भगीरथ हाँप झाँप गरि दगुर्दै आएर भन्यो, ‘काका, गाईले अम्रो खाएर घाँटीमा अड्केको छ, मर्न आँट्यो।’ उसको भैंसी गोठ थियो। हाम्रो गाई गोठ। गाई चरनमा थियो। हामी सबै दगुरेर गयौं। छटपटाई रहेको गाईको मुखमा हात हालेर तान्ने कोशिश गरे पनि सफल भइएन। छटपटाउँदै बिचरी गाई मरिन्। राम्रो बाछी ब्याएको रहेछ।
भगीरथको उमेर करीब बीस वर्ष थियो। बाँसुरी राम्रो बजाउँछ। बेला बखत ताक परे सिलोक पनि हाँक्छ। गाई भैँसी प्रति उसको अगाध माया छ।
‘काका, यो बाछीलाई म मेरै भैंसी गोठमा लगेर पाल्छु,’ उसले आग्रह गऱ्यो, ‘भैंसीको दुध तागतिलो पनि हुन्छ र सानो बाछी चाँडै हुर्कन्छ।’
सानो बाछीको नाउँ लक्षीमा राख्यो। उनी भैंसीको पाडासँगै बस्न थालिन्, एउटै टाट्नोमा घाँस खान थालिन्। पाडापाडी जस्तै बानी ब्यहोरा हुन थाल्यो। हुर्किन उनी।
भैंसीको हुलमा मिलेर चर्न जान थालिन्। सबै भैंसी पानीमा आहाल खेल्दा उनी डिलमाथि बसेर चरिरहने र आहाल खेलेको भैंसीहरू तिर हेरिरहने गर्थिन्।
भगीरथले पनि लक्षीमालाई साह्रै माया गर्थो। कनाई दिने, उनी कनाई माग्न आउने, खेल्ने र हातले दिएको नुन चाट्ने गर्थिन्।
हेर्दा हेर्दै लक्षीमा कोरली भईन्। अब आमा हुनुपर्छ र सबै भैंसी गोठालाको गाईको बिगौती खाने इच्छा बढ्न थाल्यो। तर लक्षीमा गाईगोरूको बथानमा जानै मानिनन्। भैंसीसँग बसेर बानी व्यहोरा पनि भैंसीको जस्तो भएपछि उनी गाई गोरूको बथानमा बस्न रूचाइनन्।
भगीरथ फेरि एक दिन आयो र लक्षीमा भर्ना नभएको दुःख प्रकट गऱ्यो।
‘अब के गर्नु काका?’ भनेर टाउको कन्यायो।
मैले पनि लक्षीमालाई गाईको बथानमा लानुपर्छ अनि गोरू लाग्छन् भनेँ। प्रयास सफल भएन। सानैदेखि भैंसीसँग हुर्केकी लक्षीमा किन पो जान्थिन् र गाईको बथानमा।
लक्षीमाको रङ टाटेपाङ्ग्रे थियो। कालो भैंसीको हुलमा परबाटै चिनिने। पुष्ट शरीर। बानी व्यहोरा पनि सारै राम्रो थियो।
तर भर्ना भइनन् भने त दुःख को कुरो हो। सबै गोठालाले भगीरथको कोरली भन्थे।
भगीरथले मन साह्रै दुखायो। बाँसुरी बजाउन पनि मन गर्दैन हिजोआज। सिलोक पनि भन्दैन। लक्षीमाको चिन्ताले सताउन थाल्यो उसलाई।
फेरि एक दिन आयो म सँग र दुःख बिसायो, ‘के गर्नु हौ काका? केही सल्लाह भए दिनून।’ मैले लक्षीमालाई गोठबाट उसको गाउँको घरमा लान सुझाव दिएँ। गाउँको घरमा त गाई गोरू मात्रै छन्। उतै लगेर राख्ने सलाह दिएँ।
हिउँदमा ब्रह्मपुत्रको पानी कमै हुन्छ र गाई भैंसी वारपार गर्न सकिन्छ। लक्षीमालाई एकदिन सबै मिलेर उसको गाउँमा लगियो।
लक्षीमाले गाउँमा पुग्नासाथ सत्याग्रहमा बसिन्। केही खान मन गर्दिनन्। उनलाई भैंसीको बथान चाहियो। निकै दुब्लाइन्।
भगीरथको बाबु र आमा साथै गाउँ घरकाले पनि साह्रै सुर्ता गरे।
बिस्तारै करिब ६ महिनापछि लक्षीमाले गोरू खोजिन् र गर्भवती भइन्। सारा गाउँमा खुशीको लहर फैलियो। गोठालाले राम्रो समाचार सुनेर डाङ्ग्रेको पूजा गरे। भाङ्ग खाएर मस्ती गरे।
करिब नौ महिनापछि लक्षीमाले एउटी सुन्दर बाछी उपहार दिईन्! गाउँमा सबैको घरमा उत्सव झैं भयो। बिगौती खाए नानीहरूले। सानो बाछीको नाउँ पार्वती राखे।
हिजोआज भगीरथ बाँसुरी बजाएर सिलोक गाउँदै गोठमा रमाईरहेको छ।