मेरी प्यारी अर्धांगिनी मुना,
लाख लाख सम्झना। तिम्रो काखमा हुर्केर अहिले आँगनमा खेल्ने छोरा अनि तिम्रो पेटमा हुर्किरहेको हाम्रो मायाको निशानीलाई पनि मेरो लाख लाख माया र प्रेम।
यात्राका क्रममा निरन्तर तिमीसित सम्पर्क भैरहेपनि मैले तिमीलाई यो यात्राको यथार्थ अवस्था अहिलेसम्म बताएको थिइनँ। म केही गरी मरिहालेँ भने तिमीले यो सत्य थाहा नपाउली भन्ने डरले ती सबै सत्य कुरा यहाँ लेख्दैछु।
के गर्नु, संचार प्रविधिको यस्तो विकास भएको युगमा पनि यसरी चिठी लेख्नु परेको छ। थाहा छैन, तिम्रो हातमा यो पुग्छ कि पुग्दैन। तिम्रो हातमा पुगेन भने पनि भगवानलाई पक्कै थाहा होला, मैले पोखेका मनका पीडाहरु। भगवानले पढेनन् भने पनि मेरो मन भने पक्कै हल्का हुने आशा छ, यो लेखेपछि।
लमजुङको गाउँपाखामा जन्मे हुर्केको भए पनि मेरो परिवार त्यति गरिब होइन। मेरा बाउ बाजेले जति मेहनत गरे पनि शिक्षा, स्वास्थ्य सेवा, यातायात, संचार र विभिन्न प्रविधिको विकास नभएको कारण दुःखीको दुःखीनै भएर आफ्नो जीवन बिताउन र राम्रो उपचार नपाएर असमयमै मर्नु परेको थियो।
तर मेरो पालामा गाउँमा विद्यालय खुल्यो, गाउँमै एसएलसीसम्म पढ्न पाएँ। पल्लो गाउँ हुँदै अहिले त हाम्रै गाउँसम्म पनि गाडीको सुविधा आइपुग्यो। गाउँमा दुःख गरेर फलाएको अन्न, तरकारी, फलफूल अनि घरमै पालेको खसिबोका अनि कुखुरा, हाँस बेचेर दुई-चार पैसा कमाउने सुविधा मिलेकै हो।
त्यही कमाइको पैसामा अलिकति ऋण धन थपेर त बा आमाले मलाई काठमाडौँसम्म पठाउनु भयो क्याम्पस पढाउन। र त्यही क्याम्पसको वातावरणले तिमीसित भेट भयो, मायाप्रिती बस्यो।
त्यही पढाइको प्रमाणपत्रको मूल्यमाथि बाको भनसुन थपेर पल्ला गाउँका भिनाजु मन्त्री भएको बेला एउटा सानोतिनो अस्थायी जागिर मिलेको हो। त्यही जागिरमा क्रममा मिलेको मोटरसाइकलमा चढाएर तिमीलाई भगाएको अनि त्यसैको कमाइले मन्दिरमा सिन्दुर छर्केर तिमीलाई बिहे गरेको हो।
गाउँमा राम्रै जग्गा जमिन भएको र सहरमा जागिर भएको केटो भनेपछि तिम्रो ड्याडि-ममीले पनि बोलाएर फेरि बिहे गर्दिनु भएको त हो।
मान्छेको जति विकास भयो उति आवश्यकता बढ्दो रहेछ, जति सुविधाको विस्तार भयो उति खाँचो थपिँदो रहेछ र मान्छे जति माथि पुग्यो उस्को आकांक्षा उति बढ्दो रहेछ।
सहर बसेपछि म पनि सुविधाभोगी हुनु सामान्य भैहाल्यो। सहरको जागिर छोडेर गाउँ गएर भैसी गोरु पाल्ने र हलो जोत्ने कुरा मेरो लागि सम्भव थिएन। तिमी पनि पढेलेखेकी, गाउँ लगेर घाँस दाउरामा तिमीलाई थन्क्याउने कुरा भएन। तिमी गर्भवती भएर जागिर गर्न पनि नसक्ने भयौ। बच्चा जन्मेपछि एक्कासी खर्च बढ्यो।
म पनि ठिकै खानदानको छोरो, तिमी पनि राम्रै खानदानकी छोरी, भोज भतेर चाडपर्व जस्ता कुरामा समाजसँग मिल्नै पर्यो। बच्चालाई स्कुल हाल्ने बेला भयो, राम्रै स्कुल खोज्नु पर्यो।
चार पैसाको कमाइ १२ पैसाको खर्च भनेजस्तो हुन थाल्यो। जागिरले नधानेपछि के गर्ने भन्ने कुरा मनमा खेल्न थाल्यो।
मेरा थुप्रा आफन्त युरोप, अमेरिका, अष्ट्रेलिया, जापान पुगेर कुत्ति सम्पत्ति कमाएका छन्। अमेरिका बस्ने आफन्तहरुले 'जसरी भए पनि अमेरिका आइज, नेपालमा कति दुःख गर्छस्?' भनेर उकासेको उकास्यै गर्न थाले।
जान त जाने अमेरिका, तर कसरी जाने? बर्सेनि डिभी चिठ्ठा भर्दा पनि म अभागीको कहिल्यै डिभी परेन। स्कलरशीप पाएर जाने त कुरै भएन म जस्ता मझ्यौला खालका विद्यार्थीले।
तर जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ चोरबाटोबाट अमेरिका लैजाने हाम्रै पल्लो गाउँका भान्दाइ पर्ने दलाल भेटियो।
उनले पनि 'खास अमेरिका लाने रेट त कम्तीमा ६० लाख हो, तर तँ आफ्नै मामाको छोरो, तँलाई १० लाख छुट भो, ५० लाख अहिल्यै जम्मा गर्, आउने महिना उडाइदिन्छु' भने। भान्दाइले भनेपछि विश्वास लागिहाल्यो।
मैले पनि अमेरिकाको सपना देख्न थालेँ। तिमी पनि मख्ख परेर 'बुढो जसरी पनि अमेरिका गएर मलाई पनि बोलाउनु पर्छ अनि हामी उतै सेटल हुनुपर्छ। मलाई सबै दिदी-बहिनीले 'हामीभन्दा गरिबसँग गएकी' भनेर हेप्छन्, तिनीहरुलाई देखाइदिनु पर्छ' भनेर उकास्न थाल्यौ।
पोहोर घडेरी किन्दा लागेको ऋण अझै तिर्नसकेको छैन, परार साल आमालाई दिल्ली लगेर उपचार गर्दा लागेको ऋण बल्ल बल्ल तिरियो तर पोहोर बहिनीको बिहे गर्दा लागेको ऋण अझै तिर्न सकेको छैन, कसरी जुटाउने होला भनेर तनाव हुन थाल्यो।
तर अमेरिका जाने भनेपछि आफन्तहरुले पनि सर्लक्कै ऋण पत्याए। अरु त अरु, दशैँमा दक्षिणा दिँदा पनि थोत्रो काममा हालेर दिने तिम्रा मक्खीचुस ड्याडीले समेत लाखौँ सापटी दिनु भयो एकैवचनमा।
अमेरिका गएर डलरको हरियो बिटो कमाउन थालेपछि त यो सबै ऋण सहजै तिरिहाल्छु भनेर अहिलेसम्म नदेखेको पैसाको बिटो भान्दाइको हातमा हाल्दिएँ मैले।
यसरी अमेरिका जाने भनेर जहाज चढियो दुबईको।
तर अचम्म, जहाज त दुबईमा गएर रोकियो अनि त्यही भेटिएको दलालले हामी ३२ जनालाई त्यहीँको एउटा घरमा लगेर १५\२० दिन राख्यो। त्यसपछि उडेको जहाज अमेरिका जान छोडेर फिलिपिन्सको राजधानी मनिला पो गएर उत्रियो।
त्यहाँबाट चिली पुगेर त्यहाँको राजधानी स्यान्टियागोमा जहाज ल्यान्ड गर्यो। अनि दुबई जस्तै त्यहाँ भेटिएको नयाँ दलालले एउटा घरमा लगेर १० दिन जति राख्यो। त्यहाँसम्म त मलाई रमाइलै लागि रहेको थियो। नेपाली साथीहरु धेरै भएकोले खासै बोर लागेको थिएन। त्यहाँबाट फेरि जहाजमा चढाएर कोलम्बिया लग्यो अनि त्यहाँको राजधानी बोगाटा बिमानस्थलमा झार्यो।
त्यहाँको एउटा अधेरो सुरुंग जस्तो घरमा एक हप्ता जति राखेर गाडीमा चढाएर १८ घन्टापछि एउटा गाउँमा लगेर झार्यो। त्यहाँबाट बोलेकै नबुझिने मान्छेले इसाराको भरमा जंगलै जंगल हिँडाउँदै लग्यो र दई दिन, दुई रात हिँडाएपछि फेरि अर्को एउटा गाउँमा लगेर राख्यो।
म त गाउँमा जन्मे हुर्केको कारण बल्ल बल्ल भए पनि हिँड्न सकेँ, तर तराई र सहरमा जन्मे हुर्केका साथीहरु त बाटैमा थला परे। चितवन तिरको एउटा साथी बान्ता गरेर झन्डै मरेन। बसेकै ठाउँमा पसारा पर्यो। 'जे भए पनि मर्न त दिनु भएन, साथी हो' भनेर दुई-दुई जनाले पालै पालो बोक्दै लगियो।
मलाई पनि कम्ती गाह्रो त भएन। जंगलमा उखुम गर्मी थियो। जीउभरि घमौरा आयो, काछ लागेर बिजोग भयो। त्यहाँको बाफिलो हावाले अनुहार डढेर खतै खत भयो। जंगलका किरा फट्यांग्राले टोकेर खुट्टाभरि घाउ भयो। बसुँ, यो बिरानो देशमा एक्लै कहाँ बसुँ, हिडुँ, कसरी हिँडु भयो।
त्यहाँ एउटा ठूलो खोला रहेछ। त्यसलाई रियो काउका नदी भन्दा रहेछन्। त्यहाँ रात परेपछि बाँसै बाँसले बनेको डुँगामा हामी नेपाली, बंगाली र पाकिस्तानी गरी झन्डै ४० जना मध्ये एक समूहमा १६\१७ जनाको दरले चढाएर नदीमा हेलिदियो। हुन त म स्कुल पढ्दा पौडेर मर्स्यांदी र चेपे नदी सर्लक्कै वारपार गर्थेँ। तर यो नदी कति ठूलो छ भनेर रातको समयमा भेउ नै पाइएन, डुबिहाल्यो भने के गर्ने होला भनेर सम्झेसम्मका देउताका नाम जपेँ।
बल्ल बल्ल आधा घन्टामा नदी पार गरेर पारिपट्टि ८ घन्टा हिँडायो अनि पुसिनसेलेजो भन्ने एउटा सानो बजार जस्तो ठाउँमा लगेर राख्यो। र एउटा नयाँ दलालले आएर 'अब अगाडि जान फेरि पैसा थप्नु पर्यो, तुरुन्तै पैसा नमगाए, यहीँबाट फर्क' भनेर धम्काउन थाल्यो। साथीहरु त्यसै त थला परेका थिए, यो सुनेपछि त सबै खंग्रंगै भए।
खोटाङ तिरको एउटा साथी त ग्वाँ कि ग्वाँ रुन रुन थाल्यो, जति सम्झाए पनि नमान्ने। खाली 'मलाई घर पुर्याइदेओ' भन्दै रुन्थ्यो।
दलाललाई यी सबै कुराको के सरोकार, खाली पैसा थप थप मात्रै भन्थ्यो। सबैले आ-आफ्ना घर परिवारलाई फोन सम्पर्क गरेर पैसा मगाए।
मैले पनि बासँग सम्पर्क गरेर पैसा मागेँ। त्यही भएर त हो बाले तलको टारी खेत साहुकहाँ धितो राखेर ८ लाख पठाइदिनु भएको।
सबैसित पैसा उठाइसकेपछि १६ दिनपछि फेरि हिँडायो। १५\१६ घन्टा हिँडेपछि रिओअट्राटो भन्ने नदी आयो। त्यहाँ फेरि त्यस्तै बाँसको डुंगामा राखेर तार्दैथ्यो, बीचमा पुगेर डुँगा घ्वाप्लाक्क पल्टियो।
म मर्स्यांदीमा पौडी खेलेर सिकेको पौडीको सीप प्रयोग गर्दै एकछिनसम्म पौडी खेलेँ। तर कतिबेला पानी खाएर बेहोस भएछु, थाहै भएन। ब्युँझेर हेर्दा बगरमा लडिरहेको रहेछु। दालालले पानीबाट उद्दार गरेर लगिएका अरु साथीहरुको समूहमा लगेर मलाई मिसायो।
त्यो समूहमा हामीसित आएका ६ जना अरु साथी थिएनन्। ती पानीमा डुबेकी के भयो तर 'उनीहरु पछि आउँछन्' भनेर हामीलाई गाडीमा राखेर लग्यो। ती छुटेका साथीसित भने फेरि भेट भएन।
सँगै गाडीमा गैरहेको एउटा बंगाली साथी बिरामी परेको थियो र 'ओ अल्लाहा, मुझे बचालो' भन्दै छटपटाउँदै थियो। बाटैमा प्राण परित्याग गर्यो। त्यसको लास दलालले के कसरी व्यवस्थापन गर्यो, थाहै भएन।
केही घन्टापछि कोलम्बिया र पनामाको सिमानामा पर्ने गोर्डोन विले भन्ने ठाउँ आपुगेछ। त्यहाँ रातको नौबजेसम्म पर्खाएर हामी बचेका १४ जनालाई रातको नौ बजे सिमाना कटायो।
त्यहाँबाट लगातार २६ घन्टासम्म संगुर बोक्ने एउटा ट्रकमा रोकिँदै हिँड्दै पनामाको बीचैबीच हिँडेपछि रातको ११ बजे तिर पनामा र कोष्टारिकाको पासोक्यानोस भन्ने सिमाना आइपुगेछ।
त्यहाँ पनामाको पुलिसललाई घुस खुवाएर हाम्रो गाडी पार भयो, तर पारिपट्टि कोष्टारिकाको पुलिसले हामी सबैलाई समातिहाल्यो।
कोष्टारिका कटेर निकारागुवा, होन्डुरस, ग्वाटेमाला अनि मेक्सिको पुग्ने अनि त्यहाँबाट अमेरिकाको सिमानामा पुगेर पर्खाल नाघेर अमेरिका पुग्ने मेरो सपनामा यहीँ तुषारापात भए झैँ भयो।
पैसा खुवाएर सिमानाका सबै जाँच चौकीहरुमा पार गराउने भनि कुरा मिलाइसकेको कुरा बताए पनि किन हो कुन्नि त्यहाँको पुलिसले हामी सबैलाई गिरफ्तार गरेर दुई रातसम्म राजधानी सानजोसेको पुलिस थानामा राखेर तेश्रो दिन सानलुकास टापुको जेलमा लग्यो।
अहिले म यही जेलमा छु र यहाँ आएर थुनिएको पनि ३ हप्ता भैसक्यो। अहिलेसम्म मलाई छुटाउन पनि कोही आएको छैन। यहाँ हाम्रो देशको दूतावास, कन्सुलेट कोही पनि छैन कि के हो कुन्नि, नत्र त केही गरी म यहाँ भएको पत्ता पाएर छुटाउन आउँथे होलान् नि।
यहाँका मान्छे स्पेनिश भाषा बोल्छन् तर म स्पेनिश जान्दिनँ। कर्मचारी र पुलिसहरु अलि अलि अंग्रेजी बोल्छन् तर म पनि अंग्रेजीमा मनको कुरा मिलाएर भन्न जान्दिनँ। कसैलाई फोन गरौँ, भाइबर, मेसेन्जर, इमो आदिमा खबर पठाउँ फोन छैन, इमेल गरौँ, कम्प्युटर छैन। कसैसित मागुँ, चिनेजानेको कोही छैन।
पुलिसहरु मसँग विभिन्न कुरा सोध्छन् तर भाषिक समस्याका कारण म मेरा कुरा भन्न जान्दिनँ।
यहाँ खान बस्न त राम्रै व्यवस्था छ। तर मलाई अचेल एकदम गाह्रो हुन थालेको छ। मलाई खाना रुच्दैन, केही खाइहाले बान्ता भएर जान्छ। रातिमा पटक्कै निन्द्रा लाग्दैन। बेलाबेला म आफू समुन्द्रमा डुबेको अनि ऋण तिर्न नसकेर बाले आत्महत्या गरेको सपना देख्छु।
कहिले भने छोराले उसका साथीहरुलाई 'मेरो पापा अमेरिका गैसेको छ, मलाई पनि लैसिन्छ' भनेर गफ लगाएको देख्छु भने तिम्रो पेटको सन्तान जन्मेर 'मेरो बाबा खोई?' भनेर सोधेको देख्छु।
रातदिन 'अमेरिकाको सपना नदेखेर नेपालमै आफ्नो खेत पाखामा कृषि व्यवसाय गरेर बसेको भए मज्जाले पालिन सकिन्थ्यो। तीन करोड नेपाली अटाएको देशमा म जाबो एउटा मान्छे अटाउन्नथेँ र? धेरै ठूलो लोभमा फसेर बेकारमा बिरानो देशको जेलमा सड्न आएँ' भनेर एक्लै रुन्छु म।
मलाई त डिप्रेशन भएजस्तो छ। बिरानो देशमा मेरो दुःख बुझ्ने कोही छैन। थाहा छैन, यो चिठी तिम्रो हात परिन्जेल मेरो हालत के हुने हो।
मलाई थाहा छैन, यो बिरानो टापुको जेलमा कति वर्ष थुनिनु पर्ने हो। यहाँबाट निस्केपनि घरसम्म कसरी फर्किने हो! अब श्री पशुपतिनाथको पुकारा गर्नु बाहेक मेरो अरु के पो उपाय छ र!
बरु केही गरी यो चिठी तिम्रो हात पर्यो भने, विदेशको चमक धमक देखेर गैह्रकानुनी बाटोबाट कोही नआउनू भनेर सबै नेपाली युवालाई मेरो सन्देश पुर्याउने व्यवस्था गरिदिनु है।
अनि अन्त्यमा बुबा आमा, सानो छोरो र अब जन्मिने हाम्रो सन्तानलाई मेरो तर्फबाट 'सरी' भनिदिनु ल। तिमीलाई खुसी बनाउन नसकेकोमा त म के भनुँ, मेरो भन्ने कुनै शब्द नै बाँकी छैन। सरी बुढी, सरी!
तिम्रो उही अभागी पति
मदन।
सानलुकास जेल,
सानजोसे, कोष्टारिका
जुलाई १७, २०२१।