प्रिया,
नभन रोएर तिमी वैशाखीलाई वैशाखी नै हो सहारा
बहन सक्छ फूल यहाँ, टेकेर बतासको पाइला
हजार रंग फुले पनि सृष्टिमा, प्रेमको एकै रंग
एउटा यस्तो यात्रा गरौँ प्रियसी, के सपाङ्ग, के अपाङ्ग
प्रिया,
म यात्रा गर्छु, तिमी ममा अडेस लेऊ
म ओझेल हुन्छु, तिमी पनि ओझेल होऊ
प्रीतमा नयाँ रित थाली, हामी यात्रा गरौँ
जे-जति छ हामी बीचमा, आधा आधा गरौँ
प्रिया,
फूल र काँडाले सुखमै एउटा जिन्दगी बितायो
हिलोकै छातीमा बसेर यहाँ कमल मुस्कुरायो
प्रेमको टीका लाग्दा हरेक चिज यहाँ श्रृंगार भो
कमलले प्रीति निभाई, हिलो पनि गंगाजल भो
प्रिया,
काँडाकै हो बाटो, तिम्रो पनि मेरो पनि
गुँरास हो रातो, तिम्रो पनि मेरो पनि
नरोऊ प्रियसी तिमी आफूलाई अपाङ्ग भनी
धेरै चिजको कमी छ यहाँ सपाङ्गमा पनि
प्रिया,
अस्वीकार गर्ला समाजले मलाई, त्यो जान्दछु
कस्तो नसुहाउँदो जोडी भन्ला, त्यो पनि मान्दछु
प्रेम ईश्वर हो मान्नेले भन्ला मैले दियो जलायो
दुखीलाई हाँसो दिई, हाँसोको छायामै मुस्कुरायो
प्रिया,
भनोस् सबैले प्रितिमा अन्धो बनी वैशाखी समाइस्
थुकोस मलाई सबैले, समाजको मर्यादा बगाइस्
विश्वास छ मलाई त्यही थुकमा फूल फुल्नेछन्
भोलि हामी हिँडेकै बाटा हर प्रेमी हिँडनेछन्
प्रिया,
मैले नयाँ रितको यात्रालाई ज्यादै प्यार गरेको छु
मनप्रिय काँडाको पनि फूलको झैँ हार उनेको छु
कि मेरो खुट्टामा हिँड तिमी या म वैशाखीमा हिँडनेछु
आज हारुँला म, भोलि त अवश्य जित्नेछु, अवश्य जित्नेछु
जब सद्दे हरप्रेमीले चुम्नेछ प्रियसीको वैशाखीमा म्वाइँ
सम्झिनेछ त्यो युगमा सबैले तिमीलाई र मलाई।