धेरै दिनपछि आज उज्यालो भएको थियो। दिन उज्यालो भए पनि घामको किरण भने त्यति चम्किलो थिएन। घाम र बादलको लुकामारी भइरहेको थियो, घरी बेस्सरी घाम लाग्थ्यो एकैछिनमा बादलले घामलाई निस्तेज पार्थ्यो। मानौँ यहाँ कुनै नाटक मञ्चन भइरहेको थियो र म त्यसको दर्शक।
रातभरि बगेका कहिल्यै नसकिने अश्रुधाराले डम डम सुन्निएका आँखाहरु र शिथिल भएको मेरो शरीर। बादलको घुम्टो उघारेर फेरि घामले आकाशमा आफ्नो साम्राज्य कायम गरिसकेको थियो र त्यसको प्रकाशले आँखाको पीडालाई उक्साउँदै थियो।
चम्किलो प्रकाशले मेरा पीडाहरुलाई गिज्याउँदै खित्का छोडे झैँ लाग्यो। र म आफ्नै पीडाहरुमा कुनै तर्कना नगरी नतमस्तक थिएँ। यत्तिकैमा खङ्ग्रंग आवाज आयो। झस्किएँ पनि। पट्के बिरालो पो रैछ। दूध चोर्न पल्केको यसलाई कहिले तह लगाउनै सकिएन।
अम्खराको पानी छताछुल्ल आँगनभरि भयो। मेरी सानी पुतली शशी हुन्थी त आफ्नो सानो फुरफुरे जामा उचाल्दै ठस् ठस् कन्दै लाग्थी होली आँगन बढार्न। गुडियाको झैँ मिलेका उसका आँखा, बाक्ला परेला, बाटुलो चेहरा अनि सेतो जामा, उसको हाउभाउ र मिठो बोली। लाग्थ्यो अशान्त र कोलाहलमय यस घरको वातावरणमा रस भरेकी थिई उसले।
यहाँको निर्जीवपनमा जीवन्तताको परिभाषा प्रष्ट्याएकी थिई। ममाथि यस घरका सदस्यहरुको आक्रोश र असन्तुष्टी ऊ आफ्नो अबोधताबाटै निवारण गरिदिन्थी। ऊ मेरो संरक्षक जस्तै लाग्थ्यो घरीघरी।
शशी चार लागिसकेकी थिई र म यो घर भित्रिएको पनि पाँच वर्ष नाघेछ। सासु आमाको क्षुद्र वचन र पतिको दिन रातको कुटाइको मारमा परेकी म घरेलु हिंसाको शिकार बनिसकेकी थिएँ। रक्सीको नशामा लिप्त भएर मलाई कुट्न मात्र जानेको लोग्ने भनौदोको विरुद्ध लड्न मेरो हिम्मतले कहिल्यै काम गरेन तर कति हिम्मतवाली थिई मेरी शशी।
खै, त्यो बालखले के बुझेकी थिई! आफू झैँ नम्र पाराले बाउलाई सिर्कनुले हिर्काउँदै पो रैछे दुख्ला झैँ गरेर। आमालाई दुख्यो नकुट भन्दै काहालिँदै थिई। रक्सीको नशामा भए पनि छारीलाई खुब प्यार गर्ने, फुल्याउन बाहिर लगिहाल्थ्यो। शशीको अबोधता देखेर कहिले च्याप्पै समातेर माया गरु झैँ लाग्थ्यो त कहिले मन्द मन्द हाँसिदिन। हाँसेछु पनि पीडा भुलेर एकैछिन त।
चार दिन भइसकेछ शशीलाई जंगल पुर्याएको र म भने भर्खर लामो निन्द्राबाट तङ्ग्रिएकी जस्तै भएथेँ। घाँस जानु थियो। पानीघट्टा पनि खोल्नु थियो अर्को दिनबाट। असारमासको समय थियो। दुई महिना जोतिएर वर्षभर खान पुर्याउन पर्ने।
आशा थिएन फेरि जागौँला तर फेरि सोचेँ, सास फुलाउँदै ती बुढाहरु कति पारिबाट आउँथे भारीका भारी अन्न कुटाउन। आफूलाई झक्झकाएँ जीवनका त्यस अस्ताउँदो उमेरमा दमले सास फुलाउँदै संघर्ष गर्ने बुज्रुक अघि म एक वयस्क र सक्षम नारीले आफूलाई प्रमाणित गर्नु नै थियो।
ओहो! सासु आमा नजिकै थिइन्। कर्के नजरले हुलिया हेरेँ। हातमा बाल्टिन र छिपछिपे हिलोमा लतपतिएको फरियामा थिइन्। आज पनि भैंसीले फाँचोमा हात लगाउन दिएनछ क्यारे। हेर्दा पनि मुर्मुरिए जस्ती, लामा लामा सासको फड्कोले नै गोली र बारुदको भन्दा ज्यादा शक्ति प्रवाह गर्दै वरिपरि भग्नावशेष पर्लिन् जस्ती तर मेरो अहो भाग्य, केही पनि नबोली भित्र पसिन्।
हिजै मात्र पाडो फ्याकेको भैंसीले, सुने आवाज दिइरहेथ्यो आफ्नो बच्चालाई। अज्ञानी जात, बुझेन कि यस्ले आफ्नो बच्चा गुमाइसकेको थियो र पनि आवाज दिइरहेको थियो। सायद त्यही जनावर भइदिएकी भए नि हुने कुनै आशा राखेर आफ्नो सन्तानलाई पुकारीरहेको हुन्थेँ होला, आफ्नी शशीलाई।
डोको र खुकुरी बोकेर हिडेँ। आज पारि जगरा पुग्नु थियो। तुहिने पुल पनि नाम मात्रको थियो। पानीको उच्च बाहव देखेर होकि मेरो कमजोरीले मेरा आँखा तिर्मिराउन छाडेका थिएनन्।
वर्षाले गर्दा बारीमा घाँस हरियो र मौलाएको देखेँ। सिम तिर घाँस काट्न के मुठ्याएकी मात्र थिएँ सिमका जुका त स्याउस्याउती हातैभरि टाँसिए। काहालिएँ नमज्जाले। अनि वर आएर भिरको खर मज्जाले काट्न थालेँ।
एकलास जंगलमा अस्पष्ट गोठालाको मुरली गुञ्जयमान थियो। मुरलीको धुनमा मैले पनि तिरीरी... मुरली बज्यो वनैमा थपिदिएँ। आज किन आफ्नो स्वर आफैलाई बढो मिठो लागिरहेथ्यो। हुन त गीत त्यति नगाउने र कम बोल्ने म, दबिएको स्वर गीतको भाका सर्दै जाँदा काम्न थाल्यो र टक्क अडिएँ।
पर डिलबाट कोही हाई हाई गर्दै थियो। कान्ला उक्लिएँ, उही रमेश आज पनि। रमेश मभन्दा पाँच वर्ष जेठा हुन्। आज पनि देख्छु, उनी तिनै बारीमा बाँदर रुग्ने, आलु ड्याङ्गमा दुम्सी पासो थाप्ने र वन बिरालो भगाउने बाहेक अरु केही नै गर्दैनन्। तर फरक आज उनैलाई एक परिपक्क लक्का जवान देखेँ।
बस्नका लागि एउटा फल्याकको बस्ने बनाएका रैछन् र छेउमा घन्कने रेडियो। उनी जन्मैदेखि यस्तै हुन्। आमा बाबुका पाँच भाइ छोरा भए नि सबै लाखापाखा लागिसके आफ्ना स्वार्थका खोजीमा। छन् त बस् यिनै रमेश आमाबाबाका साथी तर उनीहरुको शेषपछि उनको के गति होला चिन्ता लाग्थ्यो।
दुवै जना हाईहाई गर्दै थियौं, रमेश टक्क रोकिए। हतपत्त कुदे उनी, म पनि पिछा लागेँ। ओहो! तल्लो गरोबाट उक्लेर बाख्राले सबै धानको ब्याड निखारेछ। कमलाको ब्याड थियो त्यो। अन्दाधुन्द दगुर्दै खेदायौँ पारि तिर। ब्याडमुनि हेरेँ, मकैघारी बीचमा कोदो बारी, तल तरकारी बारी अनि कमलाको घर।
उमेरमा बिहे गरिनन्, आफ्नो अंशका लागि दाजुभाइहरुसँग लड्ने हक्की उनले आफ्नै सानो दुनियाँ बनाएकी थिइन्। कोदो लगाउँथिन्, तरकारी फलाउँथिन्, हाटमा आफ्नो उत्पादन बेच्थिन् र आमा पनि त पालेकी थिइन्।
दुनियाँले देख्दा एउटा लोग्ने मान्छेको आड नभएकी भन्लान् तर म भने उनको आँट र दृढ भावनाको बहुत सम्मान गर्थेँ। त्यो समय लाग्यो कि पूरा समाज समक्ष उनको सँच्चाइको वकालत गरुँ। देखिन् भने भलाकुसारी गर्न डाकिहाल्थिन्, कसो कसो तर्केर हिडेँ।
आज त असार पन्ध्र। आज हाम्रो पनि रोपाइँ। बिहान पिँडीबाटै देखेथेँ कालेले गोरु जोताउँदै गरेको। यहाँ आइपुग्दा बाउसे टोली अर्को कान्ला उक्लिसकेछ, रोपाहारहरु तल्तिर। काले देख्ने बित्तिकै कराउन थाले, 'ओहो! हल्दार्नी साहेबा, आज त रुझाउनै पर्यो।'
हल्दार्नी, मेरो पति हल्दार भएर। चाहिँदैन थियो त्यो पहिचान मलाई। भर्खरै कमलाको बारे सोच्दै आउँदै थिएँ, दिलदिमाग उच्च पार्दै। मलाई पनि एकल पहिचान चाहिएको थियो, मात्र आफ्नो। यो शशीकी आमा र हल्दार्नी दुवै पहिचानले मलाई खुम्च्याउँथ्यो र सोच्न बाध्य गराउँथ्यो कि के यी बिना मेरो कुनै अस्तित्व नै थिएन त?
गोरुसँगै नारिएका कालेलाई देखेँ। धेरै वर्ष भइसक्यो कालेको परिवारले हाम्रो जमिन कमाउन थालेको। चार जना लालाबाला, श्रीमती र आफू एकको जहान। कति खटिन्थे उनी। कालेका बारे सोच्दा सोच्दै आफ्ना श्रीमान, काले र रमेशलाई एकैपटक दाज्न पुगेँ।
पुरुष हुँदो हो त कि काले जस्तो जो आफ्नो ज्ञान र समझले नारीलाई सम्मान दिने कि त रमेश जस्तो जस्लाई हेपेर वा आफ्नो सर्वोच्चता कायम गरेर भएपनि नारी घर सम्हाल्न सक्थी। दही चिउराले मुख चटाएँ। अब घर जानुथ्यो।
जंगलको बाटो छोटो भएकाले अलि अलि नपुगेको बुट्यान बटुल्न पाउँथेँ भन्ने लागेर जंगलकै बाटो अपनाएँ। दिन क्रमशः धमिलिँदै थियो। केही नपुगेको जस्तो कसैको अनुपस्थितिमा आँसु सरी झरी वर्षात गराउँला जस्तो।
मेरो मन शशीलाई सम्झेर भक्कानिँदै थियो। हुन पनि किन नहोस्, म शशीको बहुत समीप थिएँ। ला, ब्वाँसाका आवाज। मेरी शशी कति डराई होली। एकाएक मुटुको धड्कन घाँटीमा आएर अड्किए झैँ लाग्यो। सास भारी हुँदै आयो र सिधा चल्नु पर्ने मेरा पाइलाहरु जंगल तिर मोडिन थाले।
मेरो दिमागमा त रिक्तता मात्र थियो र के गर्दै थिएँ केही हेक्का नै थिएन। मग्मगाउँदो चिसो माटोले मलाई आफू तिर संकेत गराउँदै थियो जस्तै लाग्यो। हत्तपत्त माटो खोस्रिन थालेँ। एकै पटक तलभन्दा तल, छिटोभन्दा छिटो खजना तिर लालायित भए झैं।
अन्ततः माटोले ढाकिएकी पुतलीका झैँ आँखा बन्द गरेकी सेतो मैलो जामामा चुपचाप निदाएकी शशीलाई देखेर डाँको छोडी रुन थालेँ। एकछिन केही नबोली बस्न नसक्ने मेरी शशी आज मौन थिई। खस्रो छाला र फोहोर अवस्थामा थिई ऊ।
फोहोरी बस्न पट्क्कै मन नपराउने ऊ। आफैलाई गाली गरेँ कि कसरी मैले उसलाई त्यति टाढा त्यस्तो अवस्थामा रहन दिएँ होला सोच्दै। घरी म्वाइँ खाँदै घरी अंकमाल गर्दै घण्टौँ घण्टौँ त्यही बिताएँ। कतिखेर चेत हराएछ। चेत फिर्दा पनि शशी मेरै काखमा परिरहेकी थिई।
शशी भइन्जेल मेरो जीवनको सार थियो। कामबाट लखतरान भएर कोलाहलमय घर टेके पनि उसको मन्द हाँसो, मिठो बोली थियो जसले मेरो सारा थकान पलभरमा हटाइदिएर जीउमा स्फूर्ति भरिदिन्थ्यो।
आज म हुनुको आभास पनि शशीसँग त्यही जमिनमा गभिएको महसुस गरेँ। चेतनाले फेरि मलाई झक्झकाउन थाल्यो। शशी हुनुको आभाष त्यस शरीरबाट हराइसकेको थियो। थियो त केबल एक मृत शरीर, एक सिनो। माटो खोस्रिएर शशीलाई पुनः त्यहीँ राखेँ र उसको सुन्दर शरीरमा माटो हाल्न थालेँ।
मेरी शशी गाभिँदै तलभन्दा तल पुगी र एकछिनमा देखिन छाडी। म पनि आफ्नो स्फूर्ति जम्मा पार्दै चार हातपाउ टेक्दै जगंलबाट बाहिर निस्केँ र फेरि पनि शशीलाई भेट्न आउने वाचा गर्दै अँध्यारोमा आफ्नो गन्तव्य तर्फ लागेँ।