हिजो
तिनीहरूले तल बस्न भने
तिमीले उठ्नु पर्छ भन्यौ
तिनीहरूले अँध्यारोमा बस्न भने
हामी उज्यालो दिन्छौं भन्यौ
हिजो तिनीहरूले चुप लाग्न भने
तिमीले बोल्नु पर्छ भन्यौ
हामीलाई अविश्वास वा विश्वास केही थिएन
हामी सरासर तिम्रो पछि लाग्यौ
तिमीले बोल्न सिकायौ हामी बोल्यौ
हाम्रो साथ खोज्थ्यौ
हामीलाई साथी भन्थ्यौ
सँगै बस्यौ, सँगै खायौ सँगै हिँड्यौ
आज तिनीहरूको ठाउँमा तिमी छौ
तर,
तिनीहरूले जे गरे तिमी पनि त्यही गर्दैछौ
तिनीहरूले जे खाए तिमी पनि त्यही खाँदैछौ
तिमी तिनकै भाव भङ्गीमा आफूलाई सुसज्जित गर्दै छौ
आज तिम्रो साथ संगत फरक छ
जसको विरुद्ध हामीलाई बोल्न सिकायौ
तिमी तिनीहरूको बोलीमा लोली मिलाइरहेका छौ
हाम्रा आवाजहरू बन्द गर्न
तिनीहरूकै साथ खोज्दै छौ
हिजो अधिकार खोज्न सिकाउँथ्यौ
आज अधिकार खोस्न सिक्दैछौ
हिजो शासकका विरुद्ध धावा बोल्न सिकाउने तिमी नै थियौ
आज आफै शासक बनेर बसेका छौ
जसको काँधमा चढेर त्यहाँ पुग्यौ
आज त्यसैलाई लात हान्दै छौ
फेरि पनि म भन्न चाहन्छु
तिमी मात्र बदलिएको हैन होला
समय परिस्थिति पनि बदलिएको छ
हाम्रो पनि चेतना फरक भैसकेको छ
तिमीले कालोलाई सेतो भनेर मैले मान्ने छैन
तिम्रा झुट र आश्वासनको पोकाहरू
जनतासामु अब बिक्ने छैनन्
तिम्रो चेतनालाई धिक्कार्ने छन्
र दास बन्ने छैनन्
इतिहासले भुल्ने छैन तिमीलाई
तिमीले गरेका कर्तुत र धोकालाई
जनताले फेरि त्यही गल्ती गर्ने छैनन्
तिमीजस्तो धोकेबाजलाई साथ दिने छैनन्
र फेरि पनि दास बन्ने छैनन्।