मलाई जून भन्छौ भने
स्वीकार मलाई मेरो दागहरु सहित
मायामा विलिप्त तिमी
अहिले त मेरो चहक मात्र देख्छौ
मलाई जून भन्छौ भने
स्वीकार मलाई औँसी झैँ अँध्यारो मेरो मनोभाव सहित
मायामा विलिप्त तिमी
अहिले त मलाई पूर्णिमा झैँ पूर्ण देख्छौ
मलाई जून भन्छौ भने
स्वीकार मलाई सूर्यको प्रकाश बिना
निस्पट्ट अनि अस्तित्वविहीन
मायामा विलिप्त तिमी
अहिले त मलाई स्वतन्त्र देख्छौ
मलाई जून भन्छौ भने
स्वीकार मलाई आधा प्रहरहरुमा मात्र
पूर्ण तिम्रो नजरमा सधैँ म रहन सक्दिनँ
मायामा विलिप्त तिमी
अहिले त हरेक रात तिमीलाई सिङ्गो दिन लाग्छ
मलाई जून भन्छौ भने
स्वीकार मलाई कोसौं दूरबाट
मायामा विलिप्त तिमी
अहिले त म तिमीलाई सिङ्गो भूगोल लाग्छ।