हो,
त्यो कुरा सत्य हो
मलाई गरिबको सुकोमल हातले
छरछरी रगत चुहाउँदै
तानमा बुनेको
कपडा मनपर्छ,
धातुका झिल्काले आँखा पोलिपोली
आँसु र रगत मिसाएर
कामेको हातले
बुट्टा कुदेँको गहना सुहाउँछ,
हातका ठेला पटपट फुटाएर
रगत र पानी निकाली
नसा छिन्नेगरी
पिटिपिटी बनाएको भाँडाको भात
स्वाद लाग्छ मलाई
किनकि
म
नर रक्तकुण्डमा आहाल बसेर आएको मान्छे
रक्तकुण्डमा तिर्खा मेटेर आएको मान्छे
तिर्खा मेट्न मान्छेको रगत चाखेको मान्छे।
समयसँगै,
मेरा छालाका रंग बदलिए होला
मेरा कदका उचाइ अग्लिए होला
मेरा भूगोलका लम्बाई लम्बिए होला
मेरा कपडाका रङ चम्किए होला
तर
अझै उत्तिकै मनपर्छ
त्यो गरिबको आलो रगतको गन्ध
र
त्यो निष्कलंकित रगतको स्वाद।
थुइक्क म...
म मान्छे अरे!