म सानो छँदा बाले किताबमा गाता हाल्दिनु हुन्थ्यो
क्यालेन्डरको
थोत्रो फाइलको
पोस्टरको
प्लास्टिकको...
गाता हालिदिनु हुन्थ्यो
गाता च्यातिँदै जान्थ्यो
फेरि हालिदिनु हुन्थ्यो
गाता सँगसँगै अगाडिका पाठहरु च्यातिँदै जान्थे
वर्षको अन्तिम-अन्तिम तिर किताब पातलो हुन्थ्यो
धेरै पाठहरु गाता सँगसँगै हराइसकेका हुन्थे
र पनि बाले बाँकी पाठलाई गाता हालिदिई राख्नुहुन्थ्यो
बा!
मैले आजभोलि किताबका गाता त च्यातेको छैन
बरु,
नियतीले
आफ्नै ढंगले
रहरले
कहरले
जीवनरुपि किताबमा गाताहरु च्यातिरहेका छन्।
प्रेमको
विश्वासको
करुणाको
विवेकको
मर्मको
कर्मको
गाताहरु फेरि फेरि हालेको छु
र पनि किताब पूर्ववत च्यातिरहेको छ।
बा!
हजुरले किताबको अन्तिम पाठ रहँदासम्म पनि
किताबमा गाता हालिदिई राख्नु भयो
मैले पनि जीवनको अन्तिम सास रहँदासम्म
'जीवनमा आशा’ को गाता हालिराख्ने छु।