छ्या! कति बजेको हो यो ठाँडो। उठेन भने'सी त नहाने नि हुन्थ्यो नि! ननस्टपप दिएको दियै यार। ब्यान उठेबाट यही चाल छ। बेल्की सुत्दा दुई बज्या थियो। बिहान ५ बज्न नपाउँदै अट, टिङ टिङका टिङ टिङ...
उठाको छ, बोल्या छ। उठाको छ, बोल्या छ। साढे पाँचा गाडी हिँड्छ भनेसी त बुझ्नु नि गाँठे!
'दाइ कत्थेर हिँन्च?
दाइ बगैँचा कत्थेर आउँच?
सामान लेइदेर काँ आम?
दाइ सिट छ/छैन?'
को-कोलाई के-केको जवाफ दिनु!
अब एकछिनपछि 'कत्थेर आउँच काठमान्डु?' भनेर हैरान पार्चन्। 'कत्न पुगिस्' भन्नेको उही चाल। ह्या, उठाउन्नँ।
म मनमनै बरबराएँ।
हाइस प्याक छ। चुत्रेसीबाट हिँड्दा सात जना थिए जम्मा। घुम्तीबाट दुईजना चडे। पथ्रकोटबाट एउटी दिदी चडिन्। चप्परगाउँबाट बालाई हाले एकजना। अरु बेलबास र चौराट गरेर गाडी भरिएको हो। अहिले फुल छ सिट।
साहुलाई बाटाबाट दुई जना मात्रै टिपेँ भन्छु। कम्ता दुःख छ यार! दुई महिना त हल्लिएरै बित्यो। भएको दुई पैसो नि तास र क्यारमबोर्डले लुट्यो।
म मैसँग बोल्या छु। मनले सुन्ने, पेसेन्जरले नसुन्ने गरी बोल्या छु। हामी ड्राइभरहरु प्राय: एक्लै बोल्छौँ।
'दाइ, अलि गतिलो गीत लाउनुस् न यार। ह्या! यो दोहोरीले कान पाकिसके। ब्यानट एउटै गीत बिस फेर बज्यो। यसो राम्रा गीत लाउनुस् न!'
कुन्नी को प्याच्च बोल्यो पछाडिबाट। सुने, नसुने झैँ गरेँ।
२० हैन, ५० फेर सुन्छु। जति सुन्न मन लाग्छ, त्यति चोटि सुन्छु।
मनमनै बोलेँ।
ए, नारायणघाट कटेछ! अब मुग्लिन नपुगुन्जेल सकस छ। कतिखेर के खसेर च्याप्छ पत्तै हुन्न। आज कतै पहिरो नखसेको भए हुन्थ्यो।
गीत बन्द गरेँ। मुग्लिन नपुगुन्जेल नो गीत नो फोन। फोनलाई घोप्टो पारेर ड्रयरमा राखेँ।
आज भाग्य बलियो रैछ मेरो। मुग्लिन आउन्जेल रोकिन परेन। आज कसो परेछ र पहिरो झरेन छ। नत्र यो ३५ किलोमिटर काल छ। अस्ति फुक्को चाउचाउका भरमा पूरै दिन बाटैमा बित्यो।
फेरि बजाएँ गीत।
यो सनिसार भन्ने गीत जति सुनो उति सुन्न मन लाग्छ। फेरि बजाएँ-
घाम डुब्यो उँदै उँदै....
गीत सुन्दै गाडी कुदाउँदै ...
यही हो हाम्रो जिन्दगी। जे छ यसैमा छ हाम्रो। स्टेरिङ घुमाएकै छु। ओभरटेक गरेकै छु। बाटोमा तलबितल नपरेँ, ६ बजेसम्म पुगिन्छ कि!
खै फोन! ड्रयरमा पो छ। हेरेँ, १३ मिसकल। कस्को रहेछ हेरेको, लास्टमा १८ वालाले गरेछ सात फेर। दुई फेर साहुले। अरु को रैछन् कुन्नि!
साहुलाई गाडी के भयो कि, चिन्ता लागेर हाने होला। यिनलाई टायरको जति नि माया लाग्दैन हाम्रो। कहिलेकाहीँ स्यानो एक्सिडेन्ट हुँदा हस्पिटल भित्र हामीलाई हेर्न जानभन्दा पहिला गाडी हेर्न जान्छन्, का के भयो भनेर।
दुखेर खपिनसक्नु हुँदा नि, वृतान्त सुनाउन पर्छ उनीहरुलाई। हाम्रो खोल्सेको पाखुरोभन्दा इति स्क्र्याच भएको गाडीको बढी चिन्ता गर्छन्! क्यार्नी, त्यो भनेर घरै बसेर नि भएन। गर्न जानेको एउटो यही हो...
फोन हेर्दै गर्दा यस्तै कुरा खेल्याथ्यो मनमा। ठ्याक्कै त्यह्यी बेला १८ वाला फोन आयो फेरि। को रैच, सासै नफेरि हान्या छ! उठाएँ।
'राम्जी हो हजुर?'
'राम्जी रे! होइन...'
यति सुनेको उसले सरी है भनेर राख्यो।
हामीलाई पनि सरी भन्ने रैछन् यार भनेर मनमनै सन्तोषको सास फेरेँ। जे होस्, इज्जतनै नभएको त कहाँ हो र! यो पेसै सिर्फुले पेसो।
गल्छी कट्यो। जम्मा ६२ किलोमिटर त हो काठमाडौँ। आज टाइममै पुगिनी भैयो। अनि यसो कति बजेछ भनेर फोन हेरेको, फेरि त्यही १८ वाला फोन आयो।
उठाएँ र भनेँ- 'भन्नुस्।'
'सुन्नुस् न, हजुर २३५५ नम्बरको चालक होइन र!'
मैले 'हो' भनेँ।
'अनि हजुरको नाम राम होइन?'
मैले फेरि 'हो' भनेँ।
'अघि हैन भन्नु भो त!'
उसको कुराले म अलमलिएँ।
अघि त राम्जी भनेको थियो। अहिले राम भन्छ! यस्तैउस्तै सोच्दै थिएँ।
१८ वाला बोल्यो- 'हलो, सुन्नु भाछ मलाई?'
'हजुर हजुर, सुनेको छु। भन्नुस न के थ्यो?' मैले प्रतिप्रश्न गरेँ।
'रामजी, हजुरको गाडीमा सामान थियो। हजुर काठमाडौँ आएसी एकफेर फोन पाम् है?'
मैले 'हुन्छ' भनेँ।
ए गल्छी कटेच! यत्तिकैमा पछाडिबाट सोध्यो कसैले- 'दाइ, अब कति लाग्च?'
यसो पुर्लुक्क पछि फर्केर भनेँ- 'जाम नपरे डेढ घन्टा।'
मेरो उत्तर सुनेको उसले, 'ए आइसकेच' भन्यो।
गाडी हुइँकिरहेको छ। मेरो ध्यान बाटोमा छ पूरै र अलिकति १८ वालामा पनि। यार, तेल्ले मलाई राम्जी होइन, 'राम जी' पो भनेको रहेछ। रामजी, रामजी, राम जी...।
हाँसे मुसुक्क। म रामे, रामजी।
मलाई मेरो नामको पछाडि कसैले 'जी' लगाएर बोलाएको कहिल्लै सुनेको थिइनँ। सबैले रामे भन्थे। डुम्रिया रुखे रामे। २३५५ को रामे। किस्नेको गाडी चलाउने रामे। ड्राइभर रामे।
ड्राइभर रामे आज अचनाक चालक रामजी! मनमा अनेक कुराहरु खेले। खलासी हुँदा सबैले रामे खलासी भन्थे। स्कुलका सरहरुले तित्रे रामे भन्थे। हजुर बाले हो मलाई रामु भनेको। उहाँ बितेपछी मलाई कसैले रामु भनेन! राम्जी कसले किन भनोस्!
तर भन्यो। अलि अघि १८ वालाले राम्जी भन्यो। होइन होइन, रामजी पो भयो।
पहिलो पल्ट आफ्नो नाममा इज्जत पाएँ। म रामे मात्रै होइन, रामजी पनि रहेछु भन्ने महसुस भयो। नामको पछाडि जी, कति राम्रो।
आफूले त सधैँ जीको पछाडि मु झुन्डाएर बोलाइयो! बोलाउनेहरुले पनि, सुन्न, भन्न, हिँड्न, चलान, लेन भन्नु पर्दा जीको पछाडि मु लगाएर भने।
र मैले पनि आजसम्म कसलाई पो नामको पछाडि जी लगाएको छु र!
ए लगाएको छु त। साहुलाई साहुजी भनेको छु।
हाँसे, एक्लै हाँसे। मनमा खेलेका अनेक कुराहरुले हँसाए। रामे, रामजी भएकोले हाँसेँ।
साहु साहुजी भएकोले हाँसेँ। म खुब हाँसेँ।
लौ, आइएछ! थानकोट पो आइएछ। मनले मनसित गरेका कुरामा बाटो काटेको पत्तै भएनछ।
थानकोट आएपछि पेसेन्जरहरु सर्याक सुरुक गर्न थाले। जागा रहेकाहरुले ढाड सोझाए। सुतेकाहरु ब्युँझे। ठ्याक्कै ६ बज्यो। अब १५ मिनेटाँ कलंकी। आधा घन्टामा बसपार्क।
आज खासै दुःख भएन। यस्तै सोँच्दै थिएँ ठिक यही बेला फोन बज्यो। साहुको रहेछ। उनलाई राम्रै काठमाडौँ आएको सुनाएँ। उनले मेरो खबर कम गाडीको ज्यादा सोधे।
लगत्तै अर्को फोन आयो। हेरेँ, लास्टमा १८ वाला रहेछ। उठाएँ।
भनेँ- हलो।
उताबाट १८ वालाले सोध्यो- 'काँ आइपुग्नु भो रामजी?'
'हजुर कलंकी आइपुगेँ' यत्रैसितीले भनेर म पनि मिठो बोलेँ।
'ए छिटै आउनु भएच त है। कस्तो रह्यो यात्रा, गाह्रो त भएन है?'
गाह्रो त भएन रे! यार यी १८ वाला त अचम्मैका रैछन्। दिउँसोदेखि नाममा इज्जत झुन्डाइदिए। अहिले आमाले झैँ गाह्रोसाह्रो सोध्छन्।
भनेँ- 'नाइँ भएन। बाटो ठिकै रहेछ। भिड पनि कम। राम्रै आइयो' यस्तै उत्तरिएँ।
मेरो जवाफ सुनेका उनले 'यसो गरौँ, म भक्तपुर छु। अहिले यहाँबाट हिँडेर त्याहाँ आइपुग्दा ९ बज्ने भयो। बरु भोलि बिहानै आउँछु। बरु हजुर कतिखेर फर्कनु हुन्छ?' भनेर सोधे।
मैले 'हुन्छ, भोलि ८ बजेसम्म आउनुस्' भनि फोन राखिदिएँ।
उनले राख्नेबेलामा पनि 'त्यसै गरौँ है रामजी' भनेर फोन काटिदिए।
बसपार्क आएँ। पेसेन्जर ओर्लिए। झोला झारे। पेसेन्जर झर्दा र झोलाहरु झार्दा अलिकति पनि झर्को लागेन। सकेको सहयोग गरेँ। खासमा हामी ड्राइभरहरु मान्छे झर्दा/चड्दा चिडिन्छौँ। हामीलाई कुन्नि किन हो खुब रिस उठ्छ। तात्नु, कराउनु र झिँझिनु हामी बहुसंख्यक ड्राइभरहरुको बानी हो।
सायद पेसेन्जरले गर्ने रुखो व्यवहार र हेलाले होला, हामीहरु उनीहरुप्रति कमिनागिरी देखाउँछौँ। यदि, पेसेन्जरले हामीलाई चालकको इज्जत दिन्थे भने पेसेन्जर हुर्काएकै समाजले हुर्काएका हामीहरुको संस्कारमा सिर्फूल मात्रै हुँदैन थियो।
फोन नम्बर १८ ले जस्तै, नामको पछाडि जी लगाएर इज्जतले बोले, किन हामीहरु मु अगाडि जी खोज्दै हिँड्थ्यौ होला र!
आज कुल छु म। म आज ड्राइभर होइन, चालक हुँ। रामे होइन, रामुजी हुँ। ड्राइभर रामे र चालक रामुजी बीच धेरै पो अन्तर रहेछ।
ढलेँ ओछ्यानमा। दिनभरि गाडी चलाउँदा खुब जीउ दुख्छ। पल्टिँदा बित्तिकै निद्रा लाग्छ। तर निद्रा परेन आज। छटपटी भो। फोन नम्बर १८ लाई भेट्ने हुटहुटीले रात लामो भयो। बल्ल बिहानपख निदाएछु, झपक्क।
जाग्दा ९ बजेछ। मोबाइलमा तीन मिसकल। हेरेँ, उही १८ वाला। जर्याकजुरुक उठेर लुगा भिरेँ। अनि फोन हान्छु भनेर १८ वालालाई डायल गर्नै खोज्दा फोन उतैबाट आयो।
'हेलो, सरी है, सरी है। हेर्नुस् न म त निदाएछु। एकदम सरी!'
मेरो हडबडिएको आवाजलाई सहजै स्विकार्यो उसले। र तल लबीमा पर्खिएको कुरा गर्यो। म हतार हतार झरेँ।
'नमस्ते' मैले हात जोडेको थिएँ। उसले बोलेर फर्कायो। उसले मेरो नमस्ते फर्कायो या आफैले गर्यो, बुझिनँ। हामी ड्राइभरलाई नमस्ते, औँसी पुर्णे हो।
ऊ उठेर सोफाबाट जुरुक्क म भएतिर आयो। हात लम्कायो। हेन्ड चेक गर्यो। र सोफामा बसौँ भनेर आग्रह गर्यो। अनि काउन्टर तिर हेर्दै अर्को एउटा चिया पनि है भनेर इसारा गर्यो।
त्याहाँबाट मुखतिर हेरेर बोल्यो- 'थाकेको जीउ, राति अबेरसम्म निद्रा परेन होला। बिहान तिर पो निदाउनु भएछ।'
मैले 'हो' भनेँ। उसले सन्चो बिसन्चो सोध्यो। मेरो गाउँ सोध्यो। मेरो साहु सोध्यो। बा/आमालाई सोध्यो। पेसा बारे सोध्यो। मैले सोधेको भन्दै गएँ।
हामी ड्राइभरहरु अरुहरुलाई खासै केही सोद्धैनौँ। उनीहरु सन्चो हुन् कि बिसन्चो, मतलब गर्दैनौँ। बस् हामीलाई पैसासँग मतलब हुन्छ। भाडा दिएर गएसी जहाँसुकै जाओस्, जोसुकै होस्- खल्लिबल्ली।
तर आज त्यस्तो भएन। भयो के भन्दा मैले पनि उसको बारेमा सोधेँ। अचम्म भो! ड्राइभर रामे, चालक रामजी हुँदा पृथ्वी घुम्यो। एकछिन सँगै बस्यौँ। मलाई ग वर्षौं अघि चिनेको आफन्त जस्तो लाग्यो। धेरैबेर कुरा भए।
हामी ड्राइभरसँग यस्तो सम्बन्ध कोही कसैले राख्नु अपवाद हो। ऊ जानेबेला, भाडा के कति दिउँ भनेर सोध्यो। म अलमलिए। के भनौँ, के नभनौँ भयो। उता सामान ल्याइदिने उसको आफन्तिलाई एक हजार लाग्छ भनेको थिएँ।
अहिले जाबो एउटा झोलाको हजार भयो कुन मुखले भनौँ! भनिनँ। बरु भो होस् पर्दैन भनेँ। रामे र रामजीको भाषा उस्तै कहाँ हुनु र! हाहा...
उसले त्यस्तो कहाँ हुन्छ, हुन्न भनेर ५०० दियो। एकछिन नाइँनास्ती गरेको मैले २०० काटेर तीन सय फिर्ता दिएँ। दिन्छु भनेको भाडाभन्दा थोरै दिँदा, त्यो पनि धेरै लागेर फिर्ता दिएको पहिलो घटना थियो।
ड्राइभरको जीवनमा यस्तो घटना सायदै घट्ला। एउटा इतिहास बन्यो। सायद चालक हुनुले होला। ऊ गयो। सामान स्कुटीमा राखेर गयो। जाँदा हात मिलायो, धन्यवाद भन्यो र हातको इसाराले पुगेपछि फोन गर्नु है भन्यो।
म मक्ख परेँ। त्यो दिन मेरा लागि खास दिन रह्यो। अचम्म त त्यो दिनदेखि मेरो मुखबाट सिर्फूल निस्कन छाड्यो। म सिर्फूल बोल्न छाडेपछि मेरा साथीहरुले मसित बोल्दा ख्याल राख्न थाले।
मैले कोही कसैलाई बोलाउँदा इज्जत गर्न थाले। पेसेन्जरसँग झर्किने बानीको ह्रास भयो। मलाई मान्छेहरुले इज्जत दिन थाले। रामजी भनेर बोलाउनेहरु थपिँदै गएँ। यस्तैउस्तै समय बित्यो।
करिब छ महिना अर्घाखाँची बुटवलको गाडी चलाएको मलाई बल्ल काठमाडौँ जाने मौका मिल्यो। जुन, दोश्रो लकडाउन पछिको पहिलो यात्रा थियो। काठमाडौँ जाने कुरा बुढीलाई गरेँ। उनले मेरो कुरा सुन्ने बित्तिकै, बोडी-सिमी, फर्सीका मुन्टा, दाल, थोरै घिउ बनाएर बोरामा राख्दिइन्।
र भनिन्- 'ती भाइलाई लैदिनू।'
अनि काठमान्डौ पुगेँ।
बद्निनाथ होटलमा पुगेर उही पुरानो फोन नम्बर अठारमा कल गरेँ, भनेँ- 'सर, म रामु। हजुरको सामान आएको छ।'
उनले मलाई चिनिहाले। 'नमस्कार' भने।
अनि आश्चार्य मान्दै सोधे- 'सामान रे!'
'खै कसले पठाएछ? मलाई त कसैले केही भनेनन्! तपाई झुक्किनु भयो कि?'
उनको कुरा सुनेको मैले भनेँ- 'झुक्किएको छैन सर। मेरै बुढीले पठाएको हो, किन झुक्किउँ। बरु मिल्छ भने, आजै आउनुस्। केही कुराहरु सुनाउनु पर्ने छन्। धेरै सुन्नुपर्ने..'
क्रमशः