'ठुली भएपछि म त जून बन्ने हो।' उसले जून जस्तै बन्ने रहर गर्थी।
'जून बन्ने रहर किन गरेकी नि जुनू?' मैले प्रश्न गर्थेँ।
उनको उत्तर थियो, 'मेरी हजुरआमाले भन्नु भएको जून राम्रो हुन्छ रे। पूर्णिमाको रातमा त झन् बाटुलो जून सुनौलो बनेर उदाउँदा सबैले मन पराउछन् रे। अँध्यारो रातमा किरण छरेर उज्यालो पारिदिन्छ रे। 'ठुली भएपछि मेरी नातिनी राम्रो मान्छे बन्नु पर्छ। जूनले जस्तै समाजमा उज्यालो छर्न सक्नु पर्छ। सबैकी प्यारी हुनु पर्छ' भन्नु हुन्छ।'
हजुरआमाले सिकाउनु भएको कुरा सुनाउँथी।
'तिमी ठूलो भएपछि के बन्छौ गमू?' मेरो इच्छा सोध्थी।
'केही नाइँ' मैले छोटो उत्तर दिन्थेँ।
'केही त बन्ने होला नि। मलाई नभनेर मात्रै हो।' उसले अड्कल लगाउँथी।
'म जून बन्छु। तिमी आकाश बन्नू। हामी सधैँ सँगसँगै हुनेछौँ। हुन्छ?' उनले मलाई ठूलो भएपछि आकाश बन्छु भन्न कुर्थी। कारण हामी सधैँ सँगसँगै हुनु पर्छ भन्ने उनको अर्को भित्री आशय रहेछ। त्यो उनको निर्दोष चाहना थियो।
चञ्चले स्वभावकी जुनासँगै हुँदा केही न केही कुरा सोधी रहन्थी। उनको र मेरो घर एउटै गाउँ तर फरक टोलमा थियो। हामी एक वर्षले मात्र फरक थियौं। उनको टोलमा उनी सँगैका दावली साथीहरू थिएनन्। त्यसैले सानैदेखि मेरो संगत गर्दिरहेछे। त्यो कुरा म ठूलो भएपछि मेरी आमाबाट थाहा पाएँ।
हामी सँगै खेलेर हुर्क्यौँ। सँगै स्कुल पढ्न थाल्यौँ। हाम्रो कक्षामा उनको रोल नम्बर एक हुँदा, मेरो दुई। मेरो एक हुँदा उनको दुई भएर पढ्दै गयौँ। जसरी हामी सँगै थियौँ त्यसरी नै हाम्रो पढाइको स्तर पनि उस्तै स्तरमा थियो।
स्कुलका शिक्षक शिक्षिकाहरू पनि हाम्रो पढाइलाई लिएर उदाहरण दिने गर्नु हुन्थ्यो। नेपाली विषय पढाउने धनश्याम ढकाल गुरुले कक्षा छमा नेपाली विषयको 'सामाजिक एकता' पाठ पढाइरहनु भएको थियो। हामी दुई जनातिर देखाएर गुरुले भन्नु भयो-'एकताको एउटा नमुना यिनीहरूको जोडी पनि हुन्। मुना र मदन।'
म लजाएँ। उनी पनि लजाएर डटपेन टोकी। हाम्रो संगत, मित्रता देखेर नै नेपाली पढाउने गुरुले त्यसो भन्नु भएको थियो सायद।
उनको हजुरआमा टिबीको बिमारले थला पर्नु भएको रहेछ। पहिलो पटक टिबी देखा पर्दा ख्याल गर्नु पर्थ्यो। हजुरआमाले नियमित औषधि खानु भएनछ। खानपानमा लापरबाही गरेर मुख बार्नु भएनछ। एकछिन निको भए जस्तो त भयो। तर पूर्ण रुपमा निको हुन सकेन।
धेरै समयदेखि ओछ्यानमा लडिरहनु भएको थियो। जुना र म नौ कक्षामा पढ्दै थियौँ। शुक्रबारको एकदिन स्कुलबाट फर्किँदा जुना सँगै उनको घर पुगेको थिएँ। हजुरआमा ओछ्यानमा ढलिरहेको देखेँ।
जुनातिर देखाउँदै बोल्नु भयो, 'तिमीहरू बच्चै देखुनको साथी हौ। हाम्री जुना पनि ठुली भई। यिनको ख्याल राखेस् है बाबू। यिनको बा पेन्सन आउन अझै पाँच सात वर्ष कुर्नु पर्छ रे। म यसरी थला परिरहेकी छु। जुनाकी आमालाई घरधन्धा, गाईवस्तुको सुसार र मेरै सुसार गर्दा उनी आफै ढल्लिन् जस्ती भैसकेकी छे। चाँडै मर्न पाए हुन्थो।'
मैले आमालाई भनेँ, 'आमा, हजुरले यसरी मन खेलाएर बस्न हुन्न। आत्तिनु हुन्न। औषधि खाइरहनु भएकै छ। सन्चो हुन्छ। भावीको लेखन्त भोग्नै पर्छ। हरेस नखानु आमा।'
वर्ष दिन बढी ओछ्यानमा ढलेर बसेकी हजुरआमाको ६० वर्षको उमेरमा देहान्त भयो। हजुरआमाको मृत्युमा जुनासँगै म पनि रोएँ। उनी रुँदा मैले समेत आँसु रोक्न सकिनँ। तीन दिन स्कुल गइनन् उनी। स्कुलमा भएको सबै गतिविधि र गृहकार्यको बारेमा मैले उनलाई बताउथेँ।
जुना सितिमिती रिसाउँदैन थिई। रिसाएको बेला मैले फकाउनु पर्थ्यो। शनिबारको एकदिन निस्दीखोलाको लाकुस्यारी रहमा धेरै जना साथीहरू मिलेर पौडी खेल्दै थियौं। नेप्रिएर मैले पौडी खेल्दै गर्दा सीमालाई अंगालो बेर्न पुगेछु।
जुनाले ढुंगामा बसेर घाम ताप्दै मेरो हर्कतलाई निगरानी गर्दै रहिछे। उनको बाटुलो मुहारतिर मेरो नजर के ठोक्किएको थियो। उनको गोरो अनुहार त रातै भैसकेको रहेछ। पाकेको स्याउ जस्तै। तुरुक्कै रगत नै चुहिएला झैं। चोर औंला ठड्याउँदै रातो पिपलपाते ओंठ बङ्ग्याई।
पौडी खेलेर घरतिर फर्किँदा उनको अनुहारमा बादल मडारिएको थियो। उनको आँखाबाट पानी बर्सिन लाग्दै देखेँ। बोलाउँदा बोल्नै नसक्ने लाटी भैसकेकी पाएँ। म अन्जानमा फसेछु। ख्याल ख्यालमै म खाडलमा परेको रहेछु।
निकै तरिकाले फकाउने प्रयास गर्दै गर्दा गाउँ आइपुग्ने बेलामा कडा रिस देखाउँदै चर्को स्वरमा 'काले, खबटे' भनी।
त्यो बोली फुट्दा मैले ठुलै खेल जितेको महसुस गरेँ। गदगद भएर मनमनै भनेँ, 'हो जुनू, म तिम्रै काले हुँ। तिम्रै खबटे हुँ। तिम्ले जे-जे भन्न मन लाउँछ भन, म सहन्छु। तर मसँग नबोल, मलाई छोड नभन बस्।'
ठूलो भएपछि यो बन्छु। त्यो बन्ने हो भन्ने बालापनको इच्छाहरू जे-जस्तो रहेपनि अब वास्तविक जिन्दगीमा के बन्ने हो निर्णय लिनु पर्ने दिन सामुन्ने आइसकेको थियो। जुनाले सानोमा जून बन्छु भन्थी। मलाई आकाश बन्छु भन्ने सुन्न रहर गर्थी। तर त्यो बालापनको इच्छा थियो।
एसएलसीको परीक्षा आउने बेला भएको थियो। मैले नजानेको जुनाले, जुनाले नजानेको मैले सिकाउने गर्थ्यौं। कहिलेकाहीँ ख्याल ठट्टा। हाँसी रमाइलो पनि।
'जुनू, तिमी कलेजमा कुन विषय लिएर पढ्छ्यौ? भविष्यमा के बन्ने सपना छ?' मैले एकदिन जान्न चाहेर सोधें।
'म त स्टाफ नर्स पढ्ने हो। बाबासँग त्यही कुरा भ'को छ।' स्वास्थ्य क्षेत्रमा लागेर बिरामीहरूको सेवा गरेर मानव सेवा गर्ने। जनस्वास्थ्यको सन्देशहरू फैलाउने उनको सपना रहेको बुझ्न पाएँ।
'तिमी त सानो छँदा जून बन्छु भन्थ्यौ। मलाई आकाश बन भन्थ्यौ। जून र आकाश सधैं सँगसँगै हुन्छ भन्थ्यौ। तिम्रो सपना कसरी फेरियो जुनू?' बालापनको कुरा कोट्याउँदै मैले सोधेको थिएँ।
'ए लाटा, सानोमा जून बन्छु भने हुँला। कसैले तारा बन्छु भन्छ होला। तिमीलाई आकाश बन भनेँ रे मैले। त्यो त एउटा उपमा मात्र थियो। हाम्रो जिन्दगी र जीवनलाई कुनै वस्तुसँग तुलाना गर्ने, दाँज्ने माध्यम मात्र थियो। अर्को कुरा म सानो छँदा हजुरआमाले सिकाउनु भएको रहेछ, जून जस्तै हुनु पर्छ। समाजमा उज्यालो छर्न सक्नु पर्छ। हजुरआमाले बाँड्नु भएको ज्ञानलाई नै मैले सिको गरेर बोलेछु।'
उनले बालापनमा बोलेको कुरालाई स्पष्ट पार्दै भनी। उनको जवाफ चित्त बुझ्दो लाग्यो। मेरो मनले भन्यो, 'हेर केटा, तेरो जुनूको बोलीमा कति दृढता छ। दाम छ। तेरो पनि सपना होला। के छ? अहिल्यै संकल्प गरीहाल्।'
'खुब चित्त बुझ्दो कुरा गर्यौ जुनू। साथी त होस् न यस्ती।' मेरो कुरा सुनेर नाक खुम्च्याउँदै उनले भनी, 'उम खुबै, चेपारे!'
तिम्रो कुरामा सत्यता छ। दृढता छ भनेपछि उनले स्वीकार गरी। र फेरि थप्दै भनी, 'हो गमू, मेरी हजुरआमाले सानैमा त्यस्तो शिक्षा दिनु भएकोले पनि मलाई प्रेरणा मिलेको हो भन्छु म। बरु भन तिम्रो के छ भविष्यको सपना? के हामी आकाश र जून बनेर बस्न सक्छौं होला त?'
'जुनू, चाह्यौं भने आकाश र जून हुन असम्भव नहोला। तर सपना देख्नु पर्छ अनि संकल्प गर्नु पर्छ। मलाई पनि ठुल्दाजुले एचए पढ्नु पर्छ भनेर सुझाव दिनु भएको छ। उहाँ पनि स्वास्थ्य क्षेत्रमै काम गर्नु हुने भएकोले मलाई पनि भविष्यमा त्यही क्षेत्रमा देख्न चाहनु भएको हो।'
मेरो मुखबाट कुरा सक्किन नपाउँदै जुनाको मुहारले खुसीको प्रतिक्रिया जनाइसकेको थियो। मेरो कुरा सुनेर उनको उज्यालो मुहारमा झनै उज्यालो चमक देखियो। मेरोभन्दा उनको मन बढी रमाएको हुँदो हो त्यो पल।
एसएलसीमा हामी दुवै जनाको नतिजा प्रथम श्रेणीमा आयो। हामी पास भएर त्यसै खुसी थियौं। हाम्रो नतिजाले परिवारदेखि टोलमा सबैलाई खुसी गरायो। जुनाको परिवारले स्टाफ नर्स पढ्नलाई तानसेन पठायो। मलाई दाजुले नै बुटवल पढ्नु पर्छ भनेर बोलाउनु भयो।
केही वर्षको लागि भौतिक दूरीले टाढियौं। तर हाम्रो मन टाढा थिएन। विभिन्न माध्यम अपनाएर मनको दूरीलाई नजिक बनाउन विकल्पहरू रोज्यौं। हामी एउटै गाउँको, चाडपर्वमा छुट्टीको समयमा सँगै हुन्थ्यौं। त्यसरी नै हामी जोडिरह्यौं।
भविष्यको सपना बुनेका थियौं। दृढ संकल्प पनि गरेका थियौं। संयोग त्यस्तै मिल्यो। पाँच वर्षपछि मैले काम गरिरहेको अस्पतालमा जुना नर्स भएर काम गर्न आइपुगिन्। जुनाको जून बन्ने र मलाई आकाश बनेको देख्ने सपना नजिक नजिकै घुम्दै आइपुग्यो।
छुट्टीको दिन थियो। जुनाले सँगै खाना खान उनको रुममा बोलाएकी थिई। उनी सँगै बसेर विगतको पल कोट्यायौं। कति तिता कति मिठा प्रसङ्गहरू भेटायौं। वर्तमानलाई नियालेर रमायौं। काम र जिम्मेवारीका कुरा। भोग्दै गरेका जीवन भोगाइहरू साटासाट गर्यौं।
कतै रमाइला त कतै अप्ठ्यारा जिन्दगीका यात्राहरूको समीक्षा गर्न पुग्यौं। र भविष्यका योजनाहरू, सपनाहरू र बाँकी जिन्दगीका गोरेटाहरूको रेखांकन कोर्न पछि परेनौं। स्वर्णीम समय मान्यौं त्यो भेटलाई।
'जुनू, तिमी समाजमा जून बनेर देखिनु पर्छ ल। हजुर आमाले निकै बुद्धि पुर्याएरै जून बन्नु पर्छ भन्नु भएको रहेछ। उज्यालो किरण छर्नु पर्छ भन्नु भएको कुरा सम्झेर बुढापाकाहरूको पढाइ लेखाइ नभए पनि बुद्धि भाकै हो भन्छु। दिमाग लगाएरै बोल्नु भएको हो भनेर मान्छु म।'
'हो नि गमू, पढेरभन्दा परेर जानिन्छ भन्ने भनाइ छ नि। भोगेकाहरूले व्यक्त गरेका भोगाइ हुन्। त्यसैले उहिलेका कुरा खुइले कहिल्यै सोच्न हुन्न। मलाई मेरी हजुरआमाले उतिबेलै कति राम्रो ज्ञान दिनु भएको रहेछ, 'समाजमा उज्यालो दिने जून बन्नु। उज्यालो छर्न सक्नु पर्छ। सबैले मन पराएको मान्छे बन्नु।' हेर त कति बुद्धिमानी कुरा।
हजुरआमा र बाबाआमाको आशीर्वादले आज यहाँसम्म आइपुगेको छु। हजुरआमाले टिबीको संक्रमणबाट ज्यान गुमाउनु पर्यो। अज्ञानता र लापरबाहीले गर्दा औषधि पत्ता लगाइसकेको सामान्य भैसकेको रोग टिबीबाट उहाँको ज्यान गयो। अब मैले उहाँको आशीर्वादलाई आत्मसात गर्दै सहरदेखि गाउँ-गाउँसम्म स्वास्थ्य शिक्षाको बारेमा जनचेतना फैलाउन अठोट गरेकी छु।'
उनको कुरामा मैले समेत सहमति र समर्थन जनाएँ। उनको कार्यमा साथ दिन प्रतिवद्ध भएर उनलाई हौसला दिएर आएँ।
हामी बालापानदेखिका साथी थियौं। कर्मले पनि नजिकै बनाइदिएको छ। हाम्रो सपना साकार भएको छ। हामी बिरामीहरूको सेवा गरिरहेका छौं। करिब तीन सालसम्म एउटै अस्पतालको स्टाफ भएर काम गरेपछि विवाहको लागि घर परिवारसँग सल्लाह गर्यौं।
परिवारको सल्लाह र हामी दुईको सहमतिपछि जिन्दगीभरि आकाश र जून भएर जिउने वाचा गर्यौं। र जिन्दगी रुपी ब्रह्माण्डको परिधिमा सँगसँगै घुम्ने गरी अजम्मरी नाता जोडेपछि, साँच्चै म आकाश र उनी जून भएर सँगै उदाइरहेका छौं।