झम्-झम् पानी परिरहेको छ बाहिर। घरको छानो बजेको मज्जैले सुनिन्छ। दुर्गा दिदी सबेरै उठिन् आज। बाहिर अध्याँरो छ, झरी रोकिने छाँट छैन। मनमनै 'कति परेको यो झोल नि' भन्दै सराप्दै पानी चुहिएको थाप्न राखेको भाडो अलिक पर सार्छिंन्।
अनि मोबाइल खोज्न थाल्छिन्। सिरानमुनि हेर्छिन्, भेटिँदैन। बत्ती बाल्न खोज्छिन्, बल्दैन। निधार खुम्चाउँदै दिक्क मान्छिन्। खाटमुनि हेर्छिन्, अध्याँरोले केही देख्दिनन्। अलिक परसम्म हातले छामछुम गर्दा मोबाइल भेटाउछिन्। अलिक वर तान्छिन्।
मोबाइल हलुङ्गो लाग्छ। राम्रोसँग छामेपछि थाहा पाउँछिन ब्याट्री छैन भन्ने। दुर्गा दिदीको फोन पुरानो नोकिया १२८० मोडेलको हो। उनले फोनमा घडी हेर्न सक्दिनन्। हैन, हेर्न सक्छिन् पढ्न सक्दिनन्, पढ्न सक्छिन् तर देख्दिनन्। जे होस् फोन हेरेर समय पत्ता लगाउन सक्दिनन्।
उनी घडी हेर्न आकाश हेर्छिन्। यो उनको उमेरको असर होला। दुर्गा दिदीको साथी त्यहीं फोन हो आजभोलि। अरुको लागि त्यहीँ फोन कति पुरानो फोन मात्र लाग्न सक्छ, तर त्यहीं फोनमा दुर्गा दिदीले आफ्ना छोराछोरी बोलेको सुन्छिन्, कहिले त्यहीं फोनमा आफ्नो बुढी भएकी आमाको, कहिले त्यो सानो नातिको माँ, माँ भनेको बोलि सुनेरै अघाउँछिन्।
आखिर साथी त्यहीं त हो कोही नहुँदा ऊ होस् जोसँगै मनका कुराहरु सुनाउन सकियोस्। भलै पानी तताएर खान त नदेला तर त्यसैबाट आएका बोलीहरु सुनेसी दुर्गा दिदीलाई पकाएर खाने हिम्मत दिन्छ।
छोरीहरु सबै आ-आफ्ना घर छन्। छोरो सहर तिर छ। घर आफू एक्लै हुँदा, बोल्ने कोही नहुँदा आफै त्यहीं फोन थिचेर छोराछोरीसँग कुरा गर्ने अनेक बहाना खोज्छिन् दुर्गा दिदी।
तर आज बिहानै उनी फोनको ब्याट्री नदेखेर आतिन्छिन्। उनी फेरि खाटमुनि छामछुम गर्छिन्। अलिक बेरसम्म खोजेपछि सिमको टुक्रो भेटिन्छ। त्यसैको नजिकै ब्याट्री पनि भेटाउछिन्। आनन्दले लामो सास त फेर्छिंन् तर अब हाल्ने कसरी? उल्टो होकि सुल्टो हो ठम्याउन सक्दिनन्।
अझै अँध्यारै छ, सधै झैँ अनुमान लगाउछिन् ५ बज्न लाग्यो होला भन्ने। जबरजस्ती ब्याट्री हाल्छिन्, ब्याट्री लाग्छ अनि रातो बटन एकछिन थिचिराख्छिन्। फोन अन हुँदैन। एक्कासी सिमको टुक्रो सम्झिन्छिन्। यो हाल्ने बिर्सेर रैछ भन्ने लाग्छ।
सिम हाल्ने ठाउँ खोज्छिन दुर्गा दिदीले तर भेटाउदिनन्। दुर्गा दिदीले आफैलाई गाली गरे जस्तो गर्छिन् एकछिन। मोबाइल त्यहीं बिस्तरामा छोडेर दैनिकी काम सुरु गर्छिन्। तर आजको दैनिकीको सुरुआत खल्लो भैसकेको हुन्छ।
सधैँ उठेर छोरोलाई फोन गरेपछि बिस्तराबाट उठ्ने उनको दैनिकी हुन्छ। बिहान पानी ल्याउनेदेखि पोछा लाउनेसम्मका कामहरु गर्दासम्म न झरी रोकियो न त्यो फोन बिग्रेको कुरा दिमागबाट हट्यो। छर्लंग उज्यालो भएसी दुर्गा दिदीले फेरि फोन हेर्छिन्।
बिहान हालेको ब्याट्री निकाल्छिन्। ओल्टाई पल्टाई गरी हेरिराख्छिन्। सिम राख्ने ठाउँ खोज्छिन्, ठाउँ भेटाए जस्तै लाग्छ, तर डर लाग्छ उनलाई झन् बिग्रिन्छ कि भन्ने। त्यही पनि जबरजस्ती सिम हाल्छिन्, ब्याट्री हाल्छिन्, रातो बटन थिच्छिन्। दुई जनाले हात मिलाउँदै गरेको चित्र देख्छिन् फोनमा, दुर्गा दिदी खुसी हुन्छिन्, बन्यो भनेर।
हतारिँदै २ थिच्छिन्, कतै केही हुँदैन। कतै फोन गए जस्तो लाग्दैन उनलाई। त्यसरी नै ३, ६, ८ र ९ थिच्छिन्। फेरि पनि कतै केही हुँदैन। दुर्गा दिदीलाई मोबाइल बिग्रे जस्तै लाग्छ अब। बाहिर हेर्छिन् कोही देखिन्छ कि मोबाइल के भएको भन्दिन सक्ने, बनाइदिन सक्ने। तर झरी परिरहेको हुन्छ, बाहिर कोही देख्दिनन्।
मोबाइलले गर्दा यति धेरै सोच्न पर्ने त हुन्थेन तर आज साउन ३ गते। छोराको जन्मदिन। हरेक जन्मदिनमा दुर्गा दिदीले बिहानै फोन गरेर उठाउथिन् छोरालाई। तर, आज ९ बजिसके पनि फोनमा कुराकानी हुन सकेको छैन। फोन बनेन। दुर्गा दिदी मन खुम्च्याउँदै खाना बनाउन तिर लाग्छिन्।
दिमागमा अनेक कुरा खेल्छन्। उनलाई भान्साका हरेक कुरासँग रिस उठ्छ। आफूले मोबाइल बनाउन नसकेकोमा दुःख लाग्छ। अलकति चामल भिजाएर फेरि बाहिर हेर्न जान्छिन् कोही देखिन्छ कि बाटोमा भनेर, कोही देख्दिनन्।
उनलाई खाना बनाउन मन लाग्दैन। दिक्क मानेर अनेक कुराहरु सोच्न थाल्छिन्। 'छोराले के भन्ठान्यो होला, आमाले बिर्सिन् भन्यो होला कि, मेरो फोन कुरेर बसेहोला कि, आफैले फोन गर्न खोजे होला कि, त्यसका दिदीहरुले फेसबुकमा कस्ता फोटो हाले होलान्, के भनेर लेखे होला?
दुर्गा दिदीले मनमनै आफूलाई राम्रोसँग पढ्न नजानेको, फोन चलाउन नआएको, फेसबुक चलाउन नआएकोमा पछुतो लाग्छ। आफैले पढाएका छोराछोरी कहाँ पुगेर कति शिक्षित भए तर आफू अनपढ नै रहिन्, आफू झन् नदेख्ने भइन्, आफू झन् नबुझ्ने भइन्, आफै मैनबत्ती भइन्, उज्यालो दिइरहिन् आफै जलेर।
सायद यो दुर्गा दिदी जस्ता प्रायः आमाहरुको कथा होला। यी अनेक कुरा सोच्दै अरु कामहरु गर्न थाल्छिन्। दिउँसो ३ बज्छ, उनी झसंग हुन्छिन्। फोन अझै बनेको हुँदैन। त्यत्तिकैमा विद्युत प्राधिकरणका कर्मचारी विद्युत मिटर हेर्न आएका हुन्छन्। उनले तिनैलाई फोन हेर्दिन आग्रह गर्छिन्।
उसले फोन हेर्छ, ब्याट्री निकाल्छ, सिम जहाँ राख्नु पर्ने त्यहाँ राखिएको हुँदैन। उनले मिलाएर राख्छन्, फोन अन गर्दिन्छन्।
'बन्यो आमा' भन्छन्। कसैलाई फोन लाइदिउँ कि भनेर सोध्छ। दुर्गा दिदीले आत्तिदै 'ए अ, हाम्रो अमरलाई लाइदिनु न' भन्छिन्। उनले फोनमा अमर भन्ने नाम खोज्छन, भेट्दैनन्।
'आमा, अमर भन्ने त छैन यसमा नाम, अरु केही नाम भए भन्नुस्' भन्छन्। दुर्गा दिदीले 'होला के, त्यसमा २ थिचिरहने हो भने हाम्रो अमरलाई फोन जान्छ।'
ती दाइले स्पिड डायलको कुरा बुज्छन् तर सिम निकालेर फेरि राखेपछि त्यो सबै हटेको कुरा दुर्गा दिदीलाई थाहा हुँदैन। उनैले सोझै भन्छन् 'अब यहाँ के-के थियो सबै हट्छ आमा, अमर भन्ने नाम छैन यसमा। अरु केही नाम लेख्नु भाथ्यो कि?'
यति भनेर उनी निस्किन्छन्। दुर्गा दिदी निराश हुन्छिन्। 'नाम त त्यसैले राख्देको हो, अमर नै त राखे होला नि, आफूलाई हेर्न झिँझो लागे होला, छैन भन्छ नाम।'
उनको मनले मान्दैन, दुई थिचिराख्छिन्। फोन जान्छ, उठ्छ, अरु नै कोही बोल्छ। चिनेकै मान्छे हो तर छोरो हैन। त्यसैगरी फेरि ३, ६, ८ र ९ थिच्छिन् पालैपालो। सबै चिनेकै मान्छे बोल्छन्, तर छोरीहरु हैनन्।
दुर्गा दिदीले पालै पालो सम्झिन्छिन्- २ मा छोराको, ३ मा साइँली छोरी, ६ मा माइली छोरी, ८ मा ठूली छोरी र ९ मा कान्छी छोरी हो। तर किन यिनीहरुलाई फोन गएन। दुर्गा दिदीलाई लाग्छ नम्बर डिलिट भए जस्तो, न कसैको नम्बर सम्झिन्छिन्।
उनलाई सबै खल्लो लाग्छ, केही गर्ने जाँगर चल्दैन। आँखाभरि छोराकै अनुहार सम्झिन्छिन्, त्यो सानो बेला सुजीको हलुवाको केक बनाएर जन्मदिन मनाइदिएको सम्झिन्छिन्।
'के खाए होला, के गरे होला, आज मन्दिर गए होला नाइँ?' यी कुरा सोच्दै बेलुकाको खाना बनाउछिन्। राति सुत्नेबेलामा दुर्गा दिदीलाई रिस पनि उठ्छ।
आफैलाई भन्छिन् 'त्यसलाई थाहा छ त आमाले फोन गर्न जान्नु भएन कि, आफै गर्दा पनि त हुन्थ्यो! अझै पनि मैले सम्झिन पर्ने यिनीहरुलाई, आमा-बाको मन छोराछोरी तिर छोराछोरीको मन ढुङ्गो तिर भन्छन्, हो रहेछ!'
उनी आँखा भरिको आँसु पुछ्दै गर्दा फोन बज्छ। आत्तिदै 'हेल्लो' भन्छिन्। उताबाट आवाज आउँछ 'ममी, किन अफ थियो फोन बिहान? बिहानभरि नि अफ, दिउँसो नि अफ थियो, बत्ती थिएन र?'
दुर्गा दिदी एकछिन केही नबोली आँसु पुछिराख्छिन्। केही बोल्न सक्दिनन्, विस्तारै सानो स्वरमा भन्छिन् 'ह्याप्पी बर्थ डे बाबु!'