जीर्ण माटोको खर
अनि चुहिने अँध्यारोभित्र
वृद्ध आमा
हातले छामछुम छामछुम पार्दै
मोतिबिन्दुले बिझाएर
उनीमाथि नै चुः चुः चुः गर्ने
आँसुको अँगेनामा
दाउरा हाल्छिन्।
दाउरा आक्रोशित भएर बल्न लाग्छ
कुनै दिन उनको छोरो
यस्तै क्रान्तिले आक्रोशित थियो।
छोरोलाइ यसैगरी
बाहिर पिढीँमा हिँड्न नसक्ने भएर
लडिरहेका बाले
एक युग पहिले
खोलाको किनारामा पुगेर
आफ्नै हातले
आगो लगाएका थिए।
आज कति वर्ष भयो उनलाई सम्झना छैन।
कुनै दिन छोरा थियो भन्ने
सम्झना पनि हुने छैन।
त्यो दिन
उनको आफ्नै इतिहास बन्नेछ।
इतिहास
दुर्गममा पर्यो भनेर नहेरिएको
इतिहास कसैले सम्झिएरै नसम्झिदिएको।
इतिहास कसैले बदलिदिने जिम्मा लिएर
आफ्नै वचन बदलिदिएको।
विडम्बना!
बाह्रमासे उनको मुस्कान
आफ्नै छोरा मार्नेप्रति
फक्रिएको कपासको फूल बन्छ।
उनको पोल्टामा
खरको ओभानो बाहेक अरु सुख छैन।
दुःख छ, किन दुःख दिइस् भन्ने प्रश्न गर्न
उनलाई दुःखको परिभाषा थाहा छैन।
अब त कुनै दिन वृद्ध मुढो मर्यो भने
धमिराले पनि बाटो लाग्दैन।
उनीहरु भाग्यमानी रहेछन्
कमसेकम सहाराका लागि
अर्को एक खोज्न परेको छैन।