चिसो छ बिछ्यौना भुइँ
टुक्रियो आकाशको छानो
जडाउरी फाटेर नाङ्गै छ आङ
मानौँ,
जोगाउने ठाउँ छैन पानी पर्दा
पहिचानमा बिना सनाखत पाएको नागरिकता
पउरका नियैन कपुरके जैरसे
छोइरक गेल एक जोरा मनसे
जाइमे शीतलहर।
बेखबर थियो राज्य
बेखबर थियो पञ्जिकरण
परारका साल-
मन्त्रीको सवार हुने बाटो
गनाउँछ भनेर लखेटिएँ म
यही पीपलका फेदबाट।
जहाँ-
छोडियो मेरो चुहुने ताप्के,
थोत्रो भ्वाङ परेको कम्बल
एक थान चम्का र
लोती गाँसेका एकजोर पाटे चप्पल
मेरी आमा?
राज्यको पेटीमा आश्रय ले’र बसेका साल
आन्दोलनमा राज्यले फालेको
अश्रुग्याँसले मरिन्
फुकेथ्यो रेडियोले बेलुकी
'दोहोरो भिडन्तमा एक आन्दोलनकारीको मृत्यु!'
लोग्ने थिएन मेरी आमाको
म-
राज्यकै सुरक्षा गर्नेहरूबाट
जन्मेको भन्थे चिया पसलेहरूले
यो देशमा प्रजातन्त्र आएपछि।
प्रजातन्त्र आएपछि जन्मिएको म
लोकतन्त्रमा टुहुरो भएँ
गणतन्त्र सबार हुने दिन
लखेटिएँ चौताराबाट।
संसार मे!
हमरा नैचाही इ आदमिके
कैल्याकी संसारमे टुक्रा लेकिन
बिछौनमे नैलेलियै हम
चिरल छैय् आकाशमे झोप्री
निकस राख तोहर देशके
इ आदमिके नागरिकता
हमर परिचय नइहै
राइतमे काटल जमिनके टुक्रा
लेकिन शीत पकैरके छाहैर
हमरा चाहि ई
नाम चुन्नुलाल अनाथ।