टिनिनिनी क्याम्पसको घण्टी बज्यो,
औषधिको समय भएछ क्यारे।
मास्क खोलेँ,
स्यानिटाइजर लतपत्याएँ हातभरि,
खल्तीमा हात घुसारेँ,
मेरो औषधि थियो त्यहाँ,
चुरोट!
सल्काएँ, धुवाँ तानेँ अनि फालेँ निरन्तर,
सायद फोक्सोले बदलिसक्यो होला आफ्नो रंग,
छातीमा घुमिरहन्छ पानीघट्ट,
खल्तीबाट लक्ष्मीले बसाइसरिन्,
अनि, खल्तीमा आइबस्यो यो औषधि: चुरोट र सलाई।
यतिमा पनि मलाई गर्व लाग्छ,
मेरो चुरोटबाट निस्कने धुवाँभन्दा
'बा १ ख'का गाडीबाट निस्कने धुवाँकै घनत्व बढी छ,
मेरो चुरोट तिमीलाई सलाम छ।
देश र आफैँलाई दाजिँरहदा
हावामा अनौठो व्यङ्ग्य मडारिन्छ।
मैले उत्सर्जन गरेको धुवाँ
सगरमाथा पगाल्दै छ रे
सगरमाथासँगको साथ छोड्दैछ रे हिउँले।
असह्य आँसु बगाए जसरी पग्लिरहेछन्
कालान्तरमा ती आँसुले मलाई नै पोल्नेछन् अरे।
मैले निर्वस्त्र पारेको हिमाललाई
अझ क्रूरतापूर्वक कोतर्न प्रयत्नशील छु म।
समय मलाई दिइरहेछ चुनौती
ममा तागत छैन प्रतिकार गर्ने
हो, अब त ती चुरोटका ठुटाहरुले मात्र मलाई मृत्यु दिन सक्छन्।
मेरा बाबाको खल्ती र मेरो वालेट एकैसाथ रित्तिएका छन्।
नरित्याएको भए खल्ती र वालेट,
कञ्चनजंघामा हिउँ टलक्क टल्किँदो हो,
धौलागिरी र अन्नपूर्ण निरन्तर मुस्कुराउँदा हुन्।
जीवन मरुभूमिझै उजाड नपारेको भए,
र रोपेको भए हरिया रुखहरु,
सायद गगनचुम्बी हिमालहरु अटल र स्थिर रहिरहँदा हुन्,
नेपाल अझैँ सन्दर हुँदो हो स्वर्गजस्तै,
र हाम्रा सपना जस्तै।
ऊबेला मेरो जीवन र मेरो देश दुवै स्वस्थ थिए
तर यो बेला न देश स्वस्थ छ न त म स्वयम
भो अब आजैदेखि म मेरा सपनालाई धुवाँमा तैरिन दिन्नँ
मेरो देश !
तिमीलाई एउटा खुसीको खबर छ
आउँदो जन्मदिनबाट
म मेरो शरीरलाई धुवाँमुक्त क्षेत्र घोषणा गर्दैछु।