उनी मेरो अगाडिको घरमा बस्थिन्। हरेक बिहान म घरको कौसीमा पढ्न बस्दा उनलाई देख्थेँ।
शितल, कोमल अनुहार। गाजलले भरिएको सुन्दर ठूला आँखा। बाँधिएको कपाल। सारीको सप्को काँधमा राम्ररी बाँधिएको थियो। फूर्तिसाथ हिँडेको। यस्तो लाग्दथ्यो कि उनी हर समय खुसीमा छिन्।
कहिलेकाहीँ साँझमा छतमा देखिन्थिन्। बार्दलीमा कुहिनो अडाएर दुवै हत्केला गालामा राखेर खै के नियाल्थिन् आकाशमा तिर हेरेर। त्यसबेला उनको आँखामा एउटा अनौंठो शून्यता देखिन्थ्यो।
कहिले काहीँ जब मलाई हेर्थिन्, अचानक हल्का मुस्कानका साथ मेरो अभिवादनको उत्तर दिने गर्थिन्। मैले आफूलाई रोक्न सकिनँ र एकदिन उनलाई सोधेँ 'तपाईं दिनहुँ आकाशमा के हेर्नुहुन्छ?'
मुस्कुराउँदै भनिन् 'मलाई चरा उडिरहेको हेर्न मन पर्छ। यिनीहरु कति स्वच्छन्द छन्। कसैको अधिनमा नरहेको, कुनै सिमाना छैन, कुनै बन्धन, तिनीहरूको लागि कुनै सीमा छैन।'
त्यसपछि फेरि हाँस्दै भनिन् 'मैले तिमीलाई प्राय: कौसीमा बसेर पढिरहेको देख्छु, केही परीक्षाको लागि तयारी गर्दैछौ?'
'हजुर!' चाहेर पनि मैले उनलाई सम्बोधन गर्न सकिनँ। मैले कुनै सम्बन्ध जोड्न सकिनँ- दिदी, भाउजू वा त्यस्तै अरू त्यस्तै केही।
'ए! तिमी के गर्न चाहान्छौ?' उनले फेरि सोधिन्।
मनमा त भन्न मन लागेको थियो 'म तपाईंको त्यो कुहिरो पछाडिको उदासी आँखामा चमक हेर्न चाहन्छु, म तपाईंको शान्त उज्यालो अनुहारमा लुकेको चञ्चल गतिलाई हेर्न चाहन्छु। म तपाईंको कपाललाई बन्धनबाट स्वतन्त्र पार्न चाहन्छु।
म तपाईंको सारीको सप्कोलाई हावाको झोक्कामा उडेको हेर्न चाहन्छु। म यी मुस्कुराइरहने ओठहरूको पछाडिपट्टि लुकेको स्वतन्त्र हाँसो हेर्न चाहन्छु। म केही बेरको लागि तपाईंको कदमहरू रोक्न चाहन्छु।'
तर मैले यो मात्र भन्न सकें 'म एमबिएको तयारी गर्दैछु।'
'धेरै राम्रो, तिम्रो सफलताको कामना गर्छु, तिम्रो सबै चाहना पूरा होस्' भन्दै उनी तल ओर्लिन् तर उनको अन्तिम शब्दहरू म अझ सम्झिरहन्छु ।
परीक्षाको दिनहरु नजिकिंदै गर्दा यस्तो लाग्दथ्यो कि समय छिटो बितिरहेको छ। तर पनि केही क्षणको लागि म साँझपख कौसीमा आउन बिर्सिन्नँ। किन र केको लागि मलाई थाहा पनि थिएन। किन हो कुन्नी, उनलाई देखेर मन ढुक्क हुन्थ्यो।
कहिलेकाहीँ उनीसँग कुरा हुन्थ्यो। मेरो लागि त्यो एउटा नियमित कार्य जस्तै भएको थियो। हरेक पटक छुट्टिने समयमा 'सफलताको शुभकामना' भन्न भुल्दिन थिइन्।
परीक्षा सकियो र म घर गएँ। आमा-बुबा र साथीहरूसँग व्यस्त भएँ। मेरो दिनहरु रमाइलोसँग बितिरहेको थियो। तर जब म रातमा आँखा बन्द गर्थें, प्राय: उनको कोमल छवि मेरो आँखामा आइरहन्थ्यो।
परीक्षाफल आयो र म पास पनि भएँ। धेरै खुसी थिएँ, हरेक सपना पूरा भएको जस्तो लाग्दथ्यो। आमा, बुबा र दिदी एकदमै खुसी हुनुभयो तर मेरो मन एकदम विचलित बनेको थियो। म उनीसँग यो खुसीको पल बाँड्न चाहन्थें, सायद उनी मेरो प्रेरणा थिइन्।
केही दिनपछि म आफ्ना सबै सामानहरू लिन फर्कें। नयाँ जीवनको सुरुआतभन्दा पहिलेको पुरानो जीवनको केही सम्झनाहरू संकलन गर्न। थाहा छैन किन हो, क्षणक्षणमा मेरो आँखा अगाडिको कौसीमा गएर रोकिन्छ। आज यस्तो लाग्दथ्यो कि दिन एकदम लामो भएको छ।
लागदथ्यो सूर्य डुब्न चाहँदैन। चराहरूको बथान चिरबिर गर्दै गुँडमा फर्कंदै थिए। बल्ल मैले उनलाई कौसीमा देखें। पागल जस्तै उनलाई हात हल्लाउँदै मैले पास भएको जानकारी गराएँ। उनी पनि धेरै खुसी भएकी थिइन्। अनि उनले भनिन् 'यस्तो खुसीको खबर सुनाउन खाली हात आउने, मेरो भाग मिठाई कहाँ छ?'
जाँदा जाँदै मैले भनेँ- 'म यहाँबाट सधैंको लागि जादैंछु, हाम्रो फेरि भेट्न होला कि नहोला तर मैले तपाईंलाई कहिल्यै बिर्सिने छैन।'
उनी पनि निराश भइन् र भनिन्- 'म पनि तिमीलाई सम्झि रहनेछु, शुभकामना!'
मैले उनलाई एउटा सानो प्याकेट दिएँ र भनें- 'मैले यो तपाईंको लागि ल्याएको छु, मेरो चिनो सम्झेर राख्नु होला।'
उनलाई अंगालो हालेर मन भरुञ्जेल रोउँ जस्तो लागेको थियो, तर पछाडि फर्किएर छिटो छिटो पाइला चाल्दै तल कोठामा झरें।
त्यो दिन फर्किएको मैले फेरि पछाडि फर्केर हेरिनँ। जीवनको दौडमा, उनको सम्झनाहरू विस्तारै धमिलो हुँदै गएको थियो तर कहिल्यै मेटिएको थिएन। धेरै वर्षपछि, जब त्यही सहरमा काम गर्ने सिलसिलामा आएँ। उनलाई भेट्न मन लाग्यो। थाहा भयो कि उनी अझै त्यही घरमा बस्छिन् र धेरै बिरामी छिन्।
उनीसँग भेट गर्न पुगें। उनी ओछ्यानमा पल्टिरहेकी थिइन् र एकटक मलाई हेरिरहेकी थिइन्। आज मैले आँखामा आँसु रोक्न सकिनँ र भनें- 'तपाईं छिट्टै निको हुनु हुनेछ।'
उनी मुस्कुराइन् र 'धेरै शुभकामना' भन्दै कोल्टे फर्किन्। अचानक मेरो आँखा उनको कपालमा पर्यो। अझै त्यसरी नै चुल्ठो बाँधिएको थियो। अलिकति नमिलेको जस्तो तर त्यो रातो पिन उनको कपालमा आज पनि रहेछ जुन धेरै वर्ष पहिले मैले दिएको प्याकेटबाट झिकेर लगाएकी थिइन्।