म एउटा बिम्ब लेखीरहेको छु।
जीर्ण भएको, बुढो शरीर
ढाकाको फाटेको टोपी
टोपीबाट निस्किएको
उसको सेतो फुलिसकेको कपाल,
हातभरि नसा मात्रै अवस्थित
फाटेको दौरामा तुना चुटिएको
दुवै सुरुवालको घुडा टालिएको
कलौटी परेको चेहेराले
एयरपोर्टको आगमन कक्षको
ढोकैमा घरीघरी ऊ नियाल्दै थियो
र, मैले सोधेँ-
नमस्कार!
को आउँदै हुनुहुन्छ तपाईंको?
मेरो आवाज आए तिर
अँध्यारो भइसकेको उसको आँखाले
पुलुक्क म तिर फर्केर हेर्यो
र, मधुरो आवाजमा भन्यो
छोरो।
मैले अर्को प्रश्न तेर्साएँ
उसो भए खुसी हुनुहुन्छ बा?
बाले लामो सुस्केरा तानेर
टोपी फुकाएर गोजीमा हाल्दै भने
के खुसी हुनु र बाबु?
विदेशबाट छोराको
लास आउँदैछ भनेको सुनेर आएँ
छोराको अनुहार हेर्न
छातीमा गाँठो पारेर आएँ
दुई चिरा भएको मुटु, एउटै बनाएर
कर्णालीदेखि काठमाडौँसम्म धाएर आएँ।
म निशब्द चुपचाप भएँ।
सेतो तुवाँलो झै त्यो आँखामा
आँसु बगाउँदै
मनलाई गाँठो पारेर
बा भन्दै गए-
मेरो पाँच भाइ छोरा
आफ्नै रगतको डल्लाहरु
आज सबै सकिए
आफ्नै अगाडि,
आफ्नै रगत रित्तिएको देखेँ
बुढेसकालको लौरो सबै भाँचिए
जेठो अम्रिका गा’को, उतै भासियो
आजसम्म फर्केर आएन,
माइलो, लाहुरे हुन्छु बा भन्थ्यो
कास्मिरको लडाइँमा मारियो
साइँलो मेलम्चीमा पसल गर्छु भन्थ्यो
यसैपालि बाढिले घरबार सहित बगायो
काइलो अरब गएँ बा भनेर गएको
आज बाकसमा फर्किँदै छ,
जाँदा बा, पिर नगरेस् है
पैसा कमाउँछु,
ऋण तिर्छु
गैरीखेत उकास्छु भनेर गएको ऊ
कान्छो पनि विदेशै जान्छु बा भन्थ्यो
मेरो सबै काख रित्तियो
नजा छोरो भनेँ,
टेरेन
घरबाट हिँडेपछि
बाटैमा तुइन काटेर नदीमा डुबेर मर्यो,
बा आफ्नो कथा भन्दै थिए
मन थाम्न सकिनँ
अनि म ओझेल परेँ
मेरो देशलाई रेमिटेन्स पठाउने
बाकसमा बाँधिएर आइपुग्नु अघि।
र, मैले मनमनै प्रश्न गरेँ,
सरकार!
उसको समाचारले दुख्दैन तिमीलाई?
उसको तस्बिरले पोल्दैन तिमीलाई?
बाढी र पहिरोले बस्ती बगाउँदा
उसको आफन्त पहिरोले पुरिँदा
ऊ घरबार बिहीन बनेर सुकुम्बासी हुँदा
हेलिकप्टरले दुई पोको चाउचाउ
खसालेर फर्किँदा
एकातिर घरखेत आफन्त बगाएको पीडा
अर्को तिर भोक रोगले सताउँदा
अलिकति पनि तिम्रो मन अमिलो हुँदैन?
मेरो प्रश्न तिमीलाई सरकार
आखिर यो नियती भोग्ने
हामीले कहिलेसम्म?
जयसिंह धामीहरु
महाकालीमा खसालिनु
संयोग हैन, प्रायोजित हो
उसको मृत्यु प्राकृतिक हैन
तिमीले गरेको हत्या हो,
देश चलाउनेहरु हो
तिमीले बेचेको माटोको
सुरक्षा गर्दा सिमानामा मारिनु
त्यो पनि तिमीले गरेको हत्या हो,
भिरपाखा खोलानालामा
बस्ती बसाउनु नियती हैन
हाम्रो गरिबीको उपहास हो।
त्यसैले सरकार,
तिमीलाई मेरो प्रश्न
जयसिंह धामीहरुको प्रश्न
एयरपोर्टको ढोका कुरेर
छोराको लास कुर्ने बाउको प्रश्न
आखिर कहिलेसम्म
हामी र हाम्रो
अघोषित हत्या गरिरहन्छौ?