अहो! अन्तरिक्षमा तिम्रो जीवनको विन्दु
हे! यामिनीमा सुनौँलो किरण छरी टहटह लाग्ने इन्दु।
तिम्रो मनोरम सौन्दर्य कसरी ग्रहण गरुँ?
आऊ धरामा अनि सँगै खेलौन बरु।
प्रगाढ मित्रता गाँसी सदैव सँगै यात्रा गरौँला
म हरहमेसा तिम्रै मित्र बनी रहौँला।
कि त तिमी सन्ध्यामा आई बाटिकामा फुलिदेऊ न
अन्तस्करणबाट आह्वान गर्दैछु मनमोहक संगीत केलिदेऊ न।
हृदय छुने गरी मुसुक्क पूर्णिमामा हाँस्न
आऊ धर्तीमा अनि पवित्र मित्रता गाँस्न।
चमक्क चमक्क चम्किने सितारा टिपी ल्याइदेऊ न कोसेली
सिरसिर बहने बताससँगै सुसाउला म सुसेली।
दर्द बह कष्ट भुलाउन सारा
मित्र हौँ तिमी मेरो बलियो सहारा।
प्रिय! मित्र इन्दु वायुपंखी घोडामा आऊ
अनि मलाई पछाडि बसाली अन्तरिक्षमा घुमाइदेऊ।
सुनसान आसमानमा सेतो मोती बनी फुलिदिन्छौ
मुलायम हृदयले धरालाई मनोरम ज्योति छरिदिन्छौ।
टलक्क टल्किदा निधारको टिकी बनाऊ झैँ लाग्छ
अँध्यारोले तिमीलाई देखेपछि परपर भाग्दै जान्छ।
मेघसँग रजनीमा आसमानभरि तिमी लुकामारी खेल्दा
आकुल व्याकुल हुन्छु व्योममा ओझेल पर्दा।
सन्ध्यामा पूर्वबाट उदाउँदा म हर्षित हुन्छु
मिरमिरेमा पश्चिमबाट अस्ताउँदा म व्यथित बन्छु।