सास फेर्दा-फेर्दै,
३० औँ वसन्त, ग्रिष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतुहरु बितिसकेछन्।
अझै पनि सास फेर्न छोड्ने आशामा,
सास फेर्दैछु।
अब यो 'सास फेर्न छोड्ने आश',
छिट्टै पूरा होला जस्ता लक्षणहरु देखिँदैछन्।
भनिन्छ,
सफलता भेट्न थोरै बाँकी हुँदासम्म
कठोरताले परीक्षा लिइ नै रहन्छ रे !
सायद,
त्यही कठोरताको क्षणमा छु अहिले।
तिम्रो मन प्रश्न गर्दैछ होला,
'आजको मानव समाज धेरैभन्दा धेरै बाच्ने होडमा छ,
लामो समयसम्म सास फेर्ने आशमा छ,
तर तँ,
किन सास फेर्न छोड्ने आशमा?'
यस्तै धेरै प्रश्नहरु...
तर, म ढुक्क छु
मैले जे नै उत्तर दिए पनि
कोही खुसी हुने छैनन्,
मेरा उत्तरसँग,
तिमी पनि।
त्यसैले होला अलिकति हिम्मत पनि छ
तिम्रा हरेक प्रश्नका लागि, मेरा प्रत्येक जवाफ,
तिम्रा लागि अपाच्य, तर मेरा लागि सत्य हुनेछन्।
खैर, इच्छा विहीन भएर बाँच्ने इच्छा लिएर सास फेर्दै गरेको
'म' मा
अब, अर्को एउटा इच्छा पलाएको छ
सकेसम्म छिट्टै मृत्यु वरण गर्ने इच्छा
उर्फ...
सास फेर्न छोड्ने आश,
इच्छा विहीन भएर बाच्नु
र
सास फेर्न छोड्नु,
एउटै कुरा हो मेरो लागि।
अतः विश्वास छ मलाई,
अब आउने शिशिर ऋतु
पक्कै पनि मेरो इच्छा सिद्धिको सन्देश लिएर आउनेछ।
अनि म बाच्नेछु
इच्छा विहीन भएर..
सास फेर्न छाडेर..
शरीर त्यागेर
मनभन्दा पर रहेर
त्यही आशाको त्यान्द्रोमा नै
म अझै सास फेर्दैछु,
सास फेर्न छोड्ने आशामा,
सास फेर्दैछु।