आहा! पानी पर्यो
म रमाएँ
झ्यालतिर अघि बढेँ,
झरीलाई हेर्नलाई।
त्यो झमझम आवाज
मरुभूमि बीचको सानो हरियाली
क्षितिजपारि देखिने इन्द्रेणी
छेउमै स्थित भेडीगोठ
कति सुन्दर, कति शान्त
एकदम सित मनै लोभ्याउने
कोठाको एक कुनामा खुसी म।
तर ऊ
अर्को कुनामा मौन छ
खुसी छैन म जति
दुःख पनि देखाउन सक्दैन।
ऊ रिसाएको छ झरीदेखि
लजाएको छ हामीदेखि।
पाहुना गएका हामी
उता रसाउन थाल्यो पानी
चार ठाउँबाट तपतप तपतप
तीन ठाउँबाट तुरुरुरुरु।
तरंगित हुँदै थियो कोठा
तपतप अनि तुरुरुले।
सात वटा भाँडाहरु लिएर
दगुर्न थाल्यो ऊ
आवाजलाई पछ्याउँदै
भाँडाहरु ओछ्याउँदै।
टुलुटुलु हेर्दै बसेँ
क्षणिक खुसी बिलाउँदै गयो
म र ऊ उस्तै देखिन थाल्यौँ
ऊ म जस्तो होइन तर म ऊ जस्तो।
रेडियो सुन्छु, खबर पाउँछु
कता-कता पहिरो गएछ रे
कति गाउँ डुबेका छन् रे।
नरमाइलो लाग्दै गयो
मनै पनि भारी भयो।
पानी रोकिने कामना गर्दै
म झ्यालबाट तल ओर्लिएँ।
झरी झर्दा अचेल
झल्झली उसलाई सम्झिन्छु
'ऊ' पात्रलाई याद गर्छु।