यो बग्दै गएको खोला
त्यहाँसम्म पुग्छ या पुग्दैन होला?
जहाँसम्म भेटिँदैन उसको ठेगाना!
मलाई बगाउनु छैन उसको बस्ती
बस् चिस्यान नपाएर रूखो नहोस् उसको ठेगाना
ऊ हराएदेखि
उसको हल्का-हल्का मुस्कान बिर्सन थालेको छु
ऊ हराएदेखि
उसको हल्का हल्का बच्पन बिर्सन थालेको छु।
मुस्कान र बच्पन बिर्सन खोजेता पनि
उसलाई यो मन कत्ति पनि बिर्सन सकेको छैन
बादल लागुन्जेल बुटाको छाया नभेटिएला
घाम लागेपछि
अनिवार्य छाया बन्नु पर्दो रहेछ
तिमी र मबीच कतै-कतै यस्तै भएको भान हुन्छ यार।
घरीघरी बिर्सिजान्छु अनुहार मलिन हुँदा
अनुहार उज्यालो हुँदा तिमी सम्झिजान्छ्यौ।
आजकल
मान्छे हराएको सूचना बोकेर पमप्लेट
मान्छे खोज्न हिँड्छन्
तिमी हराएको सूचना पमप्लेटमा लेख्न नसकेको म
म मनमा सूचना राखेर नियालिरहेको छु
आजकल
ऊ हिँडिरहने यो बाटोमा कोही नहिँडोस् लाग्छ
आजकल
ग उभिइरहने यो चोकमा कोही नअडियोस् लाग्छ
मन हराएपछि त यार
कोही भेटिने आश नलाग्दो रहेछ
सुविधा सम्पन्न
छ लेनको पक्की सडक उतै बनोस्
उतै कतै बनोस्
सपनाको विमान अवतरण गर्ने विमानस्थल
ऊ भएको ठेगाना तिर
जहाँ कसैलाई हराउनु नपरोस्
पटक पटक।
यो हल्का भई टोपलेको हावा
त्यहाँसम्म पुग्छ या पुग्दैन होला?
जहाँसम्म भेटिँदैन उसको ठेगाना।
मलाई उडाउनु छैन उसको बस्ती
बस् शीतल हावा नपाएर निथ्रुक्क भिजाउनु नपरोस् कसैको हुलिया
तर
मन फराकिलो भएर नपुग्दो रहेछ
आजकल ऊ हराइराखेकी छ एकथोक
मेरो सबथोक बोकेर
बडो दु:खले लेखी पठाएको एक पेज पत्र
खामको दैलो समेत नउघारी कतै कुनामा परेछ क्यार
मन नलागेपछि नै हो
कुचाले सबै कोठा बडारी सक्दा पनि
चिठीले भित्ताको कुना छाड्न नसकेको।
साँच्चै
वैकल्पिक राजनीति जस्तो वैकल्पिक प्रेम हुन्छ या हुँदैन?
वैकल्पिक राजनीति जस्तो
वैकल्पिक प्रेम गर्न मिल्छ या मिल्दैन?
म यही सोचिरहेछु, ऊ हराएको ठेगानाबाट।