आमाको ममता समेत अहिले पाइन्छ किन्ने भए
ए साथी किन फेरियो युग सबै संसार बिक्ने भए!
कोहीले त कमाउँछन् किन यहाँ बेचेर आफ्नो तन?
पैसा श्रेष्ठ हुँदैन थियो यदि भने को जान्छ कोठी भन?
पैसा नै सबथोक होइन भनी बोल्नेहरू हो सुन
मात्रै बोल्न सुँहाउछन् सब यिनी साँचो कुनै होइन
पैसा साथ भए त चल्दछ सबै पैसा न हो इज्जत
पैसा नै सबथोक हो बुझ तिमी पैसा बिना के छ त?
डिग्रीसम्म दिएन खान कहिल्यै विद्वान मरे भोकले
कस्तो हालतमा महाकवि थिए? के नै गरे ज्ञानले?
पैसा साथ भए कयौँ दिन अझै के-के गरी बाच्दथे
शिक्षा श्रेष्ठ भए अवश्य पनि ती चाँडो त मर्दैनथे।
पैसा छैन भने हुँदैन कहिल्यै खाना र छाना पनि
शिक्षा प्राप्ति हुँदैन, ढल्छ तन त्यो पाइन्न नाना पनि
पैसा साथ हुँदा तिमीसँग सधैँ सम्मानका खात छन्
पैसा छैन भने त केवल सधैँ हेप्ने तिता बात छन्।
कोही जान्छ समुद्रपारि तिरका आहाल झैँ ठाउँमा
गर्छन् काम डटेर, प्राण उनले राखी तिनै हातमा
पैसा श्रेष्ठ हुँदैन भन्नु कसरी देख्दा यिनी हालत
ए साथी! अब मान्नु पर्छ सबले पैसा बन्यो मालिक।