कैलाशको शिरमा
यौवनका कौतूहल र सरम पोखेर
कुँदिरहन्छे छेउघरे कान्छी
आशीर्वाद थाप्ने गुलाबी बुट्टाहरू!
तप्लक्क घोप्टिएका छन् तानका डोरीमा
उसका ताता ईर्ष्यालु आँसुका थोपा
हदृश्य सुकाइमा कट्कटिएका
आँसुका रोदन र हर्षाश्रु दृष्टि
मात्र फरक-
अरुका शिर र कण्ठमा
ठडिन्छ आकर्षणको शोभा
तर उसले भरेका बुट्टामा
पोखिएका छन् लाहुरेको प्रतीक्षामा
झरेका आँसु र बैँसालु यौवनका
पवित्र बुट्टाहरू।।
टोपी र गलबन्दीमा
बुट्टा भर्दाभर्दै रित्तिन्छ मन
रित्तिँदैनन् उसका आशाका तान
धागोका डोरीसँगै ओइलाउँछन् यौवन
तर लाइरहन्छे ऊ
रंगिबिरंगी रङका बुट्टाहरू।
बुट्टा-
छेउघरे कान्छीका सीप मात्र होइनन्
पोखिएका छन् त्यहाँ-
उसका रहर, पीडा र हृदयका
कुलेँसा भरिको अदृश्य माया
जहाँ-
सुन्दरताभन्दा ज्यादा
पोखिएका छन् उसका
अतृप्ति बासनाका रहरहरू
र पोखेकी छे असरल्ल बैँसका बिस्कुनहरू।