आफ्नो काम सकेर म उसको घर छेउको बाटोबाट फर्किंदै थिएँ।
आज बाटो पनि पर्यो साथै आफ्नै घरमा राख्न भनेर भर्खरै किनेको सानो फूलको गमला पनि छ, यही बोकेर भए पनि उसलाई भेटेर मात्र जान्छु भन्ने सम्झेर म उसको घरतिर लागें।
म उसको घरको मूलढोकामा पुग्नेबित्तिकै थाहा पाएँ, उसको घरमा केही परिवर्तन भएछ।
उसको घरको मूलढोकामा बाहिरबाट ताला झुन्ड्याएको मैले पहिला कहिल्यै देखेकी थिइनँ। उसको घरको मूल ढोका त सधैं खुला हुन्थ्यो। तर बाहिरबाट ताला लगाएको भए पनि ऊ भने घरभित्र नै छ भन्ने कुरा मलाई राम्ररी थाहा भएकाले मैले उसलाई फोन गरें।
उसले फोन उठाएर चाबी निकाल्न निर्देशन गर्यो।
ढोकामा झुण्डाएको तालाको चाबी निकाल्नको लागि उसले दिएको कोड नम्बर हालेर ढोकाको छेउमा घरको भित्तामा टाँसिएर राखेको सानो बक्सा खोल्नुपर्ने रहेछ। चाबी निकाली ढोका खोलेरभित्र पस्नेबित्तिकै ऊ सुतिरहेको खाट प्रष्ट देखियो।
मलाई देख्नेबित्तिकै मुसुक्क मुस्कुराएर 'माइक भर्खंरैमात्र यहाँबाट गयो। ऊ गयो तिमी आयाै। तिमी बिनाजानकारी आएकी भए पनि तिमीलाई देखेर मलाई धेरै खुसी लाग्यो' भन्दै सुतीसुती उसले मसँग हात मिलाउन उसको हात अघि बढायाे।
'मलाई पनि खुसी लाग्यो' भन्दै घरभित्र राख्न मिल्ने सानो फुलिरहेको गाेदाबरी फूलको गमला उसको हातमा राखिदिएँ।
'राम्रो फुलेको फूल लिएर आएकोमा धन्यवाद' भन्दै फूलको गमला हेरिसकेपछि उसले गमला मलाई दिएर उसको खाटको छेउमा भएको टेबलमा राखिदिन इसारा गर्यो।
म सोफामा बस्न लागेकी थिए। मेरो हातमा झुण्डिरहेको चाबी देखेर उसले भन्यो, 'तिमी बस्नुभन्दा पहिला चाबी लगेर बक्समा राखिदेऊ यदि तिमीले बिर्सेर चाबी लिएर अथवा त्यहीँ छोडेर गयौ भने ठूलो समस्या खडा हुन्छ। ढोका नै फाेर्नुपर्ने हुन्छ। देखिहालेऊ म उठ्न सक्दिनँ।'
उसका कुरा सुनेपछि मैले चाबी पहिलाकै ठाउँमा राखिदिएँ। सोफामा बस्दै अनुहारमा हेरेर उसको अवस्था नियाल्दै थिएँ। ऊ आफ्नो ओछ्यानबाट उठ्न त के सुतीसुती आफ्नो ज्यान समेत सार्न नसक्ने भएछन्।
उसको बाँकीको जिन्दगी एउटा ओछ्यानमा मात्र सीमित भएको छ। आफ्नो घरको एउटा कोठामा भएको ओछ्यानमा मात्र सीमित भएर दिनरात निरन्तर सुतिरहन कति गाह्रो छ। म सोचिरहेको थिएँ कति कष्टपूर्ण छ उसको जीवन तर ऊ भने बिना सिकायत सुतीसुती पहिला जस्तै उत्तिकै रमाइलोसँग गफ गरिरहेको छ।
उसले हाँस्दै भन्यो, 'तिमी नआएको पनि ५ महिना भइसके छ होइन? आजभन्दा पहिलाको हाम्रो भेटमा म ह्विलचेयरमा थिएँ तर अब त ओछ्यानबाट उठ्न नसक्ने भएँ। सानो बालकले जस्तो हरपल डाइपर लगाउनुपर्छ। दुई महिना पहिला अस्पताल गएर दुई हप्ता बसें। अस्पताल गएर निकै कमजोर भएर फर्किएँ। अब त अस्पताल पनि जान्नँ र वृद्धाश्रम पनि जान्नँ। म मेरै घरमा मर्न चाहन्छु त्यसैले मैले यो खाट मगाएको हो। यो मेरो मृत्युलाई पर्खेर बस्ने खाट हो।’
उसले आफ्ना कुरा सुनाइरहँदा मलाई भने एकदम नरमाइलो लाग्यो, सम्झें हामी बिहान उठेदेखि बेलुका नसुतेसम्म भ्याइनभ्याइ व्यस्त हुन्छौं र भइरहेका छौं। पढाइ, काम, विवाह, छोराछोरी, परिवार, आफन्त, इष्टमित्रसँग जोडिएका हामीलाई मृत्युको आगमनको बारेमा सोच्ने फुर्सद होला? ऊ पनि त कुनै दिन हामीजस्तै व्यस्त जीवन बाँचेको मानिस हो।
मानिस कसरी यस्तो व्यस्त जीवनको एक प्रहर यसरी ओछ्यानमा लम्पसार परेर मृत्यु पर्खन बाध्य हुन्छ? निरन्तर सक्रिय जीवन बाँचेको मानिसले आफ्नो जीवनको उत्तरार्धमा कसरी आफ्नो मृत्युलाई यति नजिकबाट नियाल्न सक्छ?
'म मृत्यु पर्खिरहेको छु' भन्नलाई कत्रो ठूलो, विशाल, आकाशजस्तै फराकिलो हृदय चाहिन्छ होला?
समयले ल्याउने शारीरिक अस्वस्थता, दुर्बलताका अगाडि मानिस कति विवश र लाचार छ? जीवनको यथार्थताभित्र अदृश्य भएर रहेको भविष्यमा भोग्नुपर्ने तर कसैले बुझ्न, आकलन गर्न नसक्ने कस्तो नियति, कस्तो लिला हाे हाम्रो जीवन?
म आफूभित्र हराइरहेको बेलामा 'तिमीहरूलाई कस्तो छ?' भनेर उसले सोधेपछि 'हामी सबैलाई राम्रो छ तर तिमीलाई के भएर अस्पताल जानुपर्यो' भनेर मैले सोधें। 'खाएको खानेकुरा पच्दैन, पेटमा केही अडिँदैन। डाक्टरले खानेकुरा पच्न छोडेकोले झोल पदार्थ र फलफूलको रस मात्र खाने गर्नु भनेको छ। तर तिमीलाई थाहा छ, डाक्टरले निषेध गरेको भए पनि मैले हिजो आफैं मगाएर टन्न गुलियो बिस्कुट खाइदिए, खुब मीठो भयो। आखिर जे नै खाए पनि पेटमा अडिँदैन' उसले भन्यो।
'गाह्रो भएछ, अनि के खाँदै छौ त?' भनेर मैले सोधेको मात्र के थिएँ उसले मुख बिगार्दै मतिर हेरेर उत्तर दियो, 'हेर न फलफूल र सुपका बट्टाहरू अब मेरो वरिपरि सबै त्यही त छन। तिनैलाई खाएजस्तो गर्छु। यस्ता कुरा खान के मन लाग्नु, बन्दै मन लाग्दैन, कसरी खानु, खानुजस्तो परेका छन् र? यी बट्टाका खानेकुरा मलाई पटक्कै मन पर्दैन भन्ने कुरा तिमीलाई त थाहा भएकै हो। मलाई त प्रत्येक दिन आफैंले पकाएको मसलेदार मासु खान मनपर्छ तर अब यो पनि सम्भव छैन। अब त म सुतिरहने मात्र हाे, केही पनि गर्न सक्दिनँ। त्यसैले पकाएर खान नपाउने भएँ।'
त्यसो भनिरहँदा उसको अनुहारमा प्रशस्तै निराशा देखिन्थ्यो।
उसको अनुहारको भावबाट नै लाग्दथ्यो वास्तवमा आफैंले पकाएर आफ्नो स्वाद अनुसारको खाना खान नपाएकोमा ऊ अत्यन्त दु:खी छ।
'तिमी हेर त मेरो भान्साकोठा कस्तो छ?' भनेर सोधेपछि मैले ऊ सुतिरहेको कोठाको छेवैमा भएको उसको भान्साकोठाको फोटो खिचेर उसलाई देखाइ दिएँ।
हेरेर हाँस्दै, खुसी हुँदै भन्यो, 'सफा रहेछ, हुन त कसले के पकाएको छ र सफा नहोस्?'
आफैं पकाएर खान नपाएको असन्तुष्टिका बाबजुद पनि फेरि खुसी हुँदै हँसिलो मुद्रामा उसले भन्यो, 'मलाई मेरो यो अवस्थाप्रति कुनै गुनासो छैन। जिन्दगीमा मैले धेरै रमाइलो गरेको छु, म धेरै देश घुमिसकेको छु। मैले त्यो बेला जे गरें, त्यो सम्झेर ल्याउँदा मलाई अझै पनि आनन्द आउँछ। मैले मेरो विगतमा जे जति काम गरें त्यसैको सम्झनामा अहिले भइरहेको जिन्दगी पनि रमाइलो नै लाग्छ। पहिला दुःख गरेर कमाएर पैसा जोगाएर घर किनेकाले गर्दा अहिले म यो अवस्थामा आफ्नै घरमा बस्न पाएको छु। हेर त कति भाग्यमानी छु म, यस्तो अवस्थामा वृद्धाश्रम जानु परेको छैन।
अहिले म सुतेको यो खाट पनि मेरा लागि सजिलो छ। मलाई टिभी हेर्न मनपर्छ त्यसका लागि म यो खाटलाई तल-माथि बनाउन सक्छु। यो अस्पतालमा प्रयोग हुने खाट मलाई मेरो आफन्त (मेराे श्रीमतीपट्टिको भाइ पर्ने) ले किनेर ल्याइदिएको हो। मैले उसलाई खाट किनेको पैसा दिन्छु भनेको थिएँ तर उसले हाल मेरो आर्थिक अवस्था राम्रो छ दिनुपर्दैन भन्यो।
मैले सम्झे अहिले उसलाई पैसाको आवश्यक नभए नदिँदा केही फरक पर्दैन आखिर म मरेपछि मेरो सम्पत्ति उसकै हुनेछ।
तिमी नआएको धेरै भएकाले मैले तिम्लाई भन्नै पाएको थिइनँ। मलाई मेरो गाडी बेचेर पैसा लिन मन लागेन। यत्रो वर्षदेखि मलाई सघाउँदै आएको माइककाे गाडी मेरो भन्दा पुरानो भएकाले गर्दा मैले मेरो गाडी उसलाई दिए साथै मेरो मृत्युपछि मसँग भएको सबै सम्पत्ति बेचेपछि आउने रकम मध्येबाट ५०,००० डलर माइकलाई र ३०,००० डलर पाैलालाई दिनु भनेको छु।
अनि तिमीलाई थाहा छ पाैलाले मलाई अस्ति पनि फोन गरेकी थिई। पन्ध्र मिनेट जति कुरा गरे अर्को महिनामा मलाई भेट्न आउछु भनेकी छ' भन्दै ऊ मुसुक्क मुस्कुरायाे।
म काम गर्न उसको घरमा गएका बेलामा पौलासँग अँगालोमा बाँधिएर खिचेकाे उसको फोटो मलाई देखाउँदै उसले नै भनेको थियो, 'पौला तिम्राे जस्तै काम गर्नको लागि मेराे घरमा आउने गरेकी एक अधबैंसे फिलिपिन्सबाट आएकी महिला हो। जतिबेला पौला मेराे घरमा काम गर्न आई, मेरी श्रीमती बितेको एक वर्ष पनि भएको थिएन। श्रीमती बितेको पीडामा नै पौलासँग भेट भएकाले नै हाेला म पौलाप्रति आकर्षित भएँ।
उसले पनि मलाई माया गरी त्यसैले त मेरो जन्मदिनमा केक लिएर आएकी थिई। माइकले पनि भन्छ तिमीहरू दुई जना यस्तो समयमा भेट भयाै जतिबेला तिमीलाई एक महिलाको मायाको खाँचो थियो। पौला अहिले अर्को सहरमा बस्छे।
तर अर्को सहरमा बसे पनि बेलाबेलामा फोन गरेर मेरो हालखबर सोधिरहन्छे। उसले मेरो सेवा गरेर मसँगै बस्छु पनि भनेकी थिई तर म अब ह्विलचेयरमा सीमित छु, म जस्तो मान्छेले एउटी सुन्दर र जवान नारीलाई कतै घुमफिर गराउन सक्दिनँ, उस्का सबै इच्छा चाहनाहरूलाई पूरा गर्न सक्दिनँ। यस्तो परिस्थितिमा कसरी मेरो सुविधाको लागि मात्र उनका सारा समय र रहर खर्च गर भन्न सक्थें र? त्यसैले मैले नै उनलाई उनको जीवन स्वतन्त्र भएर बाँच भन्ने सल्लाह दिएँ।'
त्यस्तै माइक भनेको उसको छिमेकी हो। ऊ पनि जर्मनबाट नै आएको रहेछ। एउटै देशका मानिस परदेशी भूमिमा भेट भएपछि तिनीहरू आफ्ना आफन्त जस्तै लाग्ने रहेछन्। यो मेरो व्यक्तिगत भोगाइको अनुभव पनि हो। माइकले पनि उसलाई आफन्तको व्यवहार गरेको छ। ऊ ओछ्यान पर्नु अगाडि जब ह्विल चेयरमा बस्थे, त्यतिबेलादेखि नै ४,५ महिनामा एकपटक उसको गाडीमा राखेर माइकले उसलाई स्टोर लागेर छोडिदिने र आफ्नो काममा जाने अनि उसले सामान किनिसकेर फोन गरेपछि घरमा ल्याइदिने र सामान राख्न सहयोग गरिदिने गरेको थियो।
प्रत्येक दिन समय मिलाएर एकपटक उसलाई भेट्न उसको घरमा आउने र उसलाई आवश्यक परेका सामान ल्याइदिने गरेको माइक अझैसम्म पनि नियमितरूपमा उसको घरमा आउने जाने गरिरहेको छ।
मलाई लाग्छ भगवानले उसलाई साथ दिएका छन् र त उसले माइक जस्तो मनकारी, सहयोगी छिमेकी पाएको छ जाे आफू किड्नीको बिरामी भएकाले डायलासिस गराउन अस्पताल धाइरहनु परे पनि छिमेकीको नाताले उसलाई पनि उत्तिकै हेरचाह गरिरहेको छ।
उसको घरमा काम गर्न जाँदा धेरैपटक मेरो पनि माइकसँग भेट भइसकेको छ।
ऊसँग कुरा गर्दागर्दै मेरो मन भने हाम्रो जीवनको वास्तविकता गएर टक्क अडिन पुग्यो। जीवन जिउने क्रममा भोलिका दिनमा आइपर्ने कठिनाइ कस्ता हुन्छन् कसैलाई थाहा हुँदैन।
मैले देख्दा उसको जीवन एकदम नै कष्टकर छ। ऊ आफ्नै घरभित्र भएका सुत्ने कोठा, नुहाउने कोठा, भान्साकोठा कतै जान सक्दैन। ऊ एउटा ओछ्यानमा सीमित भएको छ, आफ्नो ओछ्यानबाट बाहिर जान त के यताउता फर्किन समेत सक्दैन र अब यसरी अरू कति दिन बाँच्नुपर्ने हो, त्यो कसैलाई थाहा छैन।
म जे पनि गर्न सक्छु भन्ने त शरीर स्वस्थ हुँदा र उमेर हुँदा मात्र हो। यसरी एउटै ओछ्यानमा २४ घण्टा सुतेर बिताउनु पर्दा कति गाह्रो भएको होला? न कोही छन् वरिपरि बसेर फुर्सदले उसको सुखदुःखका कुरा सुनिदिने, न कोही छन् भोलि उसलाई सम्झेर एकछाक छोडिदिने तर पनि उसलाई त्यसमा कुनै गुनासो छैन।
यस्तो अवस्थामा पनि आज मसँग भेट हुँदा ऊ पहिला जस्तो थियो त्यस्तैगरी उस्तै हर्षित मुद्रामा पाँच महिनादेखि सुनाउन नपाएका विषय सुनाउनका लागि निरन्तर बोलिरहेको छ।
उसले मलाई त स्रोता मात्र बनाइरहेको छ। मलाई पनि थाहा थियो, उसलाई धेरै बोल्न मनपर्छ त्यही भएर म उसका कुरा सुन्नलाई तयार भएर आएकी छु। ऊ भने उसका पुराना नयाँ सबै कुरा मलाई सुनाइरहेको थियो तर जति सुने पनि नसकिने उसका कुराहरूलाई टुंग्याउँदै दुई घन्टाजति बसेर म घर फर्कें।
घर आएपछि पनि म उसलाई याद गरिरहेकी छु, उसकै बारेमा सोचिरहेकी छु। आजको उसँगको भेटले मलाई जीवनमा नयाँ कुरा सिक्ने अवसर प्रदान गर्यो। उसको त्यो अवस्थालाई देखेपछि मलाई नयाँ प्रेरणा मिल्यो।
जीवन रमाइलो छ, उमेर हुँदा अनि शरीर स्वस्थ हुँदा नै आफूलाई मन लागेका कुरा गर्दै जानुपर्छ। भोलि त कसले देखेको छ, कसको नियतिमा के छ? कसले के भोग्नुपर्छ? त्यसैले जीवनमा सकारात्मक सोचका साथमा सम्झनयोग्य काम गरेर बाँच्नुपर्छ, तिनै सम्झनाले बुढेसकालको एक्लोपनमा पनि खुसी दिइरहने रहेछ।
आज उसको अवस्था हेरेर आएपछि म अझै भावुक भएँ। पहिलादेखि नै मलाई अति नरमाइलो लाग्थ्यो जब म उसको घरमा पुग्थें। हुन त मैले उसलाई चिनेको धेरै भएको छैन तर पनि उमाथि मेरो सहानुभूति छ।
उसलाई भेटेदेखि नै मलाई लागेको थियो कि यो मान्छेको घर मेरो घर छेउमा भएको भए म कम्तीमा दिनको एकपटक समय मिलाएर उसलाई अवश्य भेट्थें साथै मैले घरमा पकाएका खानेकुरा ऊसँग बाँडेर खान्थें र सँगै बसेर उसका कहिल्यै नसकिने कुरा सुनिरहन्थे। ऊसँग भेट भएको धेरै नभए पनि मलाई उसको कुरा सुन्दा, ऊसँग कुरा गर्न पाउँदा रमाइलो लाग्छ।
महानगरपालिकाले निम्न आय भएका जेष्ठ नागरिकहरूका लागि प्रदान गर्ने सेवा अन्तर्गत घरभित्रको सामान्य सरसफाइको काम गर्न क्रममा सन् २०१५ मा म उसको घरमा गएकी थिएँ।
यही कामको सिलसिलामा १६ पटकसम्म म उसको घरमा गएँ। पहिलो दोस्रो भेटमा नै उसले मलाई उसको संघर्षपूर्ण जीवन कथाको स्रोता बनाउन भ्याइसकेको थियो। मलाई पनि काम गर्नुपर्ने ठाउँमा बसेर कथा सुन्न पाउँदा रमाइलो नै भयो।
पहिलोपटक मैले उसलाई भेट्दा म अचम्ममा परेकी थिएँ। म बुढाबूढीका घरमा काम गर्न जान थालेकाले बुढाबूढीहरू आफ्नो घरमा एक्लै बस्छ रुचाउने र उनीहरूलाई आवश्यक पर्दा उनीहरूका सन्तानले आएर सघाउने गरेको देखेकी थिएँ तर यसरी एक्लो मान्छे घरभित्र ह्विलचेयरमा, आफन्तविहीन पनि बस्न सक्छ भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको थियो। ऊ आफ्नै घरभित्र एक्लै ह्विलचेयरमा बसेको भए पनि अत्यन्तै खुसी थियो।
मेरो कामको पहिला दिन उसले मलाई ह्विलचेयरमै बसेर 'म एक्लै बस्ने भएकाले मेरो घर सफा नै हुन्छ भन्दै घरभित्रका कोठा देखाउने क्रममा कोठामा भएका फोटा पनि देखाउँदै मेरी श्रीमती बितेको १२ वर्ष भयो, म ८४ वर्षको भएँ' भनेको थियो।
म उसको घर जाने भएकोले मलाई उसको दिनचर्या बुझ्न गाह्रो भएन, त्यसमाथि पनि विस्तारै-विस्तारै उसले उसका जीवनमा घटेका सबै कुरा सुनाउँदै जान थाल्यो। हिटलरको शासनकाल प्रत्यक्ष भोगेको उसले जर्मनमा हिटलरको शासन कस्तो थियो? हिटलरको विरूद्धमा बोल्नेलाई कसरी हिटलरका सेनाले घरबाट निकालेर गायब गरिदिन्थे? प्रत्येक साँझ जनताले आफ्नो घरमा हिटलरको तस्बिर अगाडि दियो बालेको छ कि छैन भनेर हेर्न कसरी हिटलरका सेना सञ्चालित थिए?
यदि कसैले दियो बालेन भने सेनाले आएर उसको घरमा के गर्थे? हिटलरको शासनकालमा जर्मनका सर्वसाधारण जनता कति त्रसित र आतंकित थिए? सहरमा बम बारुदको कोलाहालका साथमा मृत्युको भयमा प्रत्येक रातदिन बिताउनु पर्दा जीवन कति कष्टकर थियो?
त्यस्तो विषम परिस्थितिमा उसको बाल्यकाल कसरी बित्यो र ऊ कति पीडित थियो? बाल्यकालका प्रत्येक दिन प्रत्यक्षरूपमा हिटलर शासनको ज्यादती आफ्नै आँखा अगाडि हेरेर हुर्किएको ऊ १५ वर्षको उमेरमा स्वतन्त्र जीवनयापनको सुन्दर सपनाकै खोजीको क्रममा आफ्नो परिवार, आफन्त, इष्टमित्र सबै छोडेर बाटामा अनेकौं समस्याको सामना गर्दै एक्लै कसरी क्यानडा आइपुग्यो?
पढ्नुपर्ने समयमा पढाइमा भन्दा प्रकृतिमा बढी रुचि भएकाले अपुरो पढाइका कारण क्यानडा आइसकेपछि पनि कसरी संघर्ष गर्दै काठको काम गर्ने ठाउँमा सामान्य कामदारका रूपमा प्रवेश गर्यो ?
आफ्नो कामप्रतिको मोह, लगाव र निरन्तर मेहनतले कसरी चाँडै नै काममा निपूर्ण बन्यो?
४० वर्षको हुँदा जर्मनबाट नै आएकी उमेरले आफूभन्दा १५ वर्ष जेठी महिलासँग कसरी उसको भेट भयो अनि कसरी घर किनेर उनीहरूसँगै बस्न थाले? विस्तारै समयसँगै सबै कुरा राम्रो हुँदै गर्दा कसरी उसकी श्रीमती बिरामी परिन् ?
कसरी उसले रोगी श्रीमतीको घरमा नै राखेर हेरचाह गर्यो ? कस्तो अवस्थामा उनको मृत्यु भयो?
श्रीमतीको मृत्यु पछाडि कसरी उसमा शारीरिक दुर्बलता देखापर्यो? कसरी विस्तारै उसको खुट्टा सुनिँदै जान थाले अनि ऊ ह्विलचेयरमा सीमित हुन पुग्यो? अत्यन्त व्यस्त जीवन कसरी एउटा कोठामा मात्र सीमित हुनपुग्यो? आदिइत्यादि उसको जीवनसँग गाँसिएर रहेका सबै कथा सविस्तार सुनाइसकेको थियो।
सिंगै घरमा एक्लो मान्छे ह्विलचेयरमा बसेर आवश्यक हुँदा ट्वाइलेट जाने, आउने, ह्विलचेयरमा नै बसेर आफूलाई मन परेको खानेकुरा पकाउने अनि बाँकी भएको समय ह्विलचेयर छेउमा राखेर लिभिङ रूममा भएको सोफामा बसेर टिभी हेरिरहेको हुन्थ्यो।
रातिको १२, १ बजेसम्म टिभी हेरेर बिताउँछु, त्यसैले बिहान ढिलो उठ्छु भन्थ्यो।
म दिउँसो १२ बजे जाँदा बिहानको कफी पिउँदै हुन्थ्यो। मैले मेरो काम सकेपछि ३ बजेतिर उसको दिउँसोको खाना खाने बेला हुन्थ्यो। ह्विलचेयरमा नै बसेर खुव मेहनत गरेर मसलेदार मासु पकाउँथ्याे। उसले पकाएको मसलेदार मासु मलाई चाख्न दिन नपाएकोमा दुखी हुन्थ्यो किनकि म साकाहारी भएको कुरा मैले उसलाई भनेकी थिएँ।
कहिलेकाहीँ बाहिरबाट खानेकुरामा मगाउँथ्यो त्यसमा मैले खान मिल्ने कुरा पनि मगाएको हुन्थ्यो र आज हामी सँगै बसेर खाऊँ भन्थ्यो यसरी कहिलेकाहीँ हामी सँगै बसेर कुरा गर्दै खाने गर्थ्यौं।
दुई हप्तामा एकपटक ३ घण्टाको लागि म उसको घरमा जानुपर्ने भए पनि कहिल्यै नसकिने उसका कुरा सुनेर तीन घण्टाभन्दा बढी पनि बस्थेँ। तर यसैबीचमा एकदिन मैले यो काम छोडेकाे र अर्को हप्तादेखि उसको घरमा नआउने जानकारी गराएँ।
मेरो कुरा सुनेर दुखी हुँदै उसले 'पक्कै पनि यो भन्दा गतिलो काम पाएर यो काम छोड्न लागेको होला, तिमीलाई राम्रो होस्, शुभकामना छ। कहिलेकाहीँ समय मिलाएर, साथी सम्झेर मलाई भेट्न आउँदै गर्नू। मलाई तिमीसँग गफ गर्न मनपर्छ। म तिमीलाई याद गरिरहन्छुुु' भन्दै सोही दिन उसले मलाई सानो उपहार पनि दियो।
केही समयपछि फोनमार्फत उसको हालखबर बुझें र उसको आग्रहमा सपरिवार उसलाई भेट्न गएँ। उसले मेरो परिवार देखेर खुसी हुँदै भन्यो, 'तिम्राे परिवारलाई भेटेर म आज अति नै खुसी भएको छु। तिम्रा यी साना छोराहरूलाई अरूको सेवा गर्नुपर्छ भनेर सिकाउनू, मेरा छोराछोरी छैनन्। मेरा छोराछोरी भएका भए म उनीहरूलाई माइकजस्तै बन्नु भन्ने थिएँ।'
त्यसपछि पनि समय समयमा फोन गरिरहने, उसलाई भेट्न जाने गरिरहने गर्थें। उसको शारिरीक अवस्था अनि एक्लोपन देखेर माया लागेर आउँछ।
७२ वर्षको उमेरमा श्रीमती बितेपछि एक्लो भएको ऊ १० वर्षदेखि आफ्नो घरमा एक्लै ह्विलचेयरमा सीमित भएको थियाे। तर अहिलेको उसको अवस्था त्यो भन्दा नाजुक छ।
कामको सिलसिलामा जो उसको घरमा आइपुग्छ उनीहरूसँग मात्रै उसको प्रत्यक्ष कुराकानी हुन्छ।
छोराछोरी आफन्त कोही छैनन् तर यति हुँदाहुँदै पनि एक्लो मान्छे ओछ्यानमा लमतन्न परेर खुसीसँग बाँचेको छ।
बिहान ७ बजे, दिउँसो ३ बजे र राति ११ बजे गरेर दिनमा तीनपटक उसलाई सफा गरिदिन आउने मान्छेसँग बोल्न पाउँदा पनि ऊ अति नै खुसी छ।
आखिर जीवनमा आत्मसन्तुष्टिभन्दा बाहिर मानिसलाई के नै चाहिने रहेछ र खुसी भएर बाँच्न? आफन्त, छोराछोरी, इष्टमित्र कसैसँग केही आशा नभएपछि एक्लै बाँच्न सजिलै हुने रहेछ।
उसका पनि छोराछोरी, आफन्त भइदिएका भए पक्कै पनि केही गुनासा रहन्थे होला? तर एक्लो बाँचेको मानिसलाई कसैसँग केही आशा नभएपछि निराश हुनुपर्ने कुनै कारण पनि नहुनाले होला सायद यस्तो अवस्थामा पनि ऊ खुसी भएर दीर्घायु बाँच्न सकेको भन्ने निचोडमा आज म पुगेकी छु।