जब जब यो जगमा
भालेहरुकै दब दबा हुन्छ
तब तब सोच्ने गर्छन्
ती अभिमानी भालेहरु-
हाम्रै डाकले ब्युँझन्छ यो जग
हाम्रै पखेटाको निम्ति न हो स्वतन्त्रता
हाम्रै निम्ति त हो यो ब्रह्माण्ड!
खबरदारी गरीरहन्छन् ती भालेहरु
हामीले लेखेको इतिहासलाई
बङ्ग्याउने हिम्मत गर्ने
ती पोथीहरु को हुन्?
इतिहासलाई लत्याउने
ती पोथीहरुको यत्रो हिम्मत!
मानौँ कि सारा हिम्मतका खम्बाहरुलाई
ती भालेहरुले आफ्नै शिरमा
बोकेर हिँडिरहेछन्
भनिदिनू कसैले ती भालेहरुलाई
केही समय ओथारो बस्दैमा
पोथीहरुले आफ्नो सारा अस्तित्वलाई
दागबत्ती कहाँ दिएको हुन्छ र!
नभुल्नू ए भालेहरु हो
एउटा पोथीले नै हो जोगाउने
बाजका ती नङ्ग्राहरुबाट
ती चिचिला चल्लाहरुलाई
भालेहरुको साम्राज्यमा
जब जब पोथीहरुले
एउटा विद्रोहको शंख फुक्नेछन्
हो, त्यस दिन पक्कै ढल्नेछन्
ती भालेहरुका अभिमानका सिउरहरु।