अदालतको तारेख जसरी
कहिलेकाहीँ मात्र आउँथ्यो ऊ।
न उसले किताब ल्याउँथ्यो
न उसले कापी ल्याउँथ्यो
न पढ्नै जान्दथ्यो
लेख्न त परको कुरा।
मार्ने गोरु जस्तै थियो ऊ
जसलाई भेट्यो उसलाई हान्थ्यो
घोइरो-घोइरो
अचम्मको डिंगो जस्तै थियो।
न ऊ आमाका कुरा खान्थ्यो
न ऊ बाबुले भनेको नै मान्दथ्यो
न मास्टरले सम्झाएको सम्झिने गर्थ्यो।
छुरी बोक्थ्यो
छुरी रोप्थ्यो
त्यसरी नै चल्थ्यो उसको दैनिकी।
त्यो मेरो साथी
हाइस्कुल सँगै पढेको साथी
एसएलसीमा ६/६ पटक फेल भएपछि
खेत बेचेर सर्टिफिकेट खरिदेको थियो उसले।
त्यसरी कलेज भर्ना हुन गएको साथी
हुलदंगा गरेकाले
कलेजका रेलिङ र बार फोडेकाले
सडकका ट्याक्सी र
बस जलाएकाले
कलेजबाटै रेस्टिगेट भएछ।
त्यसपछि, अहिलेसम्म भेट नभएको त्यो साथी
हिजो एकाएक
राष्ट्रिय टेलिभिजनमा
इन्टरभ्यू दिंदै गरेको देखें।
ऊ भन्दै थियो `विश्वको म पनि महान् नेता हुँ´
दंग परेँ
गम खाँदैखाँदै
आँखा च्यातिच्याति हेरें उसलाई।
लाग्यो,
गुदी न सुदीको उसको बुद्धि
यो देशको जेथा पो भएछ
अक्कल न सक्कलको
त्यो मेरो साथी
यो देशको नेता भएछ!