विकट गाउँमा एउटा सानो झुप्रो छ। सन्तमानको घर त्यही हो। बाबुको जग्गा जमिन थोरै। त्यसमा पनि पहाडको पाखो बारी। अन्नपात कति नै फल्छ र !
सजिलै अनुमान लगाउन सकिन्छ। तर पनि गाउँमा एैंचोपैँचो र मेलापात निमेक गरेर जसोतसो गुजरा चलाएका थिए। घरमा बुढी आमा र सन्तमान गरी दुई जनाको परिवार थियो।
उमेरले बाइस वर्ष कटिसकेको सन्तमान शान्त स्वभावको इमान्दार लक्का जवान।
गाउँलेहरू भन्थे 'अब बिहे गर्नुपर्छ सन्ते। आमालाई सघाउने कोही भएन।'
तर उसको मनमा बिहे गर्ने आँट थिएन। घरायसी समस्याका कारण उसले मन खुम्चाउँथे। कहिलेकाहीँ 'कि गरूम त बिहे ?' आफ्नो मनलाई आफैं सोध्थे।
अनि चाहेर मात्र के गर्नू! धेरै खर्च हुन्छ। घरको अवस्था कमजोर छ भन्न पुग्थे। तर उसको मनले बेलैमा बिहे गर्नुपर्छ भन्न थाल्यो। मन खाने केटी पाएँ भने बिहे गर्छु भन्ने टुंगोमा पुगे।
सन्तमानको मनले वारिपारि गाउँका युवतीहरू एक-एक गर्दै रोज्न थाल्यो। अन्तत: उसको मन चमेलीमा गएर अडियो।
मनमनै चमेलीलाई डोलीमा बेहुली बनाएर ल्याएको सपना देख्थ्यो। सपनामा हराएर उनी फिस्स हाँस्थ्यो।
माघे पूर्णिमाको साँझ गाउँको चौपारीमा मेला लागेको थियो। उसले पल्लो गाउँको बैदारकी छोरी चमेलीलाई घरमा लिएर आएछ। जसलाई उसको मनले खाइसकेको थियो।
चमेली रूपकी धनी, मिलेको ज्यान र मिजासिली सुन्दर युवती थिई। उमेरका युवाहरूको मन सजिलै खिच्ने उनको सौन्दर्य थियो।
उनी सँगको सम्बन्धमा सन्तमानको मन गदगद थियो। उसको आमा पनि त्यति सुन्दर बुहारी पाउँदा मख्ख थिइन्।
सन्तमान र चमेलीको जोडी गाउँलेहरू सबैको आहा ! जोडीको रूपमा चिनिएका थिए।
आपसमा औधी माया गर्थे। उनीहरूले घरको अवस्था कमजोर भए पनि प्रेमको घर संसारलाई बलियो बनाएका थिए। अभावलाई पनि जे छ त्यसैमा सन्तोष मानेर दु:खलाई सुख मानेर जिन्दगी बिताएका थिए।
सन्तमान र चमेली एक भएको सात वर्ष बितिसकेको रहेछ। उनीहरूको प्रेमको प्रमाणको रूपमा तीन जना सन्तान जन्मिसकेका थिए। सन्तमानको आमाको उमेर ढल्किँदै गर्दा दमको व्यथाले सताएको थियो। गाउँमा सक्ने औषधी उपचार गर्दा पनि आमालाई निको पार्न सकेन।
उनीहरूको छोराछोरीहरू रहर लाग्दा भैसकेका थिए। देख्नेहरूले छोराछोरीको बयान गर्थे। उनीहरूलाई खुवाउने, हुर्काउने र पढाउने बेला आएको थियो। उनीहरूले आफ्ना सन्तानलाई राम्रोसँग हुर्काउने र पढाउने मन थियो। तर उनीहरूको मनलाई खुल्ला पार्न धनले बाधक बनेर छेकिरहेको थियो। सन्तमानलाई बिस्तारै पिरोल्दै आउन थाल्यो।
एक दिन उनीहरूले सल्लाह गरे। घरमै बसेर लालाबाला बच्चाहरूको लालनपालन र शिक्षा दीक्षामा अप्ठ्यारो पर्ने भएपछि परदेश जाने योजना बुने।
'चमेली, तिमीले छोराछोरीको राम्रो हेरचाह गरेर बस। हाम्रा छोरा-छोरीले हामीले जस्तो दु:ख भोग्न नपरोस्। म परदेशतिर लाग्छु।'
मन बाँधेर चमेलीसँग उसको बाध्यता दर्साए। चमेलीलाई थाहा थियो। घरको सबै कुरा। तर उनको मनले त्यत्ति सजिलै कहाँ मान्थ्यो र छोडेर जाऊ भन्नलाई। केही दिनसम्म लोग्नेको कुरालाई हुन्छ भन्न सकिनन्। तर रहरले थिएन परदेश जाने योजना बनाउनु। एकदिन मन छिया-छिया पारेरै भए पनि 'हुन्छ' भन्न बाध्य भइन्।
सन्तमानको पढाइ थिएन। राम्रो कमाइ हुने देश जानलाई लाग्ने खर्च तिर्ने आर्थिक क्षमता थिएन।
घरमा चमेलीले रक्सी पारेर बचाएको पैसा र कुखुरा बेचेर राखेको पैसाले सन्तमानको पासपोर्ट बनाए। गाउँमा दलाली काम गर्ने मान्छेसँग समस्या दर्साएर अरबको खाडीतिर भिसा लगाउन बिन्ती बिसाए।
मुस्किलले आफ्नो नामसम्म लेख्न सक्ने सन्तमानलाई धेरै कमाइ हुने कामको भिसा कहाँ मिल्नु र ! तर भाग्यबस साउदी अरबमा घर बनाउने काममा भिसा मिलेछ। भिसा आएपछि छरछिमेक र ससुरालीतिर एक लाख पचास हजार बढी खोजखाज गरे।
मुटुको टुक्रा जस्ता सन्तान र आफ्नो ज्यानलाई भन्दा माया गर्ने श्रीमती चमेलीलाई छोडेर साउदी अरबतिर लागे।
अरब जाने दिन नजिकिँदै आउँदा सन्तमानले चमेलीलाई भनेका थिए, 'भोको नबस्नू, छोराछोरीलाई राम्रो हेरचाह गर्नू, छिमेकीसँग मिलेर बस्नू। घर र आफ्नो इज्जतलाई सम्हालेर बस्नू।'
चमेलीले आँसु खसाल्दै भनेकी थिई, 'ढुक्क हुनुहोस्। म रहुन्जेल छोराछोरीको चिन्ता मान्नु पर्दैन। बरू हजुरले पनि आफ्नो ज्यानको ख्याल राखेर काम गर्नू। छोराछोरी र मलाई माया नमार्नू। छिट्टै फर्केर आउनू।'
सन्तमान आफ्नो मनलाई ढुंगाजस्तो कठोर बनाएर साउदी अरब पुगे। घर बनाउने काम छ। सजिलो कहाँ हुन्थ्यो र ! त्यसैमाथि उडेको चरा खसाल्न सक्ने तापक्रम भएको गर्मी हुने ठाउँमा छ। ता पनि घरको समस्या र साहुसँग लिएको ऋणको भारी अनि आफ्नो घर परिवारको भविष्य सोचेर काममा खटिन्थे।
घरबाट निस्किँदा बुनेको सपना र विदेशमा पुगेपछि भेटिएको वास्तविकता आकाश पातालको फरक थियो।
दलालीले देखाएको कमाइ र महिनाको पूरै दिन काम गरेपछि उसले पाउने तलबमा धेरै अन्तर भेटिए। महिनाको पूरै दिन काम गर्दा आठ सय साउदी रियाल तलब पाउथे। त्यसैमा खाना खर्च कटाएर दुखले त्यहाँको पाँच सय बचाएर घर पठाउथे। वर्ष दिन पुग्दा दुखले आफू जाँदा लिएको ऋण उकास्यो।
ऋण तिरेपछि अब खरको छानो फालेर टिन लगाउने सल्लाह गरेका थिए। उनीहरूको मनमा बिस्तारै मिर्मिरे किरण छाउन थालेको थियो। टाढै भए पनि फोनबाट लोग्ने स्वास्नी बीचको प्रेम साटासाट गर्थे। त्यसैमा मन बुझाउँथे। तीन वर्षको सम्झौता सकिएपछि 'भिसा थपेर छुट्टीमा आउँछु चमेली' भन्थे सन्तमान।
चमेलीले पनि छोराछोरीको हेरचाह घरधन्दा र आफ्नो इज्जत सम्हालेर बसेकी थिइन्।
सन्तमान साउदी लागेको पनि झण्डै तीन साल पुग्नै लागेको रहेछ। कमाएको पैसा जति चमेलीकै नाममा पठाउथ्यो। चमेलीले छिट्टै फर्किनुस् भनेर दबाव दिन्थिन्। 'कहिलेसम्म म एक्लै बस्नु ? पैसा मात्र ठूलो नमान्नू' भन्थी।
सन्तमानको मनले हो भन्थ्यो। जान्छु फर्केर भन्थ्यो। र पनि उसले पाएको नोकरी छोड्न सकिरहेको थिएन। उनीहरूले बनाएको योजना र बुनेको सपना पूरा गर्ने ठूलो धोको थियो।
ऋण लिएर घर बनाउनुभन्दा केही महिना बसेर पैसा बचाउँछु र फर्केपछि घर छाउँछु भनेर रातदिन नभनेर, घाम पसिना नभनेर काममा जाँगर गर्थे।
सन्तमानले साउदीको बसाइ तीन वर्ष पूरा भएपछि भिसा थपे। केही सालपछि मात्र फर्कन्छु भनेर चमेलीलाई खबर गरे। आफ्नो बाध्यता सुनाउँदा चमेली भक्कानिँदै रोएकी थिइन्।
'छिट्टै भेट्ने सपना चकनाचुर भएर गयो। कस्तो जिन्दगी रहेछ हाम्रो।' रुँदै भनेकी थिइन्।
त्यसपछिको समय एक दिन, एक महिना हुँदै वर्ष दिन बितिसकेको थियो। सन्तमान गाउँ फर्कन धेरै नै समय बाँकी थियो। चमेलीले घरमै रक्सी बनाउन छोडेकी थिइन। रक्सी पिउन आउने जानेहरू ओहोरदोहोर नै हुन्थ्यो। एक्लै घर चलाइरहेकी एक सुन्दरी नारी देखेपछि अल्लारे युवाहरूले इज्जत र नियमको ठाउँ नराखेर जिस्किने, छिल्लिने गर्थे।
त्यस्तै वातावरणमा मनलाई बाँधेर बसेकी चमेलीको मन डुल्न थाल्यो। दिल खुल्न थाल्यो। उनको व्यवहार पहिले जस्तो रहेन। पहिले मन खेल्न थाल्यो। उनलाई निगरानीमा राख्ने र सम्झाउने मान्छे कोही नभएपछि उनको तन समेत डुल्न थाल्यो।
अबेरसम्म अरूसँग फोनमा बात मारिरहने हुन थाल्यो। बिना काम गाउँदेखि टाढाको सदरमुकामसम्म जाने, उतै बास बस्ने। दुई/ तीन दिनमा घर आइपुग्ने गर्दा छोराछोरीको बिचल्ली हुन थाल्यो। घरमा बास नभएपछि घर व्यवहार बिग्रिँदै गयो।
चमेलीले इज्जतमा रहन सकिनन्। लोग्नेले तातो घामको रापमा जोतिएर काम गरी कमाएको पैसामा फुर्फुर गर्न थालिन्।
गाउँ टोलभरि चमेलीकै कुरा काट्नेहरू भेटिन्थे। चमेलीले आफ्नो धर्म बिर्सिइन्। बैंस मात्तिएर बाटो बिराइन्। उनको इज्जतमा दाग लाग्यो। समाजमा उँचो शिर पारेर हिँड्न नसक्ने भइन्। आफ्नो लोग्नेले स्वीकारे पनि समाजमा आफ्नै मनले स्वीकारेर हिँड्न, डुल्न नसक्ने स्थितिमा पुगिन्।
हावा नलागी पात हल्लिन्न। पात हल्लिनलाई हावा आउनै पर्छ। चमेलीको चरित्रमाथि ठूलो आँधीबेहेरी आएर चारै दिशा फैलाइदियो। त्यही हुरीले चमेलीको चर्तिकलाहरू सन्तमानको कानसम्म पुर्याइदियो। आँखाले नदेखेको कुरा कसरी विश्वास गर्ने भनेर कान थुनेर बसेका थिए सन्तमानले। घरबाट साउदी फर्केको गाउँकै आफन्तसँग भेटेपछि भने उसको कानको जाली फुटेजस्तै भयो। दिमाग आगोको भुङग्रोमा परेजस्तै तात्यो। मुटुमा करेन्ट लागेजस्तै झट्का लाग्यो।
उसले चमेलीलाई फोनबाट निक्कै सम्झायो। गाली गर्यो पनि। लोग्नेसँग चमेलीले कुरा लुकाउन खोजे पनि सत्यता कहाँ लुक्न सक्थ्यो र !
उनको हरेकको चाल र क्रियाकलापको साक्षी साथमै भेटिएपछि उनले गल्ती स्वीकार्न बाध्य भइन्। बानी सुधार्छु। गल्ती गरेँ। छिट्टै घर फर्किनु भनेकी थिइन्। सन्तमानले मौखिक रूपमा माफी दिए पनि मनमनै जलिरहेको थियो।
चमेलीको बारेमा चियोचर्चो गर्दै गाउँका आफन्त र छिमेकीहरूसँग बुझिरहेका थिए। चमेलीले पनि बानी छोडेकी थिइन। सन्तमानले सम्झाएपछि पनि केही सुधारको संकेतसम्म देखाइन। उनी लगाम बिनाको घोडाजस्तै भैरहेकी थिइन्। चमेलीले अब सन्तमानसँग नबस्ने योजना रच्न थालेकी थिइन्।
सन्तमान चमेलीलाई खबरै नदिई भित्रभित्रै योजना बनाएर आकस्मिक छुट्टी लिएर एक महिनाको लागि नेपाल फर्किए। संयोग त्यस्तै हुन पुग्यो। सन्तमान घर आउने दिन चमेली गाउँबाट टाढा थिइन्। लोग्ने घर आई पुगेपछिको दोस्रो दिन साँझमात्र चमेली घर आइपुगेकी थिइन्।
सन्तमानलाई चमेलीको बारेमा हल्ला अफवाहमात्र नभएर सत्यता रहेछ भन्ने कुरा स्वयंले चाल पाए।
चमेली आएपछि उनलाई सम्झाए। चमेलीको अटेरी र जिद्धीपनका कारण छरछिमेकका जान्ने मान्नेहरूलाई घरमा बोलाएर छलफल गरे। सन्तमानले छोराछोरीको भविष्य नबिग्रियोस् सोचेर प्राण प्यारी चमेलीलाई माफ दियो। दुबै जना मिलेर बस्ने। विगतलाई भुल्ने र आगामी दिनहरूमा त्यस्तो गल्ती नगर्ने सहमतिमा कुरा टुङ्ग्याएर छुट्टिएका थिए।
साउदी अरबबाट लोग्ने घर आइपुगेको पाँचौं दिनको रात चमेलीले आफ्नो लोग्ने र छोराछोरीलाई माया मारेर अर्कैसित गई। त्यो घटनाले सन्तमानको जीवनमा ठूलो बज्रपात पर्यो।
आफूले मन पराएर ल्याएको माया गर्ने श्रीमतीले छोडेर गएपछि सन्तमान एक्लिए। छोराछोरी आमाविहीन बने। उसको घरमा टिन लगाउने रहर रहर मै सीमित रह्यो। जसरी उसको घरको छानो खर मक्किएर बर्खामा पानी पर्दा चुहिन्थ्यो, त्यसरी नै उसको जिन्दगीमा बर्खा लागिरह्यो। आँखाबाट पानी बर्सिरह्यो।
'यो सन्तेलाई सधैं दुखै दुख लेखेको रहेछ। सानैदेखि दु:खसँग लडेर आएको हो। चमेलीसँग बिहे भएपछि त अब यसको दु:ख परपर जाँदैछ भनेको थिएँ। त्यसले पनि एक्लै पारेर गई।'
सुबेदारनी बज्यैले लामो सास फेरेर भनेकी थिइन्।
'चमेलीले सन्तमानलाई ठूलो धोका दिइन्।' 'अरूलाई रुवाउनेहरू, एकदिन आफू पनि रुनै पर्छ।' सन्तेले पनि स्वास्नी ल्याउलान्। छोराछोरीको पो बिजोग त।' गाउँका शुभ चिन्तकहरूले तिठाएर भन्थे।
सन्तमानले तीन वर्ष तातो घामको राप नभनेर कमाएको पैसा चमेलीले उडाई। त्यत्तिले नभएर उसको जीवन संगिनी चमेलीलाई निष्ठुरी पापीले उडाइदियो।
खाडीमा गएर सन्तमानले न कमाएको पैसा भेटाए, न त सँगै जिउने बाचा कसम खाएकी प्राण प्यारीसँगै जिन्दगी बिताउन पाए।
'यी सबै घटना मेरै कमजोरी र पैसाले गर्दा घटेको हो। मैले पनि पढ्न पाएको भए र यदि देशमै रोजगारी मिलेको भए यस्तो दु:ख भोग्नुपर्ने थिएन।' सन्तमान मन बुझाउनलाई यसो भन्छन्।
छोराछोरीको दु:ख देखेर सन्तमानको मन धेरै रुन्थ्यो। छोडेर जानेलाई सम्झेर पीर गर्नु हुँदैन। अब नयाँ बाटो रोजेर नयाँ विकल्पहरू खोज्छु। त्यसैमा रमाउँछु भनेर चमेलीलाई भुल्ने कोसिस गर्थे। तर सानी छोरीले 'आमा कहिले आउनुहुन्छ बाबा ?' भनेर सोध्दा उसको मन थम्न सक्थेन।
'मलाई त माया मार्न सक्यौ। तर आफ्नै कोखबाट जन्मेको मुटुको टुक्रा जस्ता छोराछोरीलाई कसरी त्याग्न सक्यौ चमेली ?' भित्तामा टाँसेको तस्बिरमा हेरेर आँसु खसाल्थे। उसले तीन जना छोराछोरीको मुख हेरेर मन बुझाउँदै जान थाल्यो।
'यिनीहरूको आमाले त छोडिन्। मैले पनि बेवास्ता गरेँ भने यिनीहरू टुहुरा हुनेछन्। बाबा आमालाई पाप लाग्नेछ। श्राप लाग्नेछ' भन्थे। त्यसरी नै मन बलियो पार्थे। लेखेको भोग्नै पर्छ भनेर चित्त बुझाउँथे।
दिनहरू बित्दै गइरहेको थियो। सन्तमानको गाउँले जीवन दु:ख सुख गुजारा चल्दै थियो। चमेली भागेर सहर पुगेकी थिई। सन्तमानलाई छोडेर गएको ठ्याक्कै पाँच महिना पूरा भएको दिन गाउँमा एउटा दु:खद् घटनाको खबर आइपुग्यो। गाउँमा हल्ला थियो-
'चमेलीलाई भगाएर लैजाने लोग्ने बाइक दुर्घटनामा परेर मृत्यु भएछ। बाइकमा सँगै सवार चमेलीको दाहिने खुट्टा भाँच्चिएर अस्पतालमा भर्ना गरिएको रहेछ।'