पूजनीय बाबा-आमा, तपाईंहरु आरामै हुनुहोला। म भने यहाँ आरामै छु। यताको खबर त्यता जाँदैन होला, तर त्यताको खबर यता आइरहन्छ।
मजस्तै गरी दिनहुँ धेरै बहिनीहरु आउँछन् भने निर्मला पन्त, सम्झना विक, भागिरथी भट्ट जस्ता दिदी बहिनीहरु पनि दिनहुँ आइरहनु हुन्छ। उहाँहरुमार्फत मैले हजुरहरुको खबर प्राप्त गर्ने गर्दछु। कहिलेकाहीँ याद आएमा मेरो चिन्ता नमान्नु बाबा-आमा, म आरामै छु।
हजुरहरुलाई मेरो त के चिन्ता होला र? म हजुरहरुकै चाहनाअनुसार यहाँ आएकी हुँ तर मलाई बाबा-आमा, मभन्दा अघि जन्मिएकी दिदी र मपछिको चाहेको भाइको बारेमा सधैँ चिन्तित हुने गर्दछु- कस्तो छ उहाँहरुलाई भनेर।
दिदी (पहिलो छोरी) जन्मिँदा घरमा लक्ष्मीको बास भयो भन्ने हाम्रो समाजमा दोश्रो तेश्रो सन्तान छोरी किन लक्ष्मी हुन सक्दैनन्? होस् यसमा मेरो तर्क गर्नु केही छैन, अब म मेरो इतिहास बताउन चाहन्छु। कृपया बाबा-आमा यसलाई स्विकार्नु होला तर चिन्ता नमान्नू।
जब दिदी जन्मेको केही अन्तरालमा मैले बाबामार्फत आमाको कोखमा बास गरेँ, त्यतिन्जेल तपाईंहरु ज्यादै खुसी हुनुहुन्थ्यो तर बाबाले सधैँ भन्ने गर्नु हुन्थ्यो 'यो त छोरै हुनु पर्छ र तिमीले छोरो जन्माउनु पर्छ।'
त्यसैमा आमाले 'छोरै त होला नि' भन्दा मेरो मनमा कस्तो पीडा हुन्थ्यो किनकि म छोरी भैसकेकी थिएँ। आमा म हजुरको कोखमा हुर्कँदै थिएँ, तपाईंलाई टोल, छिमेक, समाज सबै ठाउँकाले सोध्थे 'अहिले त छोरै पाउने त होला नि, पहिले छोरी छिन्, पहिल्यै चेक गराऊ है' भन्दै।
बाबाका अफिसमा पनि सबैले 'पहिले छोरी भएपछि त यस्तो टेन्सन हुन्छ, धेरै बनाउन नसकिने छोरा चाहिने तपाईं पनि चेक जाँच गराउनु है बेलैमा' भनेको कुरा साँझमा आमासँग भनेको सुन्थेँ। आमा भने यस्तोभन्दा अलिकति निराश भए जस्तो गर्नु हुन्थ्यो अनि म पनि आमासँगै निराश बन्थेँ, र सोच्थेँ 'म किन छोरी बनेछु हँ!'
म आमाको कोखमा बढीरहेकी थिएँ। कसैले भारत र नेपालको बोर्डरमा छिट्टै पत्ता लगाउँछ रे छोरा छोरी भन्थे भने कोहीले यही पनि पत्ता लगाउँछन् भन्ने कुरा आमासँग गरेको कुराबाट सुन्थेँ। तर मलाई आशा थिएन कि म बुबा-आमाको सहमतिले मारिन्छु भन्ने।
दिनहरु बढ्दै जाँदा म चल्न थालेँ। आमा खुसी हुनु हुन्थ्यो, मेरो लागि र आफ्नो लागि पोषिलो खानेकुरा खाइरहनु हुन्थ्यो। मैले पनि पोषण पाइरहेकी थिएँ,। तर बाबा-आमा भने ढुक्क हुन सक्नु भएको थिएन।
सधैँ साँझमा बाबा आमाले कुरा गर्नु हुन्थ्यो, गर्भमा बाबु कि नानी, दुवै जनाको मनोइच्छा छोरा नै थियो। कहिले बाबा-आमा दुवैले भन्नु हुन्थ्यो 'जे भए नि हुन्छ, छोराछोरीमा के विभेद, आखिर राम्रा भए छोराछोरी दुवैले राम्रो गर्छन्। नराम्रा भए न छोरा न छोरी जे भए नि त्यस्तै हो।'
त्यत्तिकैमा बुबाले भन्नु हुन्थ्यो, 'के गर्ने, तिमीलाई र मलाई त हुन्थ्यो तर छरछिमेक र समाज सल्लाहकार बन्न थालिसकेका छन्। यसो गर उसो गर, अचम्म छ समाज पनि!' तिनी कुरा गर्दा भने आमा पनि धेरैजसो टोलाउनु हुन्थ्यो र भन्ने गर्नु हुन्थ्यो 'छोरो भए त हुन्थ्यो।'
बाबा-आमाको खुसीको लागि सक्ने भए म पनि छोरा बन्थेँ। तर के गर्नु, म बाबाबाटै छोरीको रुपमा प्रवेश गरेकी थिएँ। आमाको पनि मैले बल्ल बाध्यता बुझेँ, छोरा पाउन नसके फेरि हामी आमा बिनाका हुन सक्थ्यो, भन्ने कुरा मैले यहाँ आएर बल्ल बुझेकी छु।
समाज, घर हुँदै बाबा-आमाका कुराले मलाई साह्रै नमज्जा लाग्न थालेको थियो। अब उहाँहरुले म छोरी भएको थाहा पाएपछि पक्का पनि बेखुसी हुनेहोला भन्ने। समय बित्दै गयो, बाबा-आमा धेरै मठमन्दिर धाउनु भयो, घरमा पूजाआजा लगाउनु भयो। म छोरीलाई छोरा होओस् भनेर तर यथार्थता कहाँ बदलिन्छ र? म छोरी नै थिएँ जे गरे पनि छोरा हुने संभावना थिएन।
कसैले भन्थे, छोरा पाउन त धर्म गर्नु पर्यो नि।' र मैले सोच्थेँ, छोरी पाउनेहरु सबै अधर्मी र पापी हुन्, कस्तो सोच भन्दै टाउको हान्थेँ। लिंग छोरीको भए पनि मैले बाबा आमालाई छोराले गर्ने सबै कर्तब्य पूरा गर्थेँ, तर समाज र परिवारलाई नै छोरा नै चाहिँदो रहेछ र सबै मिलेर मलाई कोख मै मर्ने योजना बनाइयो।
आमाको स्वास्थ्य जाँच भैरहेको थियो, विभिन्न ठाँउमा स्वास्थ्यकर्मीहरुले चेक जाँच गरेर राम्रै छ, बच्चाको विकास भएको छ भनेको सुन्थेँ र म आफै खुसी हुन्थेँ। आमालाई आराम गर्न र पोषिलो खानेकुरा खान सुझाउँथे उनीहरु।
त्यसै क्रममा तीन महिना पुगेपछि बाबा आमाको सल्लाहअनुसार भिडिओ एक्सरे गर्ने सल्लाह गर्नु भयो र सल्लाहले मलाई भने नराम्रोसँग झस्कायो, किनकि त्यहाँ मेरो पहिचान हुनेवाला छ र पहिचान भयो भने मेरो मृत्यु अवश्य छ।
भिडिओ एक्सरे गर्न आमा र बाबा भएर अस्पताल जानु भयो, आमा भने निराश हुनु हुन्थ्यो के होला? यदि छोरी भए कसरी फाल्ने भन्ने कोखमा हुर्कंदै गरेको सन्तान र आफ्नो शरीरको पनि।
भिडिओ एक्सरे गरियो। डाक्टरले 'आहा! कत्ति सप्रेको बच्चा, सबै कुरा राम्रो छ, चिन्ता गर्नु पर्दैन, तपाईंको अन्य समस्या भए महिला सम्बन्धी डाक्टरलाई देखाउनुहोस्, आइरन खानुहोस्, पोषिलो खानपिन गर्नुहोस्, बच्चाको सबै विकास भएको छ, केही समस्य छैन' आदि भन्नु भयो।
रिपोर्ट दिँदै गर्दा बाबाले डाक्टर साबलाई सोध्नु भो, 'डाक्टर साब, हाम्रो पहिलो छोरी छिन्। यसो अहिले के छ हेर्न पाए हुने, छोरी भए त साफ गर्ने मन छ।'
त्यति के भन्नु भएको थियो डाक्टरले जोडले बाबालाई हकार्नु भो। 'के हुनु बच्चा छ, जन्मेपछि थाहा हुन्छ, यस्तो काम मबाट हुँदैन, यो पाप र अपराध हो। यस्ता कुरा नगर्नू' भनेर सम्झाउँदै 'छोरा भए नि छोरी भएनि केही फरक पर्दैन। यस्तो देख्दा पढे-लेखे जस्तो देखिनु हुन्छ, कुरा भने घटीया गर्ने' भनेर डाक्टर रिसाएपछि बाबा र आमा रिसाउँदै केही नभनी फर्किनु भयो।
त्यसले मलाई भने साह्रै खुसी लागेको थियो। आमा पनि केही मात्रामा खुसी हुनु हुन्थ्यो भने बाबा भने फायर है हुनु भएको थियो।
ती डाक्टरले नगरेको खबर बाबा आमाले को-कसलाई बताई भन्नु भो। फेरि कोही यस्ता भगवान जस्ता पनि डाक्टर रहेछन् भने कोही पैसाको लागि जे पनि गर्ने डाक्टर हुँदा रहेछन्। जसले यस्तै अवैधानिक काम मात्रै गर्ने, फेरि बाबा आमालाई लिएर जानु भो त्यहाँ पहिला नै सबै कुरा भएको रहेछ।
आमाको भिडिओ एक्सरे गर्नु धेरै समयपछि डाक्टरले सुस्केरा हाल्दै भन्नु भो, 'छोरी छ तपाईंहरुको' भनेर। बाबा मुर्छा पर्नु भो भने आमा निराश हुनु भो। बाबा-आमाले डाक्टरलाई पुनः सोध्नु भो, पक्कै होनि डाक्टर साब छोरी नै छ, कस्तो भाग्य रहेछ! यसपालि पनि छोरी नै। अब के गर्ने!' भन्दै चिन्ता लिन थाल्नु भयो।
त्यसपछि मलाई पनि साह्रै चिन्ता लाग्यो र रुन थालेँ। म भएकोमा बाबा आमालाई यति दुःख किन होला भन्ने मनमा पिर परीरह्यो। अनि बाबा-आमाले डाक्टरसँग सल्लाह गर्नु भयो।
डाक्टरले पनि सोध्नु भयो, 'के गर्ने विचार छ, त्यो तपाईंहरुको कुरा हो। अरु बच्चाको सबै ठिक छ तर बच्चा छोरी हो' भन्दै रिपोर्ट दिनु भयो। 'तपाईंहरुको विचार साफ गर्ने हो भने मैले चिनेको डाक्टर छ, त्यहाँ जानू' भन्दै बाबा-आमालाई बताइदिनु भयो।
बाबा-आमालाई चिन्ता थियो त म छोरी भएको मात्रै थियो, न आमालाई पछि पर्ने शारीरिक समस्या, बाबालाई पर्ने आर्थिक समस्या, समाज विकसित भएछ भने पर्ने सामाजिक समस्या केहीको थिएन। मैले भित्रैबाट धिक्कार गर्दै थिएँ कस्तो समाज, कस्तो पेसा? कमसेकम यी डाक्टरले पनि पहिलाको डाक्टरले जस्तै सकरात्मक किसिमले सम्झाएको भए त म बाच्थेँ नि।
अनि सोच्थेँ फ्याक्ट्री नै फाल्नेवाला छ त यी डाक्टरलाई केको दोष, यिनले नभए बाबा आमा फेरि अर्कोकोमा पक्कै पुग्नु हुन्छ। किनकि उहाँहरुलाई दोश्रो सन्तान छोरा चाहिएको छ।
सबै कुरा पहिला नै भैसकेको थियो, अब म बाच्ने कुनै आश थिएन। म दुखी थिएँ, सबैभन्दा दुखी त कस्तो कर्म लिएर गर्भ लिएछु, बाहिरी संसारै नदेखि मर्ने भएँ भन्ने कुरोले म रोईरहेँ। यसरी मर्ने भन्ने थाहा पाएर केही समय बाच्नु जस्तो पीडा केही नहुँदो रहेछ। यो मानिसलाई हुने भनेकै गर्भमा होला, बाहिरी संसारमा यस्तो पक्कै पनि हुँदैन।
निश्चित समयमा मेरो हत्याको लागि सबै कुरा तयार भए। आमालाई महिला सम्बन्धी यस्तै एबोर्सन गराउने डाक्टरकोमा लगियो, सबै कुरा सोधियो। त्यहाँ पनि भनियो किन यस्तो गर्ने? यस्तो गर्दा स्वास्थ्यमा असर पर्छ, पैसा धेरै लाग्छ, छोरा छोरीमा के फरक छ र हामी तपाईं छोरी त हौ नि भन्नेसम्मका कुरा भए तर बाबा आमालाई तीभन्दा पनि समाजमा रहेको कलंक ठूलो लाग्यो र अन्तत तयार हुनु भयो मलाई गर्भमै मार्न।
म आफैँ बेहोस भएँ, मेरो मृत्यु पक्का भयो। कुन्नी किन हो आमा फेरि दुखित हुनु भो, त्यसले मलाई बिउँझायो। आमालाई बाबाले सम्झाउनु भयो अनि आमा पनि राजी हुनु भयो र मेरो हत्या सुरु भयो। डाक्टरले आमालाई के-के औषधी दिनु भयो अनि आमा पहिले र म केही समयपछि हल्का बेहोस भयौँ।
डाक्टरले पनि आमालाई बुझाउँदै हुनु हुन्थ्यो केही हुँदैन, अलि ठूलो भएपछि भने समस्या हुन्छ। तपाईंहरुको सानो छ, यहाँ त कत्ति ठूला-ठूला भएर पनि आउनु हुन्छ, केही समय आराम गरेपछि ठिक हुन्छ भन्दै आफ्नै पेसाको दक्षता तर्फ लाग्दै मार्न तयार हुनु भो।
मलाई घोप्न थालियो, सुई लगाउन थालियो, औषधि दिन थालियो र मलाई विभिन्न औजारहरु हालेर चोक्टा चोक्टा पारेर निकालियो। मलाई क्षत विक्षत अवस्थामा आमालाई देखाइयो। मेरो अन्तिम रुप रगतको स्वरुपमा देखेपछि आमा केही बेर रुनु भयो, छोरी भएकोमा धिक्कार गर्दै।
मेरो र आमाको अन्तिम भेट आमा होसमा म निस्प्राण भएर भयो तर पनि आमाले देखाएको मायामा म स्तब्ध भएँ र मेरो यात्रा तय गरेँ। मलाई दुःख लाग्यो त्यहाँ मैले मेरा बाबाको मुख हेर्न पाइनँ।
जब तपाईंहरुले मलाई स्वर्गमा पठाउनु भयो, केही दिन मलाई साह्रै नरमाइलो लाग्यो। चिन्ता लाग्यो, बाहिरी संसार देख्न नपाउँदै मलाई आमा बाबुकै सहमतीमा किन मारिएँ होला भन्ने चिन्ताले मेरा आँखा ओभानो भएनन्।
समय बित्दै जाँदा यहाँ पनि मजस्तै थुप्रै दिदी बहिनीहरु पनि यसैगरी यात्रा गरेका रहेछन्। पछि दुखीले दुखी भेटेपछि सुख मिल्छ भने झैँ म पनि सबैको साथी बनेँ, आ-आफ्ना कुरा साटासाट गरियो। सबैको घरमा यस्तै हुँदो रहेछ भनेर चित्त बुझाएर बसेकी छु।
बुबा-आमा त्यहाँ कस्तो छ, कहिलेकाहीँ त पक्कै पनि मलाई मिस गर्नु हुन्छ होला। किनकि केही समय म आमाको अंग र बाबाको सन्तान भएर पक्कै पनि साइनो गाँसेकै हो। के गर्नु समाज र कुरीतिले गर्दा आफ्नै बुबा-आमाबाट पो मारिन पर्यो र हो नत्र त हाम्रो सम्बन्ध कस्तो प्रगाण हुने थियो।
बाबा-आमा, अब हजुरहरुले छोराको चाहनाले जन्मिएको तपाईंको छोरा, मेरो भाइले कसैलाई बलात्कार नगरोस्, भाइले छोरी भनेर गर्भमा नमारोस्, दिदीलाई कसैले हिंसा, हत्या र बलात्कार नगरोस्, हजुरहरुलाई मेरो भाइले वृद्धाश्रममा लगेर नराखोस्।
समाज धेरै परिवर्तन भएको छ होला, तपाईंको घर परिवारमा परिवर्तन कोही आएर गर्दैन। आफै गर्ने हो, परिवर्तन हुनुहोस्। यसरी गर्भमै छोरी भएको कारण नमार्न सबैलाई सुझाव दिनुहोस्। आमा, तपाईंलाई बुढेसकालमा मेरो कारणले केही समस्या आउन सक्छ होला, त्यसप्रति म धेरै धेरै क्षमाप्रार्थी छु।
बुबा-आमा तपाईंहरुले मेरो बारेमा चिन्ता नमान्नु होला, म त्यहाँभन्दा यहाँ हाँसीखुसी नै छु। बरु त्यहाँ भए पनि म कुनै न कुनै बेला मारिने नै थिएँ। मलाई कसैले बलात्कार गरेर मार्थ्यो होला, कसैले एसिड हानेर कुरुप बनाउँथ्यो होला, कसैले दाइजो कम लिएको दोषमा पेट्रोल खन्याएर जलाउथ्यो होला, कसैले छोरा नपाएको निहुँमा घर निकाला गरेर मागेर खाने गराउँथ्यो होला,
कसैले बम्बईको कोठीमा लगेर वेश्यावृत्तिमा लगाई नारकीय जीवन बिताउनु पर्थ्यो होला, कोही मेरै बुबा, हजुरबुबा, भाइ, दाइ, काका लगायतका आफन्तबाट बलात्कृत हुनु पर्थ्यो होला। मैले पनि छोरा नपाएको झोकमा यस्तै अपराध गर्नु पर्थ्यो होला।
यी यतिका हुनबाट मलाई हजुरहरुले बचाई भित्रै मारिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद छ। म पटक-पटक मारिनबाट बचाई गर्भमै मारी सुरक्षित राख्नु भएकोले धन्य बाबा, धन्य आमा।
हाम्रो भेट ढिला चाँडो यही हुने नै छ। म तपाईंहरु लगायत छोरीलाई गर्भैमा मार्दा पाप लाग्दैन भन्ने समाज, भ्रुण पहिचान गर्ने र हत्या गर्ने समस्त पेशाकर्मी लगायत यस्तो घिनौना कार्य र विचार भएकाहरु अन्तिम गन्तव्य स्वर्ग र नर्कको गेटमा हुनेछु। त्यही भेटमा विस्तार गरौँला। धन्य बाबा, धन्य आमा।
तपाईंहरुको छोरा हुन नसकेकी छोरी।