सधैं भेटिने तिनै सीमित अनुहारहरू, तिनै बाटाघाटा र दिनहुँको एउटै काम। दिनचर्या एकनासले चलिरहेको थियो, पृथक भन्नु केही थिएन। आफ्नो दैनिकीसँग यति अभ्यस्त भइसकेछु कि फोनको अलार्म बज्नु अगावै मेरा आँखा उघ्रिसकेका थिए।
केही दिन यता 'बेड टी' नभई नउठ्ने बानी लाग्या थियो। सधैंजसो छेउको टेबलमा चिया राखेर, उठ है भन्दै उठाउने मानिसको आवाज कानमा नगुन्जिँदा कसैको अनुपस्थिति खड्किए जस्तै लाग्यो। चिया त साइडको टेबलमै थियो। खुट्टा तन्काई चियाको तापक्रम महसुस गरेँ।
सायद निकै अघि नै त्यहाँ छाडेर हिँड्नु भएको थियो दिदी, एकचोटि पनि नबोलाई। उठ्दा चिया नजिकै राखेको नोटमा आँखा पुग्यो। लेख्या थियो, 'म मामाकहाँ हुनेछु। तिम्रो पेन्ट सधैं तिमीले राख्ने ठाउँमै छ र बेलुकीसम्म पुग्ने गरी खाना फ्रिजमा छ।' सायद एकचोटि उठाएरै गएको भए नि हुन्थ्यो। कस्तो शून्य लागेको!
हातमुख धोएँ। कपडा लगाएँ। सधैं कपडा ठाउँमा नभेटिएर खोज्दैमा टाइम जान्थ्यो। अस्ती त भन्दिएँ पनि, मेरो रुम पसेर सामान नमिलाउनू भनेर। अव्यवस्थित भइरहने बानी पर्या मलाई। आफूले जुनै कुनामा फाले पनि चाहिँदा र खोज्दा आफ्ना सामान सजिलै भट्थेँ तर दिदीले मिलाएर राख्देको सामान भेटाउनै मुस्किल पर्थ्यो।
दिदीलाई त चित्त दुख्यो नि होला। सफासुग्घर पारेर सामान ठाउँमा राख्दिँदा र आफूले नभ्याउँदा अरुले व्यवस्थित गरिदिँदा पनि आफ्नै फोहोरी पारा खोज्ने सायद म नै त्यस्तो नमुना भाइ होला उनको।
लुगा लगाइ डाइनिङ तिर गएँ। टेबलमा हिजोकै मटन करी थियो। हिजो रातिको कुरा थियो, खुब मेहनतले मटन पकाउनु भएको रहेछ। फेरि हिजै अफिसमा कामको यति व्यस्तता भयो कि खाजा खाने नि फुर्सद भएन। घर फर्किँदा त्यस्तै जाम, कस्तो तनावले आउनु पर्या थियो। दिदी पकाईवरि मलाई कुरिरहेकी थिइन् होला।
निकै अबेला भइसक्या थियो। खाना खान धेरै पटक बोलाइन् तर म आफ्नै तालमा मोबाइल चलाएर बसेँ। अन्तिममा टेबलमा खान त बसेँ। खाना बेसै थियो। म एक्लै हुन्थेँ त त्यति मिठो पकाएर खाने नै थिइनँ होला।
दिमागभरिको थकान र कामको बोझ घर आएपछि सधैं किन रिस र नैराश्यतामा परिणत हुन्थे म आफै चाल पाउदिनँ थिएँ। जति नै शान्त रहन खोजे पनि, कुनै दिन हाँसीखुसी फर्के नि मेरो मुड घर पसेसी सर्पले काँचुली फेरे झैँ बदलिन्थ्यो।
एकान्तमा आफूखुसी रहने बानी पर्या रहेछ मलाई। कसैको उपस्थिति आफ्नो व्यस्त जीवनमा कस्तो नसहेको मैले। साह्रै एकलकाटे भएको रहेछु। दिदीको उपस्थितिले महसुस गरायो। लाग्थ्यो, मेरो रुम त्यस्तै रहोस्, फोहोर र अव्यवस्थित।
एक हप्ता कुरेर घण्टौँ लगाएर लुगा धुने बानी थियो। दिनदिनै सफा र पट्याएका कपडा दराजमा देख्दा पनि मेरो कपडा र मेरो सरसफाइ बारे दिदीलाई किन त्यस्तो टाउको दुखाई भन्ने नै आउथ्यो दिमागमा। एक पटक पकाएर फ्रिजमा राखेर तताउँदै खाने बानी परेको मलाई, दिदीले ताजा र मनपर्दो पकाएर दिँदा पनि म नाक्क निक्क गर्न छाडिनँ।
हिजो त खाँदा खाँदैको खाना बीचमै छोडेर फ्रिजबाट स्याउ बोकी रुमतिर गएको थिएँ। दिदीलाई खराब लाग्छ थाहा त थियो तर गर्न नै के सकियो र आफ्नो अहमले आफ्नै समझलाई जितेसी। अन्ततः कोही मेरो व्यवहारले प्रभावित हुन सक्छ भन्दा पनि मेरो एकलकाटे बानीले गर्दा अरूलाई आफ्नो जीवनमा थोरै महत्व दिन नसक्ने भएछु भन्ने सोचले आफै प्रभावित भइरहेँ।
मेरा व्यवहारपछिका दिदीका प्रतिक्रिया शान्त रहन्थे। उनी बोल्थिन्, मलाई सम्झाउथिन् वा हप्काउथिन् त मलाई सहज हुन्थ्यो होला जति उनको मौनताले आफू गलत हुनुको अझै बढी आभास गराइरहन्थ्यो।
अफिसमा सधैंजसो काम लथालिङ्ग हुन्थ्यो। दुई दिन भइसक्याथ्यो कपिल सरले उहाँको काममा अल्झाउनु भएको। पर्सिको मिटिङलाई सेड्युल तयार पार्ने, इमेल गर्ने र भेन्यू फिक्स गर्ने मेरो जिम्मामा थियो भन्ने मैले त भुसुक्कै बिर्सेछु। हाकिमले बोलाएर सोध्दा पो याद आयो। बडो गज्जबले थर्कायो।
रुम पसेँ, टेबलको क्यालेण्डर हेरेँ। १६ फ्रेव्रुअरीमा टिक मार्क गरेको रहेछ। त्यहाँ लाएको मार्कले झल्यास भएँ। सायद काम गरिसक्नुपर्ने भन्ने संकेत थियो होला त्यो। तर मलाई किन ख्याल भएन कि त्यो दिन मेरो बर्थडे पनि थियो। काम, व्यस्तता र एकोहोरोपनमा जीवन यसरी अल्झिएछ कि आफ्नो बर्थडे समेत याद रहेन मलाई।
जुन काम गर्न बिति नै सक्याथ्यो, त्यो समेत छोडेर हतपत्त फेसबुक खोलेँ। न कसैको मेसेज, न कुनै पोष्ट, केही पनि थिएन। हुन त बर्थडे पब्लिक त थिएन मेरोमा तर पनि नजिकका साथिभाइ, इष्टमित्र कसैले सम्झेर पनि पोस्ट वा मेसेज गरेका थिएनन्।
हुन पनि यस नयाँ ठाउँ आएसी न साथी बनाएँ न बनिएँ। पहिलेका साथीहरु नि छुट्टिँदै गए। न कोही आफ्न्त नै थिए वरिपरि। आफ्नो भन्नु नै दिदी थिइन्। सोचेँ दिदीले त बरु विस गरेर गएकी भए पनि हुने।
काम सक्दा साविकभन्दा धेरै समय बित्यो। अफिसमा कसैले त बर्थडे विस गरिदिए हुने भन्ने आशा रहिरह्यो। तर अफसोस! सधैँ शान्त र एकान्त प्रेमी रहने म, मेरो त्यति महत्वपूर्ण दिनमा पनि अरुको मौनताले छाएको सन्नाटाले ममा अत्यन्त नैराश्यता छाएको थियो।
चकमन्न अन्धकारमा बाटोको लागि भौतारिए जस्तै, कसैको आत्मीयता चाहने खोजीमा एक्लोपनबाट भाग्न खोजे जस्तै महसुस भयो। मलाई जन्म दिई एक्लो पारी जाने आमाबुवाको पनि खुब याद गरे त्यो दिन। आफ्नो जीवनलाई एकल पार्दा पार्दै म सबैबाट कति टाढा पुगिसकेछु कि मैले आफैलाई बारेका पर्खाल नाघी कोही म निकट आउन सकेनन्।
मैले सोचेँ कि मेरा चिनजानकाले यो पनि भुलिसके कि म पनि थिएँ। आँखाबाट आँसुको धारा रोकिनै खोजेन, बाइक चलाउँदा आँखै धमिला भए। बाइक रोकी अनकन्टार रोडमा, त्यसभन्दा अनकन्टार मेरो एक्लोपनमा मनको दुःख कम नहुञ्जेल आँसु झारे।
दिदीलाई फोन गरी सोध्न मन लाग्यो, के एउटै भाइको जन्म दिन नि याद रहेन त उनलाई? सोचेँ मेरा रुखो व्यवहारले उनलाई यति चित्त दुख्यो सायद यादै भए नि। मलाई सामीप्यता ठिक लाग्दैन सोचेर उनी हिँडी होलिन्।
सोचेँ, बर्थडेमा मानिसहरु सामिप्यता खोज्दछन, आफ्नासँग मिठा याद बटुल्छन् तर मलाई त आफ्नो बर्थडे नि याद रहेन, बरू बोसको हेपाई र गाली खानु पर्यो। अझ कसैले सम्झेर विससम्म नि गरेनन्।
घर पुगेँ। सरासर आफ्नो कोठामा पुगी बेडमा लडेँ। अचानक बत्ती बल्यो। जोडले गाना बज्यो, बर्थडेको ट्युनमा। आँखा उघ्रिँदा आफू माथिको सजावट दृश्यमा आयो। माहोल बुझ्न उठ्न मात्रै खोज्या थिएँ एकैचोटि दुई तीन जना हाम फाल्दै उल्टै बेडमै लडाइदिएँ।
एक पललाई लाग्यो कि म आफ्नो नभई अर्कैको घर पो आएँ कि। सबै एकैचोटि 'ह्याप्पी बर्थडे टु यू' भन्न थाले। अनि मात्रै आफ्नै दिदी र मामा माइजूको आवाज ठम्याउन सकेँ। मामा माइजूलाई ढोगेँ र दिदीसँग आँखा जुध्दा पनि आत्मग्लानी र लज्जा महसुस भइरह्यो। माइजूले भन्नुभयो 'तपाईकै बर्थडेका लागि भनेर भान्जीले हामीलाई यहाँसम्म ल्याउनु भयो।'
अघि थामिसकेका मेरा आँसुले फेरि पनि गाला चिस्याइदिए। माइजूले सोच्नुभयो होला उहाँहरुलाई देखेर मेरा खुसीको आँसु झरे तर मेरा आँसुका कारण मेरै मनले जान्दथ्यो वा धेरथोर दिदीले नै अड्कल गरिन् होला। आफूलाई ठूलो सोच्दथेँ तर आफ्ना ठूलाबडा अघि बर्थडेको अठ्ठाइसौँ वर्षको केक काट्दा आफू सानो र प्रिय सम्झेँ।
आई वरी अनेकथरी पकवान पकाउन भ्याएका रहेछन्। त्यस दिन जस्तै बिते पनि अन्त्यको सुखद् पलले दिनभरको नमिठा यादहरू मेटिदिए झैँ लाग्यो। खुसीले धेरै खाएँ झैँ लाग्यो। रातभर सबैजना गफ गर्दै बस्यौँ। माइजूले दुनियाँभरका गफ सुनाउनु भयो, कति बकम्फुसे थिए त कति उत्ताउला।
मैले चाख मानेर अरुको गफ सुनेको र मन खोलेर आफ्ना कुरा सुनाएको देखेर दिदी बेलाबेला मलाई हेर्दै मुस्कुराउँदै थिइन्। गफकै तालमा म दिदीकै काखमा निदाएछु। अझै पनि हल्का हुन नसक्या मेरा आत्मग्लानीको बोझ आँसुका माध्यम दिदीका काखमा पेखिए।
मेरा आँसु स्पर्श गरेर होकि आफ्नै भावनामा बहेर केही बेरमा मैले पनि दिदीको आँसु स्पर्श गरेँ। सायद मैले गर्दा उनी दुखी भइन् र म पनि त आफ्नै व्यवहारका कारण आफै र उहाँलाई पनि दुःखी पार्न पुगेछु। त्यसकै पश्चतापका आँसु बगाउँदै थिएँ। न उहाँ बोल्नु भयो न म नै, बस आफ्ना आफ्ना भावनालाई आँसुका माध्यमबाट सान्तवाना दिन खोज्दै थियौँ।
सधैंको भागदौड र व्यस्तताबाट सबैले आफ्नो व्यक्तिगत समय र स्थान चाहान्छन्। यो स्वभाविक पनि हो। आफ्नो प्राइभेसी चाहँदा र प्राप्त गर्न खोज्दा आफ्नो वास्ता गर्ने र आफूलाई माया गर्नेलाई हामी दुर्व्यवहार गरिरहेका त छैनौँ? प्राइभेसी नै मात्र चाहँदा के हामी सबैबाट टाढिँदै गएका त छैनौँ?
सायद व्यत्तिगत जीवन त जति बेला जसरी चाहँदा नि प्राप्त होला तर एकचोटि कसैसँग गुमाएको सामीप्य र प्रगाढ सम्बन्ध कुनै दिन चाहेर पनि हामीलाई मिल्न नसक्ला। त्यस परिस्थितिमा मलाई आफ्नो प्राइभेसी र आफ्नासँगका सम्बन्ध सन्तुलित गरी अघि बढन् सक्नुपर्दो रहेछ भन्ने ठूलो सिकाइ भयो।
मैले त उत्तर पाएँ तर सायद धेरै जना यो प्रश्नसँग अझै जुद्न सक्लान्, 'प्राइभेसी आवश्यकता हो या आवश्यकताले निम्त्याएको कमजोरी?'