हामीले उत्पत्ति गरेको
हामीले नै आविष्कार गरेर प्राण भरेको
हामीसित एउटा भगवान छ!
सुन्छु, बलवान् छ; फलवान् छ
देख्छु, ताजमा गुणवानको फुर्को छ
ऊ आफ्नै सुरको छ।
ऊ अस्मेल बाढी बनेर चिसा चुला बगाउँछ
ऊ असङ्ख्य बारुद बनेर छाती छेड्न सघाउँछ
ऊ त उसकै नाममा युद्व जगाउँछ।
हेर ! उसको ‘मत्स्य-न्याय’ !
निर्धो छाप्रो र कुटी जलाउँछ
पापी महलभित्र ऊ नतमस्तक टोलाउँछ
कठघरामा उसको तराजुको मेरुदण्ड लोलाउँछ
नियतिको निर्मम निशा
सामुन्ने बलात्कृत, अर्ध-मृत हाम्रो जिजीविषा !
भक्कानिई रून्छन् निर्धा आँगन
भकभकी उम्लिन्छन् आर्त स्पन्दन
आँशुको पीडा इमानलाई हुन्छ
पीडाले हाम्रा बा-आमाको मन छुन्छ
उनको होमिएको ज्यानले न्याय चुन्छ
बेलुकी रक्ताम्मे सपनाका लाशमा
तिनको मन धरधरी रुन्छ
भगवान बस् टुलुटुलु हेर्छ
उसको मन किन रुँदैन?
शायद मुटु नहुनेलाई यसले छुँदैन
भगवान ! तँसित आँशु हुन्छ कि हुँदैन ?
अहा धर्ती कस्तो बन्थ्यो होला !
कहिलेकाँही भक्कानिएर
भगवानको पनि मन रुने भै’दिए !
काश ! भगवानसित पनि मन हुने भै’दिए !