्तो लाग्न थाल्यो। जति पुछ्दै गयो बाहिर, जति पुछ्दै गयो भित्र उसलाई त्यो कारसँग आत्मियता गाँसिए झैँ लाग्यो।
उसले त्यो कारमा अरू कारभन्दा विशेष ममता पाए झैँ अनुभव गर्यो। एकछिन त त्यो ममतामयी वातावरणमा हराएर अलि धेरै नै बेरसम्म सफा गरेको गर्यै गरेथ्यो। अनि त्यो कारलाई मायाले सबैतिर सुम्सुमाएर कारको मालिक बोलाउन हर्न बजायो र टालो समातेको हात हल्लायो।
त्यो कारको मालिक आयो। आँखामा कालो चश्मा र टाउकोको ह्याटले अनुहार केही ढाकिएको थियो। जिन्स-पाइन्ट र आकाशे निलो टिसर्ट लगाएको फुर्तिलो देखिन्थ्यो। उमेर पनि भर्खरको जस्तो खाइलाग्दो देखिन्थ्यो। उसको अनुहारमा एक प्रकारको स्नेहको तेजिलो आभा देखिन्थ्यो।
अक्षयलाई किन हो किन त्यो जवान व्यक्ति आफ्नै कोही होकि जस्तो लाग्यो। अक्षयले कारको साँचो उसलाई हातमा दियो। त्यो व्यक्तिले 'थ्याङ्क यू' भनेर एउटा सेतो बन्द खाम उसलाई बक्सिस दियो र अत्यन्त प्रशन्न मुद्रामा कार हाँकेर 'बाई' भनेर बाटैबाटो हुँइकियो।
अक्षयले 'बाई' भनेर प्रतिउत्तरमा हात पुछ्ने टालो समातेको हात हल्लाउँदै अर्को हातले बन्द खामलाई च्याप्प समातेर त्यो अन्तिम कार ओझेल नहुन्जेलसम्म हेरिरह्यो।
त्यसपछि अक्षयले आफ्नो हातको सेतो खाम हेर्यो। उसलाई साह्रै अचम्म लाग्यो। अहिलेसम्म उसलाई कसैले थोरै त कसैले अलिक धेरै बक्सिस दिन्थे। तर जसले दिए पनि खुला पैसा बक्सिस दिन्थे। तर भर्खर जानेले उसलाई बन्द खाम दिएको थियो।
ढिलो भइसकेको हुनाले खाम गोजीमा हालेर आफ्नो डेरातिर लाग्यो। सधैँ झैँ सोफामा पल्टेर बन्द खाम खोल्यो। बन्द खाम भित्र त चिठी पो लेखिएको थियो। उसले हतारिँदै पढ्न थाल्यो।
'अक्षय,
तिमीले हिजो जुन कार धोयौ, त्यो नै तिम्रो अन्तिम कार हो। अब तिम्रो इच्छा बमोजिम तिमी खुसीसाथ नेपाल जाऊ। यो पत्रसाथ तिमीलाई मैले नेपाल जान टिकट किन्ने पैसा र बाटो खर्च पनि संलग्न गरेको छु।
तिम्रो हितैषी।'
अक्षय प्लेनमा उडेर आफ्नो प्यारो देश नेपाल जाँदै छ। उसको मनमा धेरै खुल्दुली भइ नै रहेको छ। आखिर त्यो अन्तिम कारमा आउने व्यक्ति को हो? हुन त पक्कै पनि उसको कोही आफन्त हुनुपर्छ। या त कोही दयालु व्यक्ति हुनुपर्छ। या उसलाई माया गर्ने कोही हुनुपर्छ। तर को होला? उसलाई यतिधेरै माया माया गर्ने। उसको मनको इच्छा बुझिदिने। उसको त्यत्रो ठूलो समस्याको समाधान गरिदिने।
उसले कार पुछेका आफ्ना दुवै हत्केला हेर्यो। आफ्नो हातको कुहिनासम्म हेर्यो। घामले डढेर कालो भएको थियो। कार पुछ्ने केमिकल र कारको धुँवा धुलोले दुवै हातका छाला पट्पट् फुटेका थिए। ठाउँ ठाउँमा त छाला चिरिएर घाउ नै घाउ भएको थियो। त्यो अन्तिम कारलाई झल्झली सम्झियो। ऊ भावनामा यसरी बग्यो कि उसका दुवै आँखा रसाए।
साँच्चै! त्यही नै मेरो अन्तिम कार भयो। अक्षयले सुस्केरा हाल्दै प्लेनको झ्यालको ऐनाबाट बाहिर सेता-काला उडिरहेका बादलका थुम्काहरू एकनासले हेरिरह्यो।