हामी नेतालाई त अब
नेता भनेको पनि मन पर्दैन
जति चढाउ-कमाउ हुँदा पनि
कसैले राम्रो कुरै गर्दैन
कमेन्ट बक्स पनि पढिनसक्नु
गर्नु नगर्नु गाली बेइज्जती
नेगेटिभमात्रै पढ्दा सुन्दा
कसरी सप्रेला हाम्रो मति
आफ्नै दल भित्र पनि
पाखुरा सुर्कने हाम्रो बुद्धि
जति माथि बढेचढे पनि
नानीदेखि लागेको साह्रै छोटो सुद्धी
आफ्ना अनुहारको नयाँ नियुक्तिले
टन्न पोल्टा भर्छ भर्दैन
हामी नेतालाई त अब
नेता भनेको पनि मन पर्दैन
गल्तीले मन्त्री बनाउँदा पनि
सल्लाह गरेन भनेर विरोध
एमसिसी र संघीयतामा पनि
आफ्नै गठबन्धनको अवरोध
टाला मिलाउँदा टुली नमिल्ने
बटुलेको पुतली अघि सर्दैन
हामी नेतालाई त अब
नेता भनेको पनि मन पर्दैन।
कोभिड विरूद्धको खोप
किन ल्याइनस् भन्छन् सबै
त्यत्रो तिगडम लगाएर मन्त्री
किन खाइनस् भन्छन् सबै
कुन दल आफ्नो कुन अर्काको
फाइदा नभई सँगै चर्दैन
हामी नेतालाई त अब
नेता भनेको पनि मन पर्दैन
हामी नेतालाई त अब
नेता भनेको पनि मन पर्दैन
जति पदको फुर्ती लाउँदा पनि
कसैको अन्तर्मनले नमस्कार गर्दैन
समस्या हुनेले आँसु झार्नेले
अझ बाकसमा फर्कनेले के भन्लान्?
काम, क्रोध, लोभ, मोह र अहंकार
हामी नेताको विराट रूपमै देख्लान्।