नवलपरासी जिल्लाको एउटा सानो गाउँ बडेरा। बडेरा गाउँको गुरूचरण एउटा साना किसान हुन्। ऊसँग लगभग दुई कठ्ठाको जग्गा छ। उसले आफ्नो खेतबाट खाद्यान्न ऊब्जाउँछ र जीविकोपार्जनको लागि मजदुरी गरेर दैनिक आवश्यकताहरू पूरा गरिरहेको थियो।
गुरूचरण आफ्ना बाबुआमाको एक्लो छोरा थिए। बुबा ऊ बाल्यकाल हुँदै परलोक भएपछि आमाले दुःखसाथ हुर्काएकी थिइन्। त्यसबेला टाढा-टाढासम्म स्कुलको अभावका कारणले गाउँमा मानिसहरुले शिक्षामा ध्यान दिनुपर्छ भन्ने वातावरण थिएन।
गुरूचरणको बाल्यकालमा यदि कसैले दुई/चार कक्षाको अध्ययन गरेको भए त्यो पर्याप्त हुन्थ्यो। आमाले गुरूचरणलाई बारम्बार भन्थिन् 'हेर् छोरा, मजदुरी गरेर जीविका चलाउन हाम्रो भाग्यमा लेखिएको छ। लेखपढ गरेर के नै गर्छस्? तैले गाउँको स्कुलमा जे जति पढिस् पुग्यो, अब मलाई मद्दत गर्नुपर्छ।'
गुरूचरणलाई आमाले सम्झाउथिन् 'छोरा! मान्छेसँग सबैथोक हुन्छ, तर सुखसँग बस्नको लागि उनीहरुको आफ्नै छानो छैन भने त्यस्ता व्यक्तिहरू दुःखी हुन्छन्। ईश्वरको कृपाले हामीसँग कमसेकम बस्नको लागि एउटा छानो छ। यो हाम्रो लागि यही ठूलो सम्पत्ति हो। बाँकी हामीसँग परिश्रम छ र हाम्रा हात-खुट्टाहरू सुरक्षित छन्। परिश्रम गरेर दुई छाक कमाउन सकिन्छ! हामीलाई यसभन्दा बढी केही आवश्यक छैन।'
आमाले दिएको सुझावलाई गुरूचरणले आशिषको रूपमा स्विकारेको थियो र आमालाई काममा मद्दत गर्न थालेको थियो।
समय बित्दै गयो र गुरुचरण पनि हुर्किँदै गयो। आमाको उमेरका कारण उनी बिरामी भइरन्थिन्। त्यसैले छिट्टै छोराको बिहे गरिदिन चाहन्थिन्। आमाको चाहनाअनुसार केही समयपछि गुरूचरणको नजिकैको गाउँकी आरतीसँग विवाह भयो।
विवाहपछि आरतीले पनि घर भित्र र बाहिरका काममा बराबरको हिस्सा लिन्थिन्। केही समयपछि गुरूचरणको एउटा छोरो जन्मियो। उनीहरूले छोराको नाम गोविन्द राखे।
अहिले गाउँका मानिसहरूको खाने बस्ने बानीमा धेरै परिवर्तन आएको थियो। गाउँ होस् वा सहर, छोरा वा छोरी, अभिभावकहरु दुवैलाई समान रूपमा व्यवहार गरेर शिक्षा दिन थालेका थिए। सबैले गुरूचरणलाई भन्थे 'तिमीले पढ्न र लेख्न सकेनौ, तर अब आफ्नो सन्तानहरूलाई राम्रोसँग पढाएर सक्षम बनाउनू।'
गुरूचरण र आरतीले पनि सोचे कि हामी पढ्न र लेख्न सकेनौं, कम्तीमा हामीले बच्चाहरूलाई पढाएर आफ्नो कर्तव्य पूरा गर्नु पर्छ। आरतीको माइती सहरको नजिक भएकोले, गुरूचरणभन्दा बढी शिक्षित र अध्ययनको महत्त्व बुझेकी थिइन्।
गोविन्द स्कुल जाने उमेरमा गुरूचरणको दोस्रो छोराको पनि जन्म भयो। उनले छोराको नाम हरिश राखे। गुरूचरण र आरती अहिले दिनरात आफ्ना दुई बच्चाहरूको लेखपढमा ध्यान दिन थालेका थिए। बच्चाहरूले पनि बुबा र आमाको कुरा ध्यान दिएर सुन्थे र तिनीहरूले अनुशरण पनि गरेका थिए।
गोविन्द र हरिश साथीहरुको संगतबाट टाढा रहन्थे। उनीहरु केही समय घर बाहिर खेल्ने गर्थे र घरमा आमालाई सहयोग गरेर पढ्न थाल्दथे। जब बच्चाहरू ठूलो हुँदै आए उनीहरू पनि बुझ्ने हुन थाले। माध्यमिक शिक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण भएका उनीहरुले सहरको कलेजमा भर्ना भए।
गरिबीका कारण दुवै छोराहरूले पढाइको लागि सरकारबाट छात्रवृत्ति पनि पाउन थाले। दुवैले राम्रो अंक ल्याएर कलेजको पढाइ पनि पूरा गरे। छोराहरूको क्षमता देखेर आमाबाबु दंग र खुसी थिए। कलेजको अध्ययन पूरा हुने वित्तिकै दुवै छोराले सहरको राम्रो र ठूला कम्पनीहरूमा काम पाए।
आमाबाबु छोराहरुसँग सहरमा बस्न थाले। बाबुआमा चाहन्थे कि अब गाउँको कच्चा सानो घर भत्काउने र एउटा ठूलो घर बनाएर जेठो छोराको बिहे गर्ने अनि राम्रो शिक्षित बुहारी घर ल्याउने।
छोराहरूले यस कुरामा भने- 'हामी गाउँदेखि धेरै टाढाको सहरमा बसोबास गर्न थालेका छौँ, दुवैजना एक ठाउँमा छैनौँ। बा-आमा हामीसँगै बस्नु भएको छ। गाउँमा घर कसको लागि बनाउने? घर बनाइयो भने पनि त्यहाँ को बस्ने? जस्तै राम्रो घर भएपनि त्यसको मर्मतसम्भार रेखदेख भएन भने बिग्रन समय लाग्दैन।'
यस्ता सवाल जवाफहरूका बीच उनीहरुको एउटा सम्झौता भएको थियो, जब गाउँमा घर चाहिन्छ, त्यतिखेर बनाउने, अहिले यसको आवश्यकता देखिँदैन। यसरी धेरै विचार मन्थन गरेपछिमात्र विवाहको बारेमा सहमति भयो।
गोविन्दको विवाह राम्रो परिवारसँग धुमधामसँग सम्पन्न भयो। केही वर्षपछि हरिशको पनि विवाह भयो। परिस्थिति यस्तो भयो कि कामको सिलसिलामा दुवै छोराको दुई-तीन वर्षमा एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भइरहन्थ्यो, साथै उनीहरू कम्पनीको कामबाट बाहिर गइरहनु पर्दथ्यो।
यसको परिणाम यो भयो कि यो दुवै छोराहरूको लागि कुनै पनि ठाउँमा स्थायीत्व हुनु असम्भव देखिन्थ्यो। दुवै बुहारीले सासु-ससुरा आफूहरुसँगै भएको चाहन्थे। यसरी सबैको जीवन सुखपूर्वक बितिरहेको थियो र त्यहाँ कुनै कुराको अभाव महसुस भएको थिएन।
गोविन्द र हरिशको स्थानान्तरणपछि उनीहरू जहाँ गए पनि कोठा भाडामा लिनु उनीहरूको बाध्यता हुने गरेको थियो। उनीहरूले राम्रो ठाउँ हेरेर एउटा घर निर्माण गर्न वा किन्न चाहन्थे, तर उनीहरुले चाहेर पनि त्यसो गर्न सकिरहेका थिएनन्।
आमा-बाबुले कहिलेकाहीँ सोच्दथे- 'योभन्दा राम्रो त हामी हाम्रो गाउँको सानो घरमा खुसीले दिन बिताउँथ्यौं।' कसैले पनि उनीहरुलाई यो तिमीहरुको घर होइन भन्दैनथे। जे-जस्तो भएपनि आफ्नो घर आफ्नै हो।
यता आरती केही दिन अस्वस्थ भएर यस संसारबाट बिदा भएपछि गुरूचरणले एक्लो महसुस गर्न थाले। उसलाई आफ्नो गाउँको पुरानो घरको सम्झनाले सताउन थाल्यो। तर के गरोस्! चाहेर पनि ऊ त्यहाँ जान सक्दैन थियो। शरीर थाकिसकेको छ, जीवनसाथीले छोडेर गइसकिन्, छोराहरु आफ्नो काममा व्यस्त रहन्थे।
जसोतसो उसको दिनहरु बित्न थाल्यो। यसभन्दा पहिले कम्तीमा वर्षमा एक वा दुई पटक गुरूचरण गाउँमा जान्थ्यो र निधारमा माटोको टीका लगाएर फर्केर आउँथ्यो। रेखदेख मर्मत/सम्भार नहुँदा गाउँको घर भत्किन थालेको थियो।
यता गुरूचरणको शरीर कमजोर हुँदै थियो भने उता घर पनि भत्किँदै थियो। केही दिनपछि घर पनि भग्नावशेषमा परिणत भयो। गुरूचरणका छोराहरूले बुबाको अवस्था देखेर उनीहरूले उनलाई भन्नु उचित ठानेनन्।
गुरूचरणको मन भाँचिन थालेको थियो। अन्तमा, गुरूचरणलाई असह्य भएर उसले आफ्ना परिवारका सबै सदस्यहरूलाई बोलाए र आफ्नो मनको कुरा गर्न चाहन्थ्यो। गुरूचरणको आदेशमा सबै जना एक ठाउँमा जम्मा भए।
गुरूचरणले आँसु थाम्दै भन्न थाल्यो 'मेरो प्यारो छोरा-छोरी, नातिनातिना। मेरो अन्तिम अवस्थामा मेरो आफ्नै घरको छानोमा शान्ति पाउनेछु, मलाई त्यहाँ जान देऊ... लामो समयदेखि मलाई गाउँ जान मन लागिरहेको छ। मैले अस्वस्थ महसुस गर्न थालेको छु... मलाई यहाँभन्दा मेरो आफ्नै सानो घरले दिमागमा शान्ति दिनेछ... मैले मेरो मनको कुरा भनेको छु... अब तिमीहरु जे चाहन्छौ।'
छोराहरूले भने 'बाबा, यदि हामीले तपाईलाई गाउँमा छोड्यौं भने गाउँलेले के भन्छन् बुढेसकालमा आफ्नो बाउलाई एक्लै छोडे? हजुर र आमाले हामीलाई धेरै दु:ख गरेर हुर्काउनु भयो र योग्य व्यक्ति बनाउनु भयो। अहिले हजुरलाई हाम्रो आवश्यकता छ।'
अन्तमा, धेरै विचार-विमर्शपछि सबैले बुबासँग गाउँमा गएर केही दिन बिताउने र निर्णय गरे। बच्चाहरू पनि आफ्नो हजुरबा र बुबाको जन्मस्थल हेर्न ऊत्सुक थिए। गुरूचरण पनि आफ्नो गाउँमा जान पाउँदा धेरै खुसी भएको थियो।
हरेक बिहान उठेर क्यालेन्डर हेरेर ऊ समय बिताउथ्यो। दिन बित्दै जाँदा उसको गाउँ जाने दिन नजिक हुँदै गइरहेको थियो। गाउँ जानुअघि गुरूचरणको भतिजोलाई गाउँ आउन लागेको खबर दिइयो।
गाउँ पुगेपछि गुरूचरण यति खुसी भयो कि मानौं उसले केही वर्ष पहिले हराएको केही बहुमूल्य चिज भेट्यो। गुरूचरणको भतिजोले परिवारका सबै सदस्यलाई सम्मानका साथ आफ्नो घरमा लग्यो।
खानपिन गरिसकेपछि गुरूचरणले आफ्नो घर जान जोड दिन थल्यो। गुरूचरणको परिवार र उसको भतिजो त्यस घरतिर लागे जहाँ गुरूचरण एक समय शान्तिपूर्वक आफ्नो घरको छानोमा बस्दथ्यो।
गुरूचरणको स्मरण पनि कमजोर हुँदै गएको थियो। सबैजना चाहन्थे गुरूचरणलाई कुनै त्यस्तै घरमा लैजाने जहाँ उसको मनलाई शान्ति मिलोस्। तर उनीहरू यस अभिप्रायमा सफल हुन सकेनन्। गुरूचरणको स्मरण शक्ति अझ बाँकी थियो। उसले आफ्नो भग्नावशेष भएको घरको ठाउँ चिन्न सक्थ्यो।
आँसु झार्दै यताउता हेरिरहेको उसले केही नभने पनि धेरै कुरा गरिरहेको जस्तो लाग्दथ्यो। उसले सबैलाई हेरीरहेको थियो, तर सबै मौन र आँखा झुकाएर उभिरहेका थिए।
उसको असहाय शरीरलाई अहिलेसम्म त सबैले रोकेका थिए तर उसको मनलाई रोक्न सकेनन् र उसले मनमनै भन्न थाल्यो 'मेरो घर... आज यहाँ छैन!'
खुला आकाशतिर हेर्दै उसले भन्यो 'सृष्टिकर्ताले आज मेरो आँखा खोलिदियौ। यस्तो घरको मालिक के हुनु जब हाम्रो शरीर आफैंमा केही दिनको लागि अतिथि हो।'
मानिसहरूलाई लाग्यो कि गुरूचरणले केही भनिरहेको छ तर उनीहरु सुन्न असमर्थ थिए। नजिक गएर हेर्दा आँखा खुल्ला थियो तर आवाज सदाका लागि बन्द भएको थियो।