आधाउधी कपाल तिल-चामल झैँ फुलिसकेको, कक्षा तीनभन्दा माथिल्लो कक्षामा उक्लन नसक्दा सानो उमेरमै पढाइ छोडी भागेको उसको शैक्षिक इतिहास।
जीवनको लामै समय दरभंगा (भारतको बिहार राज्यस्थित एक सहर) मा ज्याला मजदुरी गरी बिताएर धेरै समयपछि गाउँ फर्किएको हुँदा उसले बोल्ने वाक्यहरुमा कही न कही भोजपुरी ट्युन झल्किन्थ्यो।
प्रवासी हुन गएदेखि ३२ वर्षसम्म एकचोटि पनि नेपाल नआएको हुँदा नेपाली भाषा बोल्न अकमक्किने गर्दथ्यो। ‘अगर’, ‘क्यानम’, ‘मतलब’, ‘दुबारा’, ‘मालुम’ जस्ता हिन्दी र भोजपुरी शब्दहरु उसले बोलिने हरेक वाक्यहरुमा मिश्रित भएर उच्चारित हुने गर्दथ्यो।
नियतबस् नभई समय-समयमा आफ से आफ उसका आँखा झिम्क्याउने आदत बसेको थियो। जति कोसिस गरे पनि त्यो बानी उसले छुटाउनै सकेको थिएन।
सोही आनिबानी देख्दा गाउँका ठिटाठिटीहरुले उनलाई ‘चिमचिमे काका’ भन्दथे भने दाजु-भाइ, भतिजा-भतिजी, भाउजू-बुहारी, नाति-नातिनाहरुले खिसी गरी विभिन्न उपनाम दिएका थिए।
देवघाटको भीम विक जस्तै गरी सानासँग होस् कि ठूलासँग, जोसँग बोल्दा पनि ‘धाप मारेर’ बोल्ने बानी हुँदा बुढापाका गाउँलेहरुले उनलाई ‘धापमारे गोतामे ठाइँलो’ भनेर चिन्दथे।
तर नाम, दाम र इज्जत बढी नै भएको कारण उनी बाहेक घरका अरु सबै जनाको थर ‘गौतम’ थियो। केवल उनको मात्र गोतामे। उसलाई त्यसले त्यस्तो कुनै पर्वाह लाग्दैन थियो। जसले जुन नामले पुकारे पनि ती सबै नाम आफ्नै होला भन्ठानेर सबैलाई उत्तिकै आदर सम्मान र आज्ञाकारी बन्दथ्यो।
बोल्दा नाके-नाके स्वर भए पनि सबैलाई हजुर, तपाईं जस्ता आदर भावले बोल्ने र बडो मजाले अट्टहास स्वभावले हाँसेर बोल्ने अत्यन्तै रसिक स्वभावको वाककला थियो।
उसका दाजुभाइहरु गाउँमै बसेर पनि सबैजना पढे लेखेका। कोही मास्टर, कोही खरदार, कोही पशु स्वास्थ्य कार्यकर्ता, कोही गाउँमै पसल चलाएर बसेका व्यापारी। सबैको बन्दोबस्त उचित भैसकेको थियो।
ठाइँलो छोरो भएकोले आफूभन्दा ठूला दाइहरुको त नाति-नातिना समेत भइसकेका थिए भने उसले परदेशी जीवन अनि केवल कामकै मात्र ध्याउन्नले सायद आफ्नो बारेमा सोच्ने फुर्सद समेत नपाएर होला जीवनको ४३ औँ वसन्त पार गतिसक्दा समेत बिहे गरेको थिएन।
बिहेबारी नगरेको र जुन भाइको घरमा खान दिन्छन्, उसले उनैका घरमा दिनभरि खेतिपातीको कामदेखि वस्तुभाउ चराउने, हलो जोत्ने, घाँस दाउरा, स्याउला ल्याउनेदेखि भतिजा-भतिजीको कपडा धोइदिने काम समेत गरिदिनु पर्थ्यो।
भाउजूहरु र बुहारी तथा भातिजा-भातिजीको त के कुरा गर्नु, आफ्नै दाजुभाइहरुले समेत उसलाई ‘आफ्नो दाजुभाइ हो’ भनेर सोही अनुसारको व्यवहार कहिल्यै गर्दैनन् थिए। केवल सित्तैमा काम खानलाई सबै जनाले मुखन्जेल चेपारे पार्दथे भने उसको अनुपस्थितीमा गिज्याउँथे।
देउरानी जेठानीमा उसबाट काम खानलाई हानाथाप नै पर्थ्यो। सबैले लदाउन मात्र जानेका थिए। तर पनि धापमारे ठाइँलोलाई कुनै वास्तै लाग्दैन थियो। जसले जे भने पनि हासेर फुर्ती साथ खुसीले मानिदिन्थ्यो। उसको यही कमजोरीको फाइदा जो कोहीले उठाउथे।
ऊ खुला किताब झैँ थियो, कसैको कुभलो चिताउनै सक्दैन थियो। सबैलाई उत्तिकै खुसी बनाउन पाए हुन्थ्यो भन्ने सोचाइ राख्थ्यो। तर यति हुँदा हुँदै पनि बुहारी-भाउजूहरु आफ्नो काम परेको बेला खोज्दा भेटिएनन् भने 'ए फलानी, हाम्रो 'गोज्यांग्रो'लाई त्यता कतै देख्यौ र?' भनेर छिमेकीलाई सोधेको उसका आफ्नै कानले कयौँ पटक सुनेको थियो।
यस्तो सुन्दा भने ऊ ग्वालीमाथि लगाएको आफ्नो बिस्तरामा पल्टेर मन दुखाएर धेरै बेर रुन्थ्यो। दाजुभाइको गोठालो जाँदा एउटा दुई ब्याट्री जाने रेडियो बजाउँदै सुनेर बस्थ्यो। रेडियोमा बोलेको सुन्दा सुन्दा उसमा नेपाली भाषाको ज्ञान विस्तार हुँदै थियो।
वस्तुभाउ चराउन जाँदा गोठाला सहपाठीहरुसँग उनको धेरै राम्रो सम्बन्ध थियो। ठिटाहरु गोठाला जाँदा बाघचालमा घण्टौँ घोप्टिँदा उनैले सबैको वस्तुभाउको रेखदेख गरिदिन्थे किनकि उनी सबैले भनेका र अह्राएका कुरा सजिल्यै मानिदिन्थ्यो।
गाउँकै पुछारपट्टि सुनसान ठाउँमा एक अधबैँसे अविवाहित महिला एक्लै घरमा बस्थिन्। उनी बोल्न सक्दैन थिइन्। उनी घरमा एक्लै बस्ने हुँदा राति दुई जना गाउँकै जड्याहाहरु गएर ललाई फकाई गरे।
यद्यपि उनी त्यहाँबाट चिच्याएर उम्कन खोज्दा ती बलिष्ठ जड्याहाहरुले उनलाई जबरजस्ती करणी गरेर गए। बिहान गाउँलेहरुले थाहा पाए र उनको लागि न्याय माग्न आन्दोलन गर्दै महिला समूहहरुले आन्दोलन फुके। सहरबाट ठूला-ठूला महिला अधिकारकर्मीहरु आए।
युट्युबे, टिकटके र फेसबुकेहरुको भिड लाग्न थाल्यो र आफै न्यायधिस बन्दै फैसलाको निर्णय मिडियामार्फत सम्प्रेषण गर्न थाले। बोल्न नसक्ने हुँदा उनलाई जबरजस्ती गर्ने अपराधीहरुको थिए उनले बताउन चाहेर पनि सकिनन्।
तर सबैभन्दा सोझो, बोल्न राम्रोसँग नजान्ने र सजिल्यै दोष लगाउन सकिने, जसलाई पनि आँखा झिम्क्याउने बानी, सबैलाई मायाले स्पर्श गर्दै धाप मार्ने सकारात्मक स्वभावको कारणको शंकाले गर्दा भनौँ या जो सोझो, उसको मुखमा घोचो भन्ने कारणले भनौँ, गाउँले र युट्युबरको भिडले दोषी करार गरेर उनै धापमारे ठाइँलोलाई प्रहरी बोलाएर बुझाइदिए।
उनले पनि बोल्न त खोज्दै थिए आफू निर्दोश हुँ भनेर तर त्यो भिडमा उनको बोली सुन्ने न त कोही थिए, न त बोलिदिने नै। भिडभाडकै उजुरी अनुसार प्रहरीले मुचुल्का खडा गर्यो, बयान सोहीअनुसार नै लियो। अदालतमा सोही अनुसारकै मिसिल प्रस्तुत गरियो। सोही कागज अनुसारकै अदालती फैसला भई उसलाई कारागार चलान गरियो।
कारागारको सजाय भुक्तान गरिरहेको दुई वर्षपछि एक दिन ती दुई जड्याहाले जाड खाएको दिन भट्टीमा आपसमा झगडा पर्दा एकले अर्कोको पोल खोले। यो कुरा भट्टिकी सहुनीले मोबाइलमा रेकर्ड गरिन्। उनले प्रमाण सुरक्षित गरी गाउँलेहरुलाई दिइन्।
गाउँलेहरुले प्रहरीलाई खबर गरेर ती नरपिचासहरुलाई तुरन्तै गिरफ्तार गरी प्रकृया पुर्याएर अदालतबाट पुनः निर्णय गराई धापमारे ठाइँलोलाई छुटाए भने अपराधीलाई उनको ठाउँमा जेलमा कोचिदिए।
यो देश मात्र उसको रहेछ, बाँकी केही पनि रहेनछ उसको यहाँ। बिना कसुर धापमारेले इज्जत गुमायो, सजाय पायो, दुई वर्षसम्म खोरमा जाकियो। तर जब ऊ छुटेर गाउँमा आए, तब बिना कसुर सजाय दिलाइएकोमा न त कुनै गाउँलेहरु लज्जित भए, न त आत्मा आलोचना नै गरे, न त क्षमा याचना नै गरे भने न त कसैले उनी सामुन्ने आइ 'सरी है धापमारे' भने।
यही कुराले मन कुड्याउँदै आफैँले आफैँलाई धिक्कार्दै गह्रौ, थकित, शरीर र टिल्पिलाउँदै आँखाका ढकनीका साथ मनभरि पीडा बोकी अब आइन्दा कहिल्यै नेपाल नफर्किने प्रणका साथ धापमारे ठाइँलो दरभंगा जाने बस चढी आजै रबाना हुँदै छ। हो, यी र यस्तै बेथितीले गर्दा मनप्रसाद गौतम उर्फ धापमारे गोतामे ठाइँलो देशै छोडी सधैँका लागि प्रवास जाँदै छ आज।