दुर्गम गाउँबाट परिवारको ऋणको भारी हलुको पार्ने जिम्मेवारी बोकेर सहर पसेका लक्का जवान केटा थिए शर्माजी उतिबेला। ५ फिट ७ इन्च अग्ला, गोरो वर्णका, चटक्क परेका मान्छे छन् शर्माजी आजकल।
उमेरले ३५ औं वसन्त कट्दा पनि दारी कपाल चटक्क छाँटे भने २४ का देखिन्छन् उनी। उनको न्वारन दोश्रो पल्ट गर्ने क्रममा उनका एक स्विखुट्टे मित्र (पूर्वेली जेठोले) खैनी चपाउँदै 'ल आजबाट तिमी शर्माजी' भनेदेखि उनी शर्माजीको नामले परिचित छन्।
उनको वास्तविक नाम उमाशंकर थियो। उमाशंकर, परिवारको आश थिए। उनी स्कुलमा सधैँ उत्कृष्ट ठहरिन्थे। कथा, कविता लेख्न, गीत गाउन उसलाई कसैले भेटाउने कुरै थिएन। सबै दूर दूर थिए।
गाउँबाट सहर पस्दा उनको थाप्लोमा जति ठूलो भारी साहुको ऋणको थियो, त्योभन्दा धेरै ठूलो भारी उनी स्वयमको धेरै धेरै पढेर चस्मा लगाउने मास्टर बन्ने सपना थियो। १२ क्लास गाउँमै तेस्रो श्रेणीमा खलास पारेका उनलाई काठमाडौंको बाँकी जिन्दगी झक्कास हुन्छ भन्नेमा एक रत्ति पनि शंका थिएन।
उनी जो सँगसँगै बस्न भनि काठमाडौं पसेका थिए, उनको नाम गाउँमा सिद्धार्थ थियो र सहरमा सिड, जस्ट सिड। सिड दाजुले पहिलै दिन उमाशंकरको जनै चामलको धोक्रोको मुख बान्ने डोरी बनाइदिए। दोश्रो दिन बोइलरको मासुसँगै टुच्च सोमरस पिलाइदिए।
सोमरसको हल्का मातपछि उमाशंकरले मनमनै सोचे 'यो हो नि जिन्दगी, माँ कसम अब म खतरै मान्छे बन्ने भएँ।'
ट्वाइलेटको मधुरो ऐनामा आफ्नो भविष्य उज्यालो देखे। उनलाई लाग्यो 'म अब सिनेमाको हिरो बन्छु। हिरो बन्छु अनि हिरोइनको म्वाइँ र गुन्डाहरुको सात्तो खान्छु। उनी आफैसँग बोले 'ढयान्टड्याङ्ग! जिन्दगीले अब रंग फर्ने वाला छ।'
सोमरसको मातमा झुमेका उनलाई त्यो बेला के थाहा हरेसको स्वाद कस्तो हुन्छ? वर्ष बित्यो, काठमाडौँका अनगिन्ती गल्ली लुखुर लुखुर चहारेर सकियो। तर उनले न राम्रो जागिर पाए, न क्याम्पस नै राम्रोसँग धाए।
दुई डुंगामा खुट्टा राखेका उनी न आर भए न पार भए। जागिर छाडौं गरिबीले बाँच्न नदिने, पढाइ छोडौं सपनाले धिक्कार्ने। गाउँमा साहुको ऋणको ब्याज हलक्कै बढेर उनको बुवाको टुप्पी डुबाइसकेको थियो।
शर्माजी सहर छिरेपछि एकपल्ट गाउँ फर्के, आमा पिलपिलाइन्, बा सुक्सुकाए। उनी घर पुगेको दोश्रो दिन साहुका दुई लामघारे सेना आए र शर्माजीको सातो खाए। उनले खाई नखाई जम्मा पारेको केही रकम उनीहरुलाई बुझाए।
सहरको दुःखको रामकहानी बा-आमालाई सुनाए। घर पुगेको तेश्रो दिन फर्केर सहर आए। साहुको ऋण तिर्ने धन हुन्थ्यो भने उनलाई सहर फर्कने मन थिएन। 'सिड' दाजु पुटु पुटु पैसा टिप्ने रुख भएको देशतिर हानिए।
लाखौँ मान्छेको सहरमा शर्माजी एक्लो परे, एक्लो शर्माजी काठमाडौंको अर्को भित्तो डेरा सरे। 'सिड' दाजुले उनलाई धेरैसँग परिचित गराएका थिए। देवकोटा, शम, भुपि, नारायण गोपाल आदि आदि। उनीहरु नै थिए शर्माजीका परम मित्र।
शर्माजी उनीहरुसँग निकै नजिक थिए। उनीहरुकै संगतले विस्तारै आफ्ना कथा व्यथा लेख्ने भए। यसरी लेख्दा उनको थाप्लोको ऋणको भारी नघटे पनि मनको भारी भने निकै हलुको हुन्थ्यो।
त्यसबेला 'असफलताको नायक हुँ म' भन्ने शर्माजीले सफल हुने प्रयास नगरेका भने होइनन्। फेरि २/४ ठाउँ जागिर खाए, हरेक ठाउँको जागिर एक शब्दका भेटेनन्, ती दुई शब्द 'जा' र 'गिर' मिलेर बनेका थिए। २/४ ठाउँ नराम्रोसँग 'गिरी' सकेपछि, यसरी हुन्न अब केही गर्नुपर्छ भन्ने सोच राख्दै एउटा सानो लेडिज कपडाको व्यापार सुरु गरे।
सिड दाजुले नि रुखबाट टिपेको पैसाको आधा बिट्टो शर्माजीलाई सहयोग पठाइ भ्याए। त्यसमाथि थपथाप एउटा सानो झोलाको एक झोला ऋण शर्माजीले आफैले खोजि ल्याए। व्यापार फाप्यो शर्माजीलाई, 'व्यापार गरे अपार हुँदो रहेछ' भन्थे शर्माजी। फेरि शर्माजीको दारी कपाल चुटुक्क छाँट्ने दिन आए।
बिहान सखारै उठेर उनैले लेखेको गीत गुनगुनाउँदै पसल सफा गर्थे। होटेलमा दुई थाल मासु भात लतार्थे, दिनभर आफ्नै पसलमा माथिबाट कम तलबाट अनगिन्ती डकार्थे। त्यस प्रकारको डकारको अमिलो गन्ध अगरबत्तीको सुवासमा समाहित भएर बिलाउँथे।
पसलको भित्तामा झुन्डिएको ठूलो ऐना हेर्दै उनी आफ्नो बाल मिलाउथे। मुसुक्क मुस्कुराएर मात्र बोल्ने शर्माजीको कपडा पसलमा १५ माथि ३० तलका स्त्रीहरुको राम्रो आवत-जावत थियो। कपडा हेर्ने बहाना पार्दै शर्माजीलाई हेर्न आउनेहरुको संख्या पनि बाक्लै थियो।
यस्तै बहाना पारेर आउने मध्येबाट एउटी प्रेमिका पनि फेला परेका थिए शर्माजीले। शर्माजीकी 'मोनु' अस्पतालमा बिरामीलाई सुई दिन्थिन्, अनि शर्माजीका झुसे गालामा म्वाइँ दिन्थिन्।
गाउँमा साहुको मुखमा दुई पेटी पैसा हिर्काइ सकेपछि ऋण पनि सर्लक्कै आधा भैगो। त्यसपछि, के चाहियो? शर्माजी बेलुका पसल बन्द गरेर चटक्क परेर लुगा लाउथे र ट्याक्सी चढेर कहिले यो कहिले त्यो रोधीघर धाउथे।
रोधी घरमा आफैंले लेखेका लोक दोहोरी गीत गाउँथे। बियर र तरुनीमा पैसा उडाउँथे। रक्सीको मात र पैसाको साथ पाएपछि उनले कलेज पढ्दा ताकाका साथी बिर्से, मोनुको मायाको त के कुरा, बा-आमाको माया पनि बिर्से। त्यस्तो नशामा यस्तो हराएकी उनले आफैलाई पनि बिर्से।
जिन्दगीमा व्यथा भए पो कथा लेख्नु, शर्मा सोल्टीले कथा पनि लेख्न बिर्से। पैसा छ, बैँस छ त कोही किन चाहियो? पसल फैलियो, अब दुई सटर वाला `सोल्टीको फेन्सी स्टोर।'
दुई वर्ष पहिलेका उनी जस्तै अर्को सपना बोकेको केटालाई जागिर पनि दिए। केटाले पसल हेर्थ्यो, उनी पैसाको चर्तिकला हेर्थे। केटाले पसलमात्र हेरेन, फाइदा पनि हेर्यो. गर्नुसम्म घोटाला गर्यो, पैसाले आफ्नो गोजी र कपडाले कोठा भर्यो। दुःख गयो, सुख आयो। नपाउनेले के-के पायो बोक्रैसँग चपायो। शर्माजी हाई हाई, दुःखका दिन बाई बाई।
बेहोसी अवस्थामा झन्डै दुई वर्ष बिताएका शर्माजीको जिन्दगीमा ठूलो भुइँचालो बनेर दुई भट्टराई डाक्टरहरु आए। एक भट्टराई डाक्टर प्रधानमन्त्री भएर आए र सडक बढाउने भन्दै शर्माजीको सटर रोडमा गिराए। अर्का भट्टराई डाक्टर जार बनेर आए, त्यसबेलाकी उनको प्रेमिकालाई डोली चढाएर सपनाको देश अमेरिका पुर्याए।
फेरि केही बाँकी रहेन उनको। न मनको भारी बिसाउने प्रेमिका रहिन्, न ऋणको भारी घटाउने व्यापार नै रह्यो। दुई डक्टर यस्तो भयानक रोग दिएर गए शर्माजी हरेक नारी जातीसँग तर्सन भए। मुसुक्क हाँसेर बोल्न बिर्सने भए।
३ वर्ष पहिले मेरो पनि केही होला, कोही होला भन्ने शर्माजीको सपना २ वर्ष विपना भए त्यसपछि मुटुको घाउ बनेर रहे। उनको जीवनका दुई अति नै प्यारा चिजहरुको साथ छुट्दा त्यति गाह्रो भएन जति गाह्रो रित्तो खल्तीले गर्दा भयो।
धन चुम्बक रैछ, धन हुन्जेल सबै वरपर झुम्मिन्थे फलाम जस्तै। जब धन सकियो शर्माजीको अलौकिक चुम्बकीय शक्ति पनि एकाएक विलीन भयो। अब बल्ल थाहा पाए, बेहोसीमा बरालिँदै हिँड्दा थुप्रै साहुहरुको ऋण लागेछ, दुई दिने जिन्दगानीमा गर्न हुने भन्दा गर्न नहुने कर्म गरेर, दिन लागेछ।
तीन वर्ष अगाडि भविष्यमा बाँच्दथे शर्माजी, सपना देख्दथे, चाहना राख्दथे। २ वर्ष वर्तमानमा बाँचे, सपना विपना एउटै थियो, चाहना यथार्थ उस्तै थियो। अब उनीसँग विगत सम्झिएर बाच्नु पर्ने हविगत मात्र बाँकी थियो। उनी बुज्दै थिए, खल्तीमा रुपैयाँ पैसा नहुनुभन्दा मान्छेसँग देख्नको लागि सपना नहुनु र सोच्नको लागि चाहना नहुनु निक्कै ठूलो रोग रैछ।
पश्चतापको भारी मुटुमा गाँठो पारी आफैलाई धिक्कारी बस्ने शर्माजी एक्लो भएका थिए, नितान्त एक्लो। न उनको टेक्ने ठाउँ थियो, न समाउने हाँगो।
शर्माजीको जिन्दगीको 'जहाज' अन्धकार आँसुको समुन्द्रमा डुब्दै गर्दा सानु नाउ खियाउँदै उनका कलेजवाला एक मित्र देखा परे। शर्माजीले जिन्दगीमा पहिलो पल्ट ठिक त्यसबेला भगवान देखे।
शर्माजी ती मित्रसँग यति रोए, यति रोए ती मित्रले पनि उनको रुवाइको भाकामा भाका मिलाए र बलिन्द्र धारा झारिरहे, आँखामा आँखा मिलाए। अब त्यही मित्रको गुफा उपनाम पाएको कोठा उनको मुख लुकाउने र आँसुका धारा बगाउने साक्षी भयो।
गुफा यति धेरै अन्धकार थियो कि त्यति अन्धकार त शर्माजीको वर्तमान पनि थिएन। ७ ऋतु आउँथे जान्थे तर गुफालाई सूर्यको एक झल्को नसिव हुँदैन थियो। गुफामा न घाम थियो न पानी। गुफा वाला मित्र पनि लगभग दोश्रो शर्माजी थियो,एक्लो अनि असफल।
'जस्तालाई त्यस्तै ढिडोलाई निस्तै' भन्दै रुन्चे हाँसो हाँस्थे शर्माजी। शर्माजी भन्थे, मान्छेको सपनालाई बेहोसीको रोग लाग्दो रैछ। बेलामा नै सोचेन भने सपना मर्दो रैछ, अनि बाँकी हुँदो रैछ त केवल पश्चात्तापको पहाड। अब त्यस पहाडलाई फोर्न आशाको बज्र खोज्नु छ।
गुफाको पल्लो खाटमा पल्टेका शर्माजी पटक्कै निदाउन सक्दैनथे। कहिले गाउँ सम्झन्थे।
'म आफ्नै गाउँ कसरी जाउँ?
जहाँ बदनाम छ नाउँ,
म बिरानो ठाउँ, कसरी जाउँ?
त्यो अपरिचित गाउँ।'
कहिले प्रेमिका मोनु सम्झन्थे,
'तिमी गयौ टाढा त के भयौ?
सधैँ यो मन को कुनामा रह्यौ,
कहिल्यै नथाक्ने घाउ भयौ।'
यता खाटमा उत्तानो परेका दोस्रा शर्माजी सबै सुन्थे र भन्थे, 'तिमी लेख मित्र आफ्नो वेदना लेख, पीडा लेख। पोख आफ्ना सबै मनको व्यथा। लेखाइ नै हो तिम्रो पश्चात्तापको पहाड भत्काउने बज्र।'
गुफा दुई जनाको मात्रै बासस्थान थिएन। त्यहाँ एउटा डुकुरे मुसो पनि बस्थ्यो। दिनभर कहाँ जान्थ्यो थाहा थिएन, राति केबलको तार हुँदै लुसुक्क पस्थ्यो। गर्मीमा लामखुट्टेको राजधानी थियो गुफा। अनि साङ्लो र उडुसको रेस लगाउने खेल मैदान।
शर्माजी गुफाबाट बाहिर निस्कँदा सदा मुख मास्कले ढाक्थे, उनी ३ वर्ष गाउँ पनि गएनन्। कहिलेकाहीँ दुई भाइ मदिरा पिउँथे। मदिराले मातेपछि शर्माजी दोश्रो शर्माजीलाई सुनाउँथे 'यो गुफाबाट बिरालो जस्तो लुसुक्क निस्कनु छैन, म एक दिन यो गुफाबाट सिंह जस्तो गर्जंदै निस्कने छु र त्यो गर्जन पूरा सहरले सुन्ने छ।'
सिंह बनेर गर्जने सोचेका शर्माजीलाई त्यसै ताका लुतो आयो। खर्याक खर्याक लुतो कन्याउथे, ऊ परै लुतोको औषधि गनाउथे। भन्थे- 'लुतो र माया उस्तै रैछ, लुतो कन्याउन्जेल आनन्द, माया लगाउन्जेल आनन्द, लुतोले छोड्यो शरीरमा टाटा, मायाले छोड्यो मनमा खाटा।'
शर्माजीको लुतो उनको परम मित्र बनेको थियो। कहिले यता कन्याउँथे, कहिले उता कन्याउँथे, कहिले माथि कन्याउँथे, त कहिले तल कन्याउँथे। भन्थे- 'कन्याउँदा कन्याउँदै समय बितेको पत्तो नहुँदो रैछ। मानसिक पीडा हुनेलाई लुतो त बरदान रैछ, दिमागले लामो सोच्नै नपाउने, चिलाएसी कनाउनै पर्यो।'
लुतो दोश्रा शर्माजीलाई नसरी के छोड्थ्यो, सर्यो। अब दुई भाइ लुते दोहोरी खेल्थे- खर्याक, खर्याक, खर्याक गर्दै एउटाले यताबाट प्रश्न गर्थ्यो र उस्तै खर्याक खर्याकमा अर्कोले उताबाट जवाफ दिन्थ्यो।
त्यस ताका शर्माजीले पंखा हाल्नको लागि खाली राखिएको हुकमा मोनुले दिएको लामो गलबन्दीको पासो लागेर तुन्द्रुंग झुन्डिदिउँ कि? भनेर कुनै कुनै दिन सोचे। कुनै कुनै दिन साहस जुटाएर सधैँको लागि आफ्नो सास मेटाउने प्रयास पनि गरे तर आफूलाई झुन्डाउने अन्तिम प्रयासमा उनी झस्किए।
धत्तेरी! आजसम्म आत्महत्या गर्नु अघि उनले सुसाइड नोट लेख्ने पो बिर्सिरहेका रहेछन्। क्या उल्लु! हत्तनपत्त गलबन्दीलाई गलाबाट झिकेर निधारको पसिना अनि आँखाको आँसु पुछे र सुसाइड नोट लेख्न बसे।
आफूलाई आफैले किन मार्ने? भन्ने प्रश्नको उत्तर लेख्ने बसेका उनले धेरै कारण लेखे, लेख्दा लेख्दै आफैलाई एउटा प्रश्न गरे 'यदि आज म मारिनँ र आजको १० वर्षपछि आज मर्नुका कारणहरु बारे त्यसबेला सोचेँ भने के मलाई आज आत्महत्या नगरेकोमा पछुतो लाग्ला?
धेरै बेर सोचे र एकपल्ट फेरि आज आत्महत्या गर्नका लागि लेखेका कारण पढे। फिस्स हाँसे, धैत हुतिहारा! शर्माजीले हत्तनपत्त अघिदेखि चिलाइरहेको ढाड कन्याए, खर्याक खर्याक। उनी आत्महत्या गर्न पनि असफल भए।
तिनै असफल दिन, अनिँदो रात र खर्याक खर्याकका बीच शर्माजीले फेरि लेख्न सम्झिए। दुःखको भारी कापीमा सारी केही हल्का हुन सम्झिए। विस्तारै विगत र वर्तमानको हविगत सम्झेर रुन बिर्सिए।
कतै जानु छैन केही गर्नु छैन, एकपछि अर्को कथा लेखे। ती कथा भित्र आफ्नो मनको व्यथा पोखे। उनले लेखेका लघु कथाहरुले एक प्रचलित अनलाइन पत्रिकामा राम्रो ठाउँ पायो तर पैसा पाएन। तर पनि उनी खुसी नै थिए।
शर्माजी छ्क्क पर्दथे उनको कथा बारे पाठकहरुको प्रतिकृया पढेर। उनले लेखेका दुई गीत रेकर्ड पनि भए र तीन लघुकथाले लघु चलचित्रको रुप पाए। शर्माजीको शरीरलाई लुतोका टाटाहरुले बिर्संदै गए। उनी मोनु यादहरुलाई नसम्झने भए।
यसै क्रममा असफल लुते शर्माजीले अन्धकार गुफामा बसेर लेखेका लेखको एक प्रशंसक उनको जीवनमा प्रेमिका बनेर आइन्। शर्माजी यसपटक प्रेममा सफल भए, उनैसँग शर्माजीले लगन गाठो कसे र गुफा छोडेर अन्तै बसे। उनका परम मित्र पनि सुन्दर सपना बोकेर लाहुर पसे।
यसबेलाका शर्माजीसँग देख्नको लागि सपना पनि छ, रमाउनको लागि वर्तमान पनि छ अनि लेख्नको लागि विगत पनि। उनको न खल्ती रित्तो छ, न मन। राम्रो जमेका छन् शर्माजी लेखनमा आजकल।
शर्माजीको नयाँ उपन्यास 'मैले भगवान देखेँ' आउँदै छ भन्ने सुनिन्छ। साना-ठूला सबै साहुहरुलाई पैसाले पुरिदिएपछि उनको परिवार ऋणको भारबाट मुक्त भइसकेको छ। उनी चस्मा लागाउने मास्टर त बनेनन् तर आफ्नो लेखहरुबाट थुप्रैका आँखा खोलिदिए।
न उनीले सिनेमाको हिरो बनेर हिरोइनको म्वाइँ र गुन्डाको सात्तो नै खाए तर थुप्रै चलचित्रहरु लेखेर अरुलाई त्यस्तो मौका दिए। आज पनि कहिलेकाहीँ शर्माजी त्यो अन्तिम पल्ट आत्महत्या गर्नको लागि लेखेको सुसाइड नोट पढ्छन र गुफा वाला असफल लुते शर्माजीलाई खिसी गर्छन्।
कहिलेकाही म आफैलाई सोच्छु, शर्माजीको पसल नभत्किएको भए के हुन्थ्यो? उनी गुफामा आउँदैन थिए भने कहाँ जान्थे? उनलाई लुतो आउँदैन थियो भने के आउथ्यो? उनी त्यस दिन आत्महत्या गर्न सफल हुन्थे भने के हुन्थ्यो?
अनि आफैलाई उत्तर दिन्छु, जिन्दगीमा जे हुन्छ राम्रैको लागि हुन्छ। अजिबो-गरिब खेलहरुको संयोग हो जिन्दगी। त्यस्तै एक संयोग हो 'शर्माजी, गुफा अनि लुतो।'